रारा क्षेत्रमा रिसोर्ट बनाउन अस्ट्रेलियन कम्पनीले लगानी गर्ने
मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ।
काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रूपसँग सम्झौता भएको हो। लगानी सम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रूपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन्।
मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्मा टपमा ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्टमा पहिलो चरणमा करीब ७० करोड रुपैयाँ लगानी गरिने भएको छ। त्यस्तै, दोस्रो चरणमा करीब ४० करोड रुपैयाँ बराबरको लगानी गरिने शाहले बताए।
डेढ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र कर्णालीको संस्कृति झल्किने गरी निर्माण गरिने जनाइएको छ। यसको विस्तृत परियोजना प्रतिवेदन समेत बनिसकेको शाहले बताए। -रासस