साङ्गीतिक ब्यान्ड १९७४ एडीको टुँडिखेलमा कन्सर्ट
साङ्गीतिक ब्यान्ड १९७४ एडीले चैत ४ गते काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्न लागेको छ।
अटिजम सम्बन्धी जनचेतना फैलाउने र मस्तिष्क विकास सम्बन्धी भिन्नता भएकाहरूको उत्सव मनाउने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको ब्यान्डले जनाएको छ। काठमाडौं महानगरपालिका र अटिजम केयर नेपाल सोसाइटीसँगको सहकार्यमा १९७४ एडीले गर्ने कन्सर्टलाई अस्ट्रेलियाली दूतावासले सघाएको छ।
अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस)का अनुसार, नेपालमा करीब तीन लाख बालबालिकामा अटिजम हुन सक्ने अनुमान छ। “नेपालमा अटिजमको फैलावट व्यापक रहेको भए पनि यसबार एकदम कम छलफल हुन्छ र समुदायमा अटिजमबारे जानकारी सीमित रहेको छ,” सोसाइटीका अध्यक्ष डा. सुनीता मलेकू भन्छिन्, “अभिभावक, स्वास्थ्यकर्मी, समुदायका सरोकारवालामा पनि बालबालिकामा हुने विकासात्मक ढिलाइ र भिन्नताहरूको कम जानकारी भएको कारण बालबालिकामा अटिजमको अवस्था निदान गर्न ढिलो हुने गरेको पाइन्छ।”
यसबारे जनचेतना फैलाउन कन्सर्ट आयोजना गर्न लागिएकाले दूतावासले सहयोग गरेको नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले बताइन्। “यो साङ्गीतिक कार्यक्रम ऐतिहासिक हुनेछ र यो समयक्रमको एक क्षण हुनेछ,” राजदूत भोल्कले भनिन्, “जब कार्यक्रमका सहभागी शनिबार साँझ टुँडिखेलबाट घर जानेछन्, तब विश्वविख्यात साङ्गीतिक समूह १९७४ एडीको प्रस्तुतिले उनीहरूलाई ऊर्जा प्रदान गर्नेछ। म आशा र प्रार्थना गर्छु सहभागीहरूले त्यो ऊर्जा र उत्साह अटिजमलाई अँगाल्न र यसबारे सबैलाई जानकारी दिनुहुनेछ।”
साङ्गीतिक समूह १९७४ एडीले पनि अटिजमबारे जनचेतना जगाउन कन्सर्ट गर्न पाउँदा खुशी लागेको जनाएको छ। यो कार्यक्रमले अटिजमसँग सम्बन्धित चेतना फैलाउन मद्दत गर्ने जनाइएको छ।
टुँडिखेलमा चैत ४ गते शनिबार साँझ ५ बजे शुरू हुने कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।