रोमाञ्चक खप्तड यात्रा
खप्तडसँग मनले मीत लगाउँदैनथ्यो भने खप्तड बाबा किन त्यो अनकन्टार ठाउँमा तपस्या गरेर बस्थे?
महेन्द्रनगरको हपहपी पोल्ने गर्मी छल्न जेठको पहिलो म परिवार सहित खप्तड यात्रामा निस्किएँ। म हिमाली भेगको मान्छे, तराईको गर्मी एकछिन छल्न पाए पनि ठूलै राहत महसूस हुँदो रहेछ। त्यसमाथि खप्तड धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वको स्थल। यही स्थानमा प्रसिद्ध खप्तड बाबाले तपस्या गरी बसेका थिए।
खप्तड जाने चल्तीका दुई वटा पैदलमार्ग रहेछन्। एउटा कैलालीको अत्तरियाबाट डडेल्धुरा र डोटी भएर जाने। अर्को बझाङ भएर। बझाङ भएर जाँदा उकालो दुई/तीन घन्टा हिंडेपछि तेर्सो हिंडेर खप्तड पुगिने रहेछ। डोटी भएर जाँदा उकालो ५/६ घन्टा हिंडेर तेर्सो पनि करीब उत्तिकै हिंड्नुपर्ने रहेछ। हामीले डोटीको बाटो रोजेका थियौं।
हामी अत्तरियाबाट उक्लेर खानीडाँडा पुग्दा त्यहाँदेखि डडेल्धुरासम्म बाटाभरि काफल बेच्नेको ताँती नै थियो। तर अचम्म, काफल बेच्ने एक जना पनि पुरुष देखिएनन्। केटाकेटी र महिलाहरू मात्रै देखिन्थे।
पहिलो रात हामी डोटीको राजपुरमा वास बस्यौं। सेती नदीको माछा खायौं। सेतीको माछाले रसुवामा पाइने हिमाली रेन्बो ट्राउटको स्वाद पनि बिर्साइदियो।
भोलि पल्ट डोटीको झिंग्राना पुग्दा बिहानको ८ बजेको थियो। झिंग्रानासम्म जीप जान्छ। यहाँ एउटा होटल छ, चियानास्ताका लागि चाहिं पहिल्यै फोन गर्नुपर्ने रहेछ। यहाँ नास्ता गरेपछि होटल सञ्चालकले नै बिचपानीको अर्को होटलमा हाम्रा लागि खाना पकाउनु भनेर फोन गरिदिए।
झिंग्रानामा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय र सेनाको चेकपोस्ट छन्। आगन्तुकसँग सैनिक सोधपुछ गर्छन्, नाम टिप्छन्। अनि १०० रुपैयाँ लिएर निकुञ्ज प्रवेशको रसिद काटिदिन्छन्। यहाँबाट नाकै ठोक्किने बिचपानीको उकालो यात्रा शुरू हुन्छ।
पैदलमार्ग उति फराकिला छैनन्, भीरका बाटो त झन् साँघुरो। त्यसमाथि लुडोको सर्पको खेलमा २५ नम्बरबाट ९९ नम्बरमा उक्लिने ठाडो भर्याङ जस्तै उकालो।
बाटामा बाक्लो गुराँसे जंगल भए पनि फूल फुलिवरी झरिसकेका थिए। गुराँसको मजा लिंदै यात्रा गर्न चाहनेले फागुन/चैततिर जानु बेस हुने रहेछ। झिंग्रानादेखि बिचपानीसम्मको दूरी साढे ६ किलोमिटर छ। यो बीचमा दुई ठाउँमा जरुवा छ, त्यसैमा तुरतुरे धारो बनाइएको छ। अन्त पानी भेटिंदैन। होटल पनि छैन। त्यसैले यात्रुले पानी र खानेकुरा बोकेर जानुपर्छ। धन्न सेनाले बटुवाका लागि तीन ठाउँमा जस्तापाताले छाएको विश्रामस्थल बनाइदिएका रहेछन्।
झिंग्रानाबाट साढे ८ बजे हिंडेका हामी बिचपानी (३,०८० मिटर) पुग्दा साढे ११ बजेको थियो। बिचपानीमा पुग्नासाथ साहुजीले तातो भात पस्किए। कालो दाल, आलु र जंगली निगुरो तरकारी भएको खानाको मूल्य ३०० रुपैयाँ थियो। दाउराको आगोमा पकाएकाले होला, खाना सादा भए पनि मीठो थियो।
खप्तड क्षेत्रमा काटमार गर्न नपाइने भएकाले मासु वर्जित रहेको साहुजीले बताए। यात्रुहरू यात्राभर शुद्ध शाकाहारी हुने रहेछन्।
