तारादेवीलाई पछ्याइरहेका तीन ‘तारा’
तारादेवीलाई पछ्याउँदै आएका नयाँ पुस्ताका तीन गायिका संगीत साधनामा त डुबेका छन् नै हेरिनेभन्दा सुनिने गीत गाउनुपर्नेमा पनि सचेत छन्।
६ वर्षकै उमेरमा पाँचथरकी जिना रसाइली गीतसंगीतको मोहमा यसरी डुबेकी थिइन् कि उनको दिन नै रेडियोमा कान थापेर बित्थ्यो। २०५४ सालतिर गाउँमा गीत सुन्ने अरू माध्यम पनि थिएन।
सात वर्षको पुग्दानपुग्दा त आफू रेडियोमा सुनेकै भरमा नारायणगोपाल, तारादेवी र भक्तराज आचार्यका स्वर छुट्याउन सक्ने भइसकेको उनी सुनाउँछिन्। नेपाली संगीत जगत्का यी हस्तीहरूमध्ये पनि जिना तारादेवीको ठूलो प्रशंसक हुन्, उनका गीतहरू रेडियोमा बज्नासाथ कापीमा उतार्थिन्।
“गीत रेडियोमा खुरुखुरु बजेर सकिन्थ्यो तर एक लाइन पनि राम्रोसँग टिप्न नभ्याउने। फेरि त्यही गीत कहिले बज्थ्यो, बज्थ्यो। त्यसैले एउटा गीत पूरा लेख्न महीनौं पनि लाग्यो,” बाल्यावस्था सम्झिंदै जिना भन्छिन्।
यसरी टुक्रा टुक्रामा उतारेका गीतहरू नै उनको संगीत सिकाइका प्रारम्भिक बिन्दु थिए। बिस्तारै तारादेवीका गीतमा आफ्नो आवाज भर्दै उनले विद्यालयस्तरका प्रतियोगितामा उपाधि जित्न थालिन्। अहिले त जिना तारादेवीको झनै सान्निध्यमा पुगेकी छिन्।
तारादेवी फाउन्डेशनले हरेक वर्ष माघ ९ गते ‘तारादेवी स्मृति साँझ’ आयोजना गर्दै आएको छ। यही कार्यक्रममा पछिल्लो ६ वर्षयता जिनाले आफ्नो आदर्श गायिकालाई समर्पण गरी गीत गाउँदै आएकी छिन्।
‘गीत हेर्नेभन्दा पनि सुन्ने’
स्नातक तह अध्ययन गर्न काठमाडौं आएपछि जिनाले संगीत अध्ययनलाई पनि सँगसँगै अघि बढाइन्। शास्त्रीय संगीतका प्रख्यात प्रशिक्षक चण्डीप्रसाद काफ्लेलाई गुरु थापिन्। काफ्लेसँग ६ वर्ष निरन्तर साधना गरेपछि चलचित्र नाइँ नभन्नू ल-२ मा गीत गाउने अवसर पाइन्। ‘यी आँखामा तिमी छौ’ बोलको गीत जिनाको चिनारी नै बन्यो।
“मैले शब्द र संगीत एकदमै ध्यान दिएर छनोट गरेकी थिएँ। हेर्नभन्दा सुन्नका लागि गाउनुपर्छ भन्ने लाग्थ्यो,” जिना भन्छिन्, “बाहिर नाम चल्नुपर्छ भन्दा पनि गीतलाई न्याय पुर्याएर गाउन सके सन्तुष्टि हुन्थ्यो।”
‘यी आँखामा तिमी छौ’ गीत यूट्यूबमा एक करोडभन्दा बढी पटक हेरिको छ। तर यूट्यूबमै भएका जिनाका अरू गीतमा यत्तिका दर्शक छैनन्। ओझेलमा परेका ती गीत पनि उत्तिकै मन छुने लाग्छ जिनालाई।
भिडिओ नबनेर पनि आफ्ना कतिपय गीत ओझेलमा परेको उनी लख काट्छिन्। तथापि गीत हेर्नेभन्दा पनि सुन्ने हो भन्ने उनी स्पष्ट छिन्। उनको यही गीतिदर्शनका कारण उनलाई साथीहरूले ‘यो त नारायणगोपाल र तारादेवीको पालाकी हो’ भन्छन्।
