एक दिलीप मारिए, दुई जन्मिए
खोलाको अवैध उत्खनन रोक्ने क्रममा मारिएका दिलीप महतोका दुई बहिनीको न्याय र संरक्षणको कथा:
२०७६ पुस १४ गते संगम (२४) र लक्ष्मी (२२) महतो ज्यादै खुशी थिए। भारतको भोपालमा इन्जिनीयरिङ पढ्दै गरेका एक मात्र दाइ ओमप्रकाश (दिलीप) महतो स्नातक तहको अन्तिम परीक्षा दिएर घर फर्कंदै थिए। तर, यी दिदीबहिनीको खुशीको आयु दाइ घर आएको ११ दिनसम्म मात्र रह्यो।
धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप (२४) लाई घर नजिकैको औरही खोलामा हुने गिट्टी-बालुवाको अवैध उत्खनन चिन्ताको विषय थियो। बिदामा घर आएका वेला प्रायः समय उत्खनन रोक्ने काममै खटिन्थे। खोला खोतलिए बस्ती डुबानमा पर्छ भन्दै स्थानीय बासिन्दाहरूलाई पनि आवाज उठाउन झकझक्याइरहन्थे। आफू नहुँदा साथीहरू र गाउँलेलाई खबर गर्थे। कहिले पत्रकारको टोली लिएर उत्खननस्थल पुग्थे।
यो अग्रसरताले उनलाई समुदायमा उदाहरणीय युवा बनाएको थियो, तर उनको त्यही काम खोला नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालकहरूलाई भने झन् झन् बिझाउँदै गएको थियो। “दाइलाई बारम्बार धम्की पनि आएको थियो,” संगम भन्छिन्।
दिलीप हक्की त थिए नै, गम्भीर र जिम्मेवार पनि थिए। अध्ययन सकेर भारतबाट घर आइपुगेकै रात आफ्नो पढाइमा लागेकोे खर्चको हिसाब गरे। जसमा ऋण थियो, रु.१४ लाख। तर, घरमा कसैलाई आत्तिन दिएनन्। बरु ढाडस दिए, “इन्जिनीयरिङ पास भएपछि जागीर खाइहाल्छु। बहिनीहरूले सरकारी जागीर नखाएसम्म पढाउँछु।”
आठ सन्तानमध्ये दिलीपभन्दा माथि एक दिदी, मुनि पाँच बहिनी र एक भाइ छन्। उमेरमा केही वर्ष मात्र फरक भएकाले दिलीप उनै दुई बहिनी संगम र लक्ष्मीसँग धेरै नजिक थिए। बहिनीभन्दा बढी साथी मान्थे। गलत काम विरुद्ध जुझारु दाइ दिलीप बहिनीहरूका लागि पनि आदर्श र प्रेरणा थिए।
दिलीपले समाज र पर्यावरणसँगै आफू र बहिनीहरूबारे ठूलो सपना देखेका थिए। त्यसैले त छरछिमेकमा कक्षा १० पढ्दापढ्दै छोरीहरूको विवाह गरिदिने गरेकोमा उनकै आडभरोसामा बहिनीहरू उच्च शिक्षा पढ्दै थिए, सरकारी जागीरे बन्ने सपना देख्दै थिए।
दाइकै भरोसा र प्रेरणा पाएर संगम बीबीएस र लक्ष्मी बीएड पढ्दै गर्दा लोक सेवा आयोगको परीक्षाको तयारीमा लागेका थिए। उनले बहिनीहरूलाई पढ्ने वातावरण दिएकोमा ‘विवाह गरेर अर्काको घर जाने जातलाई के पढाउनु, के जागीर खुवाउनु’ भनेर छिमेक र आफन्तबाट सुन्नुपथ्र्यो। उनी जवाफ दिन्थे, “विवाह गरेर जाने हुनाले त दबाबमा जीवन नबितोस् भनेर आत्मनिर्भर बनाउनुपर्छ।”
लक्ष्मीका अनुसार, दिलीप परिवारका सदस्यहरूको मात्र हिम्मत र भरोसा नभएर सिङ्गो बस्तीकै दुःख बुझ्थे। गाउँमा कोही बिरामी भयो- अस्पताल पुर्याऊ दिलीप। कसैको घरमा चोरी भयो- पुलिस रिपोर्ट लेखाऊ दिलीप। कतै झैझगडा भयो- मिलाउन आऊ दिलीप। “दाइको उमेर सानो भए पनि सोच र आँट ठूलो भएकाले सबैले सम्मान गर्थे,” लक्ष्मी भन्छिन्।