बिचपानी पुगेपछि उकालो हिंडाइ सकिन्छ। झिंग्रानादेखि बिचपानीसम्मको उकालो छल्नकै लागि धेरैजसोले खप्तड जान बाजुरा र बझाङको बाटो रोज्दा रहेछन्। फर्किंदा बिचपानी-झिंग्रानाको ओरालो सजिलो हुने नै भयो। यसो गर्दा यात्रामा एक फन्को मार्न पनि सकिने।
कतै कतै थोरै उकालो बाहेक बिचपानीदेखि खप्तडसम्म साढे नौ किलोमिटर तेर्सैतेर्सो छ। निगालो घारी, गुराँस, कटुस, बाँज, गोब्रे सल्लाको वन भएर हिंड्नुपर्छ। कटुस र टुसा खान भालु आउने भएकाले एक्लैदुक्लै नहिंडेकै राम्रो। तेर्सो भए पनि लामो हिंडाइले खुट्टा भने दुख्ने रहेछ। खानेकुरा नलगे भोकै परिने रहेछ। मौसम पनि अदलीबदली भइरहने, जतिखेरै पानी पर्न सक्ने। यो याममा बर्सादी बोक्नु उत्तम हुने रहेछ।
यात्रामा यस्ता चुनौतीको सामना गर्नुपरे पनि बाटामा गोठ राख्ने खर्क, चराचुरुंगीको आवाज, फूलहरू र टाढासम्म फैलिएका हरिया वनजंगलको दृश्यले मन निराश पार्दैन।
बरु फोक्सोमा छिर्ने लेकाली शुद्ध हावाका कारण मस्तिष्कभरि सकारात्मक सोचहरू भरिएर आए जस्तो लाग्छ। कम हिंडडुल गर्नेहरूका लागि सकसपूर्ण भए पनि लेकाली शुद्ध हावापानीकै कारण खप्तड यात्रा उत्तिकै रोमाञ्चक पनि लाग्छ। खप्तडसँग मनले मीत लगाउँदैनथ्यो त खप्तड बाबा किन त्यो अनकन्टार ठाउँमा तपस्या गरेर बस्थे?
खुशीको चिच्याहट
बिचपानीदेखि खप्तडबीचको जंगलमा एउटा बिसौनी रहेछ। गस्तीमा आएका तीन जना सैनिक बसिरहेका थिए। हामी पुगेपछि ती उठेर गए। बाटोमा ठोट्ने पनि देखियो। भाँचेर खायौं। मुख अमिलियो। बाल्यकालमा गोठमा बस्दा खूब खान्थ्यौं हामी।
हिंड्दै जाँदा एक्कासि खुला चरन (पाटन)मा पुग्यौं। त्यहाँ पुग्दा कसो कसो हामी सबैको मुखबाट ‘आहा कति राम्रो’ भन्ने शब्दावली निस्कियो। गाईभैंसी, घोडा र खच्चरहरू निस्फिक्री घाँसे मैदानमा चरिरहेका थिए। खप्तडको पाटनको दृश्य देखेर केही बेर हामी खुशीले जोड जोडले चिच्यायौं।
खप्तडको विशेषता भनेकै खुला चरन क्षेत्र, विभिन्न प्रजातिका गुराँसका फूल, भुइँफूल, जडीबुटी, शुद्ध वायू र हिन्दूहरूका लागि धार्मिक तीर्थाटन हो।
तथापि हामी गन्तव्य पुग्न अझै करीब दुई घन्टा हिंड्नुपर्ने थियो। पाटन हुँदै तेर्सो बाटो लाग्यौं। साँझ करीब पौने ५ बजेतिर हामी वार्डेन सरोजमणि पौडेल भएको ठाउँ पुग्यौं। हाम्रो वास उहाँकैमा थियो। रातिको खाना सेनाको ब्यारेकमा खायौं। भोलि पल्ट बिहान वार्डेन पौडेलकहाँ खाना खायौं।
खप्तडमा खच्चर र घोडालाई बोकाएर रासन लानुपर्ने रहेछ। त्यसैले त्यहाँ पुगेर अरूकहाँ पाहुना लागी सित्तैमा खाना खानुपर्दा निकै अप्ठ्यारो भयो।
त्यस दिन खप्तड बाबाको आश्रम, खापर दह, केदार ढुंगा, त्रिवेणी मन्दिर र पाटनहरू अवलोकन गर्दै हामी भोलि पल्ट दिपायल आएर बस्यौं।
खप्तडमा एउटा मात्र सानो लज रहेछ। त्यहाँ बझाङ र डोटीबाट गएका यात्रुहरू वास बस्दा रहेछन्। लजमा नअटेका यात्रुलाई निकुञ्ज कार्यालय र सेनाको ब्यारेकले सेवा नदिने हो भने खप्तडमा पर्यटकको बिजोग हुने रहेछ।
पर्यटक बिरामी भइहाले भने पनि औषधोपचार गर्न तुरुन्त लैजान कठिन छ। पर्यटन गन्तव्य नै घोषणा गरिएकाले अन्य राष्ट्रिय निकुञ्जमा झैं यहाँ पनि संरक्षणसँगै विकासका पूर्वाधार हुनु अत्यावश्यक देखिन्छ।