टोक्योमा ‘रातो र चन्द्रसूर्जे...’
![टोक्योमा ‘रातो र चन्द्रसूर्जे...’](https://www.himalkhabar.com/uploads/posts/800X600/Nepathya-performing-in-Tokyo_1691660346.jpg)
कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि कुन देशको मरन हौ हजुर।
‘मानवताका लागि सङ्गीत’ अभियान अन्तर्गत कन्सर्ट गर्न जापान पुगेको नेपथ्य ब्यान्डले मंगलबार बेलुकी टोक्योको तोयोसु पिट हलमा स्वदेश सम्झाउने गीतबाट प्रस्तुति शुरू गर्यो। गायक अमृत गुरुङले गाउँदा तीन हजारभन्दा बढी दर्शक तरङ्गित बने।
त्यो क्रमलाई ‘भेंडाको ऊन जस्तो’ ले झनै तीव्रता दियो। त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्यान्डले माहोलमा पूर्ण रूपमा पकड जमाइसकेको थियो।
त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गरे। ब्यान्डका पुराना सदस्यलाई सम्झेर भावुक हुँदै उनले भने, “यो तीन दशकभन्दा लामो यात्रामा नेपथ्य ब्यान्डले धेरै अनुभव पनि बोकेको छ। यो टोक्यो भूमिमै हाम्रो समूहका साथीहरूबीच साङ्गीतिकदेखि मिलन-बिछोडसम्मका अनेक याद छन्।”
लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए–
आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपी राखे है...
उनले यो गीत गाइरहँदा मञ्चको पृष्ठभागमा नेपथ्यका स्थापनाकालीन दिनहरूका तस्वीर देखाइएको थियो।
कार्यक्रममा नेपालीहरूको उपस्थितिसँगै केही जापानी अनुहार पनि देखिन्थे। तिनैमध्ये टोक्योमै रेस्टुरेन्ट व्यवसाय चलाउँदै आएका नारुओ पनि थिए। उनी भन्दै थिए, “मैले एउटा बेग्लै र गजबको साङ्गीतिक साँझ अनुभूति गरें। शब्द बुझ्न नसके पनि त्यसका भाव र सङ्केत ठम्याउँदै रमाउन सकिने सङ्गीत थियो।”
नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा कन्सर्ट हेर्न आएका नारुओले यो कन्सर्टमा आएपछि आजसम्म नगएको त्यो मुलुक घुम्न जाने इच्छा जागेको बताए।
कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनुअघि अमृतले समाजले चुनौती बेहोरेको समयमा नेपथ्यले आफ्नो भूमिका फराकिलो पार्दै आएको बताउँदै सामाजिक दायित्वमा ब्यान्डको आबद्धताबारे चर्चा गरे। बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताका लागि सङ्गीत’ अभियान शुरू गरेको र जापानको यात्रा त्यसैको निरन्तरता भएको उनले प्रस्ट्याए।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Nepathya-performing-to-a-pa.jpg)
यसपछि ‘मै नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरि दर्शक नाचिरहेका देखिन्थे।
जापानको समय अनुसार बेलुकीको ठीक साढे छ बजे शुरू भएको कन्सर्ट १६ वटा गीत र दुई वटा म्युजिक भिडिओ देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो।
स्थानीय आयोजक टोलीका सुभाष लामिछानेले टोक्योमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको वेला मंगलबार आयोजित कार्यक्रममा ठूलो उपस्थिति देखेर अचम्म लागेको बताए।
नेपथ्यले जापानमा सन् १९९८ मा पहिलो पटक कन्सर्ट गरेको थियो। पछिल्लो पटक भने पाँच वर्षअघि त्यहाँको टोक्यो डोममा ब्यान्डले लोकरक सुनाएको थियो।
कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (कीबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल)ले सघाएका थिए।
जापानका तीन शहरमा कन्सर्ट गर्ने योजना अनुरूप गएको ब्यान्डको आगामी प्रस्तुति साउन २७ गते (अगस्ट १२) फुकुओका शहरमा हुनेछ भने साउन ३२ गते (अगस्ट १७) ओसाका शहरमा हुनेछ।