भारतबाट घर आएको नौ दिनसम्म दिलीप सामाजिक काममै व्यस्त भए। त्यही वेला क्रसर माफियाहरूले उत्खननमा चूप बसे पल्सर बाइक किन्दिने प्रलोभन देखाएको उनले घरमा सुनाएका थिए। तर, उनले खोला दोहन विरोधी अभियानबाट टसमस हुने छनक देखाएनन्
दोहन गर्ने बाटोमा बाधक बनेका उनलाई पन्छाउन क्रसर व्यवसायभित्रै अपराध हुर्कियो। अन्ततः २०७६ पुस २५ को एकाबिहानै उत्खनन रोक्न औरही खोला किनारमा गएका दिलीप कहिल्यै फर्केर आएनन्। क्रसर व्यवसायीले फलामको सुइरो रोपी, कुटपिट गरी बेहोश बनाएपछि टिप्परले टाउको कुल्चाएर बीभत्स ढङ्गले हत्या गरे।
दोहनकारीले आफू विरुद्धको आवाज थुन्न दिलीपको ज्यान लिएका थिए। तर, त्यस घटनापछि खोला उत्खनन विरुद्धको अभियान रोकिएको छैन। बरु हत्याको घटनामा न्यायको लडाइँसँगै संरक्षण अभियानमा उनकै दुई बहिनी संगम र लक्ष्मी संघर्षरत छन्।
न्यायको लडाइँ
दिलीपको हत्यालाई सडक दुर्घटना पुष्टि गराउन क्रसर सञ्चालकले प्रपञ्च रच्न थालिसकेका थिए। तर, लक्ष्मी, संगम र बुबा रामजीवन महतोले क्रसरको प्राङ्गणदेखि खोलाको बगरसम्म रगत लतपतिएको प्रत्यक्ष देखेका थिए। हत्यालाई दुर्घटना देखाउन मुचुल्का पनि नउठाई बिहानै पोस्टमार्टम गर्न लगियो। त्यस क्रममा दिलीपको परिवारका कसैलाई जान दिइएन।
त्यसपछि जसरी दिलीप गलत काम विरुद्ध लड्थे, उसै गरी संगम र लक्ष्मी दिलीप हत्याको न्यायका लागि डट्न थाले। बुबा दमको रोगी भएकाले दुई बहिनी नै आन्दोलनमा खटिए। हतारमा पोस्टमार्टम गर्न लागिएको विरोधमा उनीहरूको अग्रसरतामा पूर्व-पश्चिम राजमार्गमा पाँच घण्टासम्म प्रदर्शन भयो। विरोधपछि त्यस दिन पोस्टमार्टम रोकियो र परिवारको सदस्य पनि पोस्टमार्टमको वेला अस्पतालमा हुन पाए।
पर्यावरण संरक्षण अभियन्ता दिलीपकोे हत्याको खबर राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा बन्दै जाँदा बुबा रामजीवनले घटनामा संलग्न भएको आरोपमा सात जना विरुद्ध जाहेरी दिए। जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलीपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। ६ जना तत्कालै पक्राउ परे।
जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनीन्द्र र जितेन्द्रकुमारलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न र रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाड्न आदेश दिए। यता, एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छाडियो।
