‘ट्राइबल हाट’मा साकेला र आयोसा प्रस्तुत
रैथाने संगीत समूहले आयोजना गरेको ‘ट्राइबल हाट’मा राई समुदायको साकेला नृतय र आयोसा गायन प्रस्तुत गरिएको छ।
ललितपुरको झम्सिखेलस्थित पोर्क हबमा आयोजित ‘ट्राइबल हाट’को दोस्रो श्रृङ्खलामा साकेला नृत्य र आयोसा गायन प्रस्तुत गरिएको हो। पूर्णबहादुर खालिङ राईको नेतृत्वमा कलाकारहरूले साकेला नृत्य र आयोसा गायन प्रस्तुत गरेका थिए।
राई समुदायले साकेला नृत्य वर्षमा दुई पटक उँधौली र उँभौलीमा पर्व नाच्ने गर्छन्। साकेला सिली नाचमा खेत जोत्ने, बीउ रोप्ने, बाली काट्ने जस्ता कृषिकर्मको अनुकरण गरेर नाचिन्छ।
‘नाक्छोङ’ भनिने धामीको नेतृत्वमा शक्तिशाली देव साकेलाको सम्मानमा सिली नाच नाच्ने गरिन्छ। यो नृत्यमा राई समुदायको कृषि सभ्यताको सामाजिक र पर्यावरणीय दृष्टिकोण झल्किन्छ, र यसले राई समुदायको भाषा, कला, दर्शन र जीवनको सिद्धान्तलाई समेटेको छ।
त्यस्तै, आयोसा विवाह जस्ता समारोहमा, जंगलमा जाँदा र गाईवस्तु चराउन जाँदा गाउने गरिन्छ। आयोसा गीतका शब्दमा जीवनका अनुभवहरूको अभिव्यक्ति पाइन्छ भने यी गीतलाई मुर्चुंगा, बिनायो, पात बाजा र बाँसुरीले यो गायनलाई साथ दिन्छन्।
विभिन्न जातजातीको लोकसंगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले ट्राइबल हाट कार्यक्रमको आयोजना गरिएको रैथाने समूहकी अध्यक्ष झुमा लिम्बूले बताइन्। “नेपालको जातीय संगीत यसको मौलिक सम्पती हो, तर आज विभिन्न कारणले यो मौलिक संगीत छायाँमा परेको छ। त्यसैकारण, यस्तो गीतसंगीत गाउने, सुन्ने र सुनाउने मञ्च प्रदान गरेर यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले हामीले ट्राइबल हाट शुरू गरिका हौ,” लिम्बूले भनिन्।
यसअघि ट्राइबल हाटको पहिलो श्रृङ्खलामा मगर, नेवा, गन्धर्व र लिम्बू समुदायको गीतसंगीत प्रस्तुत गरिएको थियो।