न्याय माग्दै दिलीपको परिवार काठमाडौंमा
तीन वर्षअघि अवैध नदी उत्खनन रोक्न खोज्दा हत्या गरिएका धनुषाको श्रीपुरका इन्जिनियर ओमप्रकाश महतो (दिलीप) को परिवार न्याय माग्दै काठमाडौं आइपुगेको छ।
काठमाडौं पुगेका दिलीपका बुबा रामजीवन, बहिनीहरू संगम र लक्ष्मी तथा भाइ ख्वाइसले तीन वर्षसम्म न्याय नपाएपछि धनुषाबाट काठमाडौं आउनुपरेको बताए। दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो। उनको मुद्दामा जिल्ला अदालत, धनुषामा अझै सुनुवाइ हुन सकेको छैन। पटक पटक पेशी सर्दै आएको छ।
उनीहरूले आइतबार काठमाडौंको बबरमहलमा पत्रकार सम्मेलन गरी तीन वर्षसम्म न्याय नपाउँदा थप पीडित भएको गुनासो गरेका छन्। “हामीलाई अब त न्याय नै पाइँदैन कि जस्तो लाग्न थालेको छ,” रामजीवनले भने, “दिलीप मारिएपछि हाम्रो खुशी खोसिएको छ, हाम्रो जीवन पहिला जस्तै कहिल्यै भएन।”
त्यो चिन्ताले पनि आफू रोगी बन्दै गएको उनले बताए। उनी पछिल्लो एक वर्षमा तीन पटक आईसीयू र एक पटक भेन्टिलेटरमा पुगेका छन्। दमबाट पीडित उनी औषधि बोकेरै काठमाडौं आएका छन्। वेलावेला सास फुलेर बोल्न नसक्दा ‘ब्रोन्कोडाइलेटर इन्हेलर’ मुखमा लगाउने गरेका छन्।
रोगले च्याप्दै गएकाले न्याय नपाउँदै आफूलाई केही हुने हो कि भन्ने चिन्ता लागेको रामजीवनले सुनाए। “जिउँदो छँदै छोराले न्याय पाएको हेर्ने इच्छा छ,” उनले भने।
तर, गत तीन वर्षमा दिलीप हत्यामा सात जना विरुद्ध दर्ता भएको मुद्दाको जिल्ला अदालतमा १० पटक पेशी सरिसकेको छ। अभियुक्तमध्ये चार जना धरौटीमा छुटेका छन् भने तीन जना पुर्पक्षका लागि थुनामा छन्।
आर्थिक अवस्था कमजोर भएकाले वकील पनि राख्न नसकेको दिलीपकी बहिनी संगमले बताइन्। “प्रतिवादीले सात जना वकील राखेका छन्, हामी सरकारी वकीलकै भरमा छौं, आफ्नो तर्फबाट वकील पनि राख्न सकेका छैनौं,” संगमले भनिन्।
पटक पटक पेशी सर्दै आएको मुद्दामा न्यायका लागि सम्बन्धित सबै ठाउँ पुगेको उनले सुनाइन्। कहींबाट केही सीप नलागेपछि काठमाडौं आएको उनले बताइन्।
सरकारले पनि आफूहरूको पीडा नदेखेको दिलीपकी अर्की बहिनी लक्ष्मीले गुनासो गरिन्। “दाजु व्यक्तिगत स्वार्थ हेरेर खोलामा जानुभएको थिएन। नदी र गाउँ बचाउनु उहाँको स्वार्थ थियो। तर, सरकार यो कुरा किन सुन्दैन?” उनले प्रश्न गरिन्। दिलीपलाई ‘वातावरण शहीद’ घोषणा गर्नुपर्ने उनको माग छ।
अधिवक्ता पदमबहादुर श्रेष्ठ पनि दिलीपलाई ‘वातावरण शहीद’ घोषणा गर्नुपर्ने बताए। वातावरण संरक्षणकै लागि मारिएकाले सरकारले मूल्याङ्कन गर्नुपर्ने बताउँदै श्रेष्ठले भने, “दिलीप नदी बचाउँदा मारिएका हुन्। उनको ज्यान गएपछि अवैध नदी उत्खनन गरिरहेका धेरै माफियाको पोल खुलेको छ, यसमा सरकारले सोच्नुपर्छ।”