यस्ता प्रतिक्रियाले कत्ति पनि हतोत्साह गर्दैन। बरु निर्धक्क जवाफ फर्काउँछिन्, “अहिले जसरी भड्किला र अभद्र भिडिओ बनाएर गीतहरू सार्वजनिक भइरहेका छन् त्योभन्दा त मलाई नारायणगोपाल र तारादेवीकै समयको मान्छे भन। त्यो नै ठीक लाग्छ।”
त्यस वेलाका गीतहरू मौलिक हुने र तिनका सर्जकलाई पूजा गर्न मन लाग्ने उनी बताउँछिन्। जिना भन्छिन्, “अहिले तिनै पुराना गीतलाई पनि कभरको नाम दिएर बिगारिएको छ। रियालिटी शोहरूमा नै गीत बिगारिदिन्छन्। त्यसैले म यस्ता शोहरू नै हेर्दिनँ।”
जिनाले नाइँ नभन्नू ल-२, बितेका पल, मायाको साइनो, डाँडामाथिको वरपीपल लगायत दर्जनौं चलचित्रमा पार्श्वगायन गरिसकेकी छिन्। ५० भन्दा बढी गीत रेकर्ड गराएकी छन्।
तर पछिल्लो समय संगीतमा मौलाएको उच्छृंखल प्रवृत्तिको जिना कट्टर आलोचक हुन्। “यहाँ पैसा तिरेर गायक भएका छन्। त्यसरी त संगीत क्षेत्रको अधोगति पो हुन्छ। कम्तीमा हाम्रो पुस्ताले संगीत बुझेर, अध्ययन गरेर यो क्षेत्रमा आए फेरि पनि नारायणगोपाल र तारादेवीका जस्ता कालजयी गीतहरू बन्न सक्छन्,” उनी आफ्नो गुनासो र आशा एकै पटक व्यक्त गर्छिन्।
संगीत अध्ययनमै १२ वर्ष
तारादेवी स्मृति साँझमा १० वर्षदेखि गीत गाउँदै आएकी अर्की साधक हुन् काठमाडौंकी गीता पाण्डे। उनी पनि अहिलेको पुस्तामा कमैले मात्र गायनलाई अध्ययन र साधनाको विधा ठानेको सुनाउँछिन्।
गीताले २०६८ सालमा इन्डियन कल्चर सेन्टरमा संगीतको कखरा सिकेकी थिइन्। त्यसपछि भारतीय संगीतकार डा. निपा चौधरीसँग शास्त्रीय संगीतको कक्षा लिइन्। त्यही वेला २०७२ सालमा उनको पहिलो गीत रेकर्ड भयो।
रामनाथ घिमिरेको लेखन र जुगल डंगोलको संगीतमा ‘यात्रा कहाँ रोकिन्छ र’ बोलको गीत रेकर्ड गरेपछि उनलाई लाग्यो- संगीतको अध्ययन र साधना त पुगेकै रहेनछ।
यसपछिका चार वर्ष उनी संगीत प्रशिक्षक काफ्लेकहाँ धाइन्। “यत्तिका वर्ष साधना गर्दा पनि आफूले गाएको गीतलाई न्याय गरिनँ होला भन्ने लागेर चण्डी सरसँग फेरि सिकें। त्यसपछि पनि दार्जीलिङका संगीत गुरु शारदा क्षेत्रीसँग कक्षा शुरू गरें,” गीता संगीतप्रतिको समर्पण सुनाउँछिन्।
अहिले १२ वर्ष भयो गीताले संगीतको अध्ययन थालेको। तर उनलाई अहिले पनि आफ्नो अध्ययन र तयारी कम नै भएको महसूस हुन्छ।
