पद्मश्री पुरस्कार प्रदान
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले मनु उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरेको छ।
पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये उत्कृष्ट १५ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसपछि अन्तिम सूचीमा पाँच पुस्तक छानिएका थिए। जसमध्ये मनुलाई पुरस्कार प्रदान गरिएको हो।
त्यस्तै, प्रतिष्ठानले काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्मालाई पद्मश्री गौरव र कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पद्मश्री साधना प्रदान गरेको छ।
प्रतिष्ठानले हरेक वर्ष देश र समाजका लागि उल्लेखनीय काम गरेका व्यक्तिलाई पद्मश्री गौरव र कलाको क्षेत्रमा लामो समयदेखि उल्लेखनीय काम गरेका व्यक्तिलाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ। तीनै पुरस्कारको राशी तीन-तीन लाख रुपैयाँ छ।
शनिबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समाज र राष्ट्र विकासका लागि साहित्यको विकास हुनुपर्ने बताए। प्रविधिको विकाससँगै पठन तथा चिन्तन संस्कृति जोगाउने चुनौती रहेको वेला यस्ता पुरस्कारले केही योगदान गर्ने लामिछानेको भनाइ थियो।