घटनापछि क्रसर उद्योग बन्द थियो। तारेखमा छुटेपछि क्रसर उद्योगी विनोदले आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा दिलीपको परिवार विरुद्ध जनकपुर जिल्ला अदालतमा मुद्दा हाले। संगमका अनुसार, न्याय पाउन प्रहरी, वकील र अदालत धाइरहेका आफूहरूलाई दुःख दिने नियतले आगो लगाएको आरोप सहित मुद्दा हालिएको थियो। उनको शङ्कामा बल थप्ने गरी क्रसर सञ्चालकले हालेको रिटमा दुई दिनपछि नै दिलीपको परिवारलाई कारण देखाउ आदेश जारी भयो, जबकि दिलीपको मुद्दा तीन वर्षसम्म अड्किरहेको छ।
हत्याका आरोपितले हालेको मुद्दामा उल्टै लिखित जवाफ पेश गर्नुपर्ने भएपछि उनीहरूले वकील राख्न ६० हजार रुपैयाँ ऋण खोजे। “दाइको मुद्दामा न्याय पाइएकै थिएन, उता अर्को मुद्दा लड्नुपर्यो। हामीलाई कम्ता आपत थिएन,” लक्ष्मी भन्छिन्।
मुद्दा हालेको ११औं दिनमा उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू/नगराउनू भनी अदालतले अन्तरिम आदेश जारी गर्यो। दिलीपको हत्याको तीन वर्ष भइसक्दा यो मुद्दाको सुनुवाइ अवरुद्ध छ। तर, पीडित परिवारको न्यायको लडाइँ थाकेको, थामिएको छैन। “बुबाआमा थाके पनि दाइका हत्यारालाई सजाय दिलाउन हामी जीवनभर जुधिरहन्छौं,” संगम र लक्ष्मी निडर भएर भन्छन्।
दाइकै बाटोमा
दिलीप बितेपछि संगम र लक्ष्मी नै पारिवारिक जिम्मेवारी सम्हाल्ने खम्बा बनेका छन्। दाइको मुद्दा, ऋण र घरव्यवहारको दायित्व बोकिरहेका यी दुईसामु जीर्ण घर, ३५ लाख ऋण, दुई बहिनी र एक भाइको भविष्य, रोगी हजुरबुबा-आमा तथा बुबा-आमाको हेरचाह लगायत चुनौतीका चाङ छन्। तर, उनीहरू दाइ हिंडेको बाटोमा युद्ध जित्न जसरी होमिएका छन्।
बीबीएस सकेकी संगम र बीएड चौथोे वर्ष अध्ययनरत लक्ष्मी दाइकै पदचिह्न पछ्याउँदै वातावरण संरक्षणमा पनि लागिरहेका छन्। घरव्यवहार र सामाजिक काममा सँगै जुट्ने दिदीबहिनीले मुख्य काम भने बाँडेका छन्। लक्ष्मीले दाइको मुद्दाको पाटो सम्हालेकी छन् भने संगम दिलीपको नाममा स्थापित ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ अध्यक्ष भएर संरक्षणमा केन्द्रित छिन्।
घर चलाउन कमाउनुपर्ने दायित्व पनि छ। संगम साँझ-बिहान गाउँका बालबालिकालाई ट्यूसन पढाउँछिन् भने लक्ष्मी धनुषा, मिथिला नगरपालिकास्थित जनता माविमा करार शिक्षक छिन्। यी दुईको साहस र सामाजिक काममा लगन देखेर गाउँका मानिसले ‘एउटा दिलीपलाई मारे, दुई वटा दिलीप जन्मिए’ भन्ने गरेका छन्। “आधा बाटो दाइ हिंड्नुभयो, अब आधा हामी हिंड्नेछौं,” संगम भन्छिन्।
दिलीपको नाममा २०७७ भदौ ३१ मा दर्ता भएर काम गरिरहेको प्रतिष्ठानले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिबाट रु.१५ लाख पाएपछि औरही खोलामा ‘दिलीप चुरे बाटिका’ बनाएको छ। दिलीपको हत्यापछि मधेश प्रदेश सरकारले राहतस्वरूप दिएको रु.पाँच लाख पनि उनीहरूले वाटिका निर्माणमै खर्चिए। ६ कट्टा जग्गामा फैलिएको वाटिकाभित्र बोटबिरुवा रोप्ने, विश्रामस्थल बनाउने लगायत सौन्दर्यीकरण गर्न यस वर्ष प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले रु.२० लाख दिएको छ।
