भारतीय एक्जिम ब्यांकको ‘व्यापार सहायता कार्यक्रम’ मा नबिललाई सदस्यता
![भारतीय एक्जिम ब्यांकको ‘व्यापार सहायता कार्यक्रम’ मा नबिललाई सदस्यता](https://www.himalkhabar.com/uploads/posts/800X600/Nabil-Bank-logo_1633504066.jpg)
नबिल ब्यांकले एक्सपोर्ट-इम्पोर्ट ब्यांक अफ इन्डिया (एक्जिम ब्यांक)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य ब्यांकको मान्यता पाएको छ। एक्जिम ब्यांकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र ब्यांक हो।
एक्जिम ब्यांकले सूक्ष्म जोखिम समीक्षापछि नबिललाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो। यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात-निर्यातलाई सहजीकरण गर्न अवसर खोल्ने नबिल ब्यांकले जनाएको छ।
यो सुविधा अन्तर्गत एक्जिम ब्यांकले नबिल ब्यांकको भुक्तानी दायित्वको समर्थनमा भारतमा ‘लेटर अफ क्रेडिट’ स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ। यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी सीमापार व्यापार सम्बन्धी कारोबारलाई सहज गर्ने ब्यांकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस व्यापार सहायता कार्यक्रम अन्तर्गत एक्जिम ब्यांकसँगको साझेदारीले नेपाली ब्यांकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणका लागि कोशेढुंगा सावित हुने नबिल ब्यांकले जनाएको छ।
एक्जिम ब्यांक आयात-निर्यात वित्तपोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो। भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।