चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा
![चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा](https://www.himalkhabar.com/uploads/posts/800X600/li_zhanshu_(2)_1662978406.jpg)
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु काठमाडौं आइपुगेका छन्।
उनी विशेष विमानबाट सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन्। अध्यक्ष लीको स्वागतका लागि सभामुख अग्निप्रसाद सापकोटा विमानस्थल पुगेका छन्।
सभामुख सापकोटाको निमन्त्रणमा ली नेपालको भ्रमणमा आएका हुन्। उनको भ्रमणका क्रममा नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीच द्विपक्षीय सहकार्य र भ्रमण आदान-प्रदान सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/diplomacy/china/li%20zhunshu/li%20zhanshu%20%281%29.jpg)
नेपाल भ्रमणका क्रमा उनले आजै सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा सभामुख सापकोटाले आज रात्रिभोज आयोजना गर्ने भएका छन्।
अध्यक्ष लीले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि लीले भेटवार्ता गर्ने भएका छन्।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/diplomacy/china/li%20zhunshu/305592050_3160985107547980_8826074741417269117_n.jpg)