तथापि उनले गीतियात्रालाई अविछिन्न राखेकी छन्। ९० वटा आधुनिक गीत रेकर्ड गराइसकेकी छन्। “कति धेरै शब्द र संगीत छनोट गरेर गाउँदा पनि बिस्तारै आफैंले गाएका गीतहरू पनि सामान्य लाग्छन्। तर यहाँ अहिले पनि लहडमा गाउनेको ताँती छ,” गीता भन्छिन्, “यसरी भाइरल हुन गाउनेहरूको गायकी र गीतको आयु दुई दिन न हो। तर पनि अहिलेको धेरै पुस्ता यही लहडमा छ।”
गीतालाई तारादेवी, नारायणगोपाल लगायत अग्रजका गीतहरूमा अत्यन्तै मर्म भएको लाग्छ। “गीतहरू लेखकले लेख्ने भए पनि गायकले जति श्रद्धाले गायो उति नै प्रिय बन्छ। श्रद्धाले गाएका गीतहरू तारादेवीकै पालामा बनेका रहेछन् भन्ने लाग्छ,” उनी भन्छिन्।
तारादेवीका गीतहरू गाउँदा भगवान्को पूजा गरे जस्तै लाग्ने बताउँछिन् उनी। त्यसैले पनि हरेक वर्ष तारादेवीको स्मृति साँझमा गीत गाउँदा तारादेवीहरूले बाँचेकै समयमा आफू पनि पुग्ने गरेको सुनाउँछिन्। “संगीतमा शालीनता ल्याउन हामी जस्ता नयाँ पुस्ताले सिक्ने नै तारादेवीहरूको साधनाबाट हो,” गीता भन्छिन्।
शोभाको संकल्प
जिना र गीताको जस्तै अर्की गायिका रत्न शोभा महर्जनको पनि प्रिय गायिका तारादेवी नै हुन्। शोभाले भने तारादेवी स्मृति साँझमा गीत गाएकी छैनन्। तर फाउन्डेशनले आयोजना गर्ने अन्य कार्यक्रममा उनले केही वर्षयता गीत गाउँदै आएकी छन्।
“अहिले पनि सुनिने गायकगायिका भनेका उनै पुराना तारादेवी, भक्तराजहरू नै हुन्। त्यो भनेको समाजले त्यस्ता गीत नै मन पराएको हो, हाम्रो पुस्ताले यसमा चाहिं मनन गर्नुपर्छ,” उनी भन्छिन्।
शोभाले करीब २०० आधुनिक र २०० नेपाल भाषाका भजन र राष्ट्रिय गीतहरू गाइसकेकी छन्।
उनले संगीत सिक्न थालेको दुई दशक भइसक्यो। न्ह्यू बज्राचार्यको डोरेमी संगीत पाठशालामा कक्षा लिएकी उनी अहिले पनि संगीतकै विद्यार्थी हुन् । नेपालभाषाको प्रसिद्ध ‘लिक्क वया जित धाल’ बोलको गीत गाएकी शोभालाई वेलाबखत व्यक्तिविशेषलाई भाइरल बनाउनका लागि गीत गाइदिनुपर्ने प्रस्ताव आउँछन्। तर उनी त्यस्ता गीतका लागि आफ्नो वर्षौंको साधना नष्ट नगर्ने बताउँछिन्।
“हामीले पुराना पुस्ताका गायकहरूले जथाभावी शब्दमा गीत गाएको कहिल्यै सुनेनौं। संगीतको इज्जत गर्न पनि गायकले आफूलाई सचेत राख्नुपर्ने रहेछ,” शोभा भन्छिन्।
त्यसैले आफ्नो जीवनकालमा गायिकाका रूपमा प्रसिद्ध नभए पनि रवाफिला गीत कहिल्यै नगाउने प्रण गरेको उनी बताउँछिन्। “हामीले तारादेवी जस्ता स्रष्टालाई पुजेपछि उहाँहरूको पथमा चल्नुपर्छ। लाखौं खर्च गरे पनि अरूका लागि मात्र गाउने होइन, गायकगायिकाको सम्मान गर्न पनि अर्थपूर्ण गीत गाउने हो,” उनी भन्छिन्।
शोभाको त उद्देश्य नै छ- हेरिनेभन्दा पनि सुनिने गायक बन्ने।