प्रतिष्ठानका लागि विभिन्न सरोकारवाला निकायमा धाउने क्रममा संगम वन मन्त्रालयदेखि संरक्षण कार्यमा सल्लाह लिन पूर्व राष्ट्रपति रामवरण यादवकहाँ पुगेकी छन्। उता, न्यायका लागि अदालत धाइरहेकी बहिनी लक्ष्मी प्रत्येक पेशीमा अदालत जाने, आवश्यक कागजात पुर्याउने, वकीलसँग छलफल गर्ने काममा व्यस्त हुन्छिन्। भन्छिन्, “म पर्यावरणमा लागेकी छु, बहिनीले मुद्दा धाइरहेकी छे। अहिलेको हाम्रो लडाइँ नै यही छ।”
दुवै दिदीबहिनीको योजनामा चुरे दिवस र दिलीपको स्मृति दिवसमा औरही सामुदायिक वनमा वृक्षरोपण गरिनुका साथै मिथिला नगरपालिकाका विद्यालयहरूमा निबन्ध, वक्तृत्वकला लगायत कार्यक्रम हुँदै आएको छ। विभिन्न तालीम लिँदै आएकी संगम अब प्रकृति तथा वातावरण संरक्षणकै क्षेत्रमा काम गर्न चाहन्छिन्।
वातावरण विज्ञानमा स्नातकोत्तर पढ्ने उनको सोच छ। भन्छिन्, “प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले मानिसलाई नै क्षति गर्छ भन्ने बुझें, यसै सम्बन्धी विषय पढेर दाइको अभियानलाई थप फैलाउने चाहना छ।”
दुई छोरीले साहस र क्षमता सावित गर्दै गह्रुँगो जिम्मेवारी उठाएकोमा रामजीवन दङ्ग छन्। “एउटा छोरा त गुमाइसकें, छोरीहरूलाई पनि धम्की नआउने होइन, तर डर हाम्रो रगतमा रहेनछ,” उनी भन्छन्, “नबिराउनू नडराउनू भन्ने मान्यतामा छोरीहरू डटिरहेको देख्दा खुशी छु।”
यसबीच, चार महीनाअघि गत वैशाख १३ गते संगमको धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका, डिगम्बरपुरका कमलबहादुर महतोसँग विवाह भयो। विवाहपछि गाउँ-समाजबाट प्रश्न आउन थाल्यो, “ससुराल जाने जातले माइतीको हिफाजत कति गर्लिन्? प्रतिष्ठानको अध्यक्षबाट संगमलाई हटाएर अब गाउँको पुरुषलाई राख्नुपर्छ।” संगम भने विवाहपछि संरक्षणको अभियानमा आफू कमजोर नभएको बरु श्रीमान्को साथ पाएर अझ प्रभावकारी काम गरिरहेको बताउँदै प्रतिप्रश्न गर्छिन्, “राम्रो काम गरिरहेको छ भने छोरा वा छोरीको विवाह हुँदैमा समस्या हुन्छ र?”
हुन पनि, संगमलाई श्रीमान् कमलले हरेक कुरामा साथ दिँदै आएका छन्। विवाह पूर्व नै संरक्षण अभियानमा सघाउने वाचा गरेका कमल विवाहपश्चात् श्रीपुरमै बसेर संरक्षण कार्यमा श्रीमतीसँगै लागेका छन्। “दिलीप दाजुको नाममा केही गर्ने संगमको सपनामा मेरो जहिल्यै समर्थन र साथ छ,” उनी भन्छन्। संगमका अनुसार, कमल पनि दिलीप जस्तै सत्यको बाटोमा हिंडौं, सामाजिक काम गरौं भन्ने सोच राख्छन्।
श्रीमान्को साथले आफ्नो जिम्मेवारीको बोझ आधा हलुको भएको संगम बताउँछिन्। नारी दिवस, चुरे दिवस लगायत कार्यक्रममा श्रीमतीले मन्तव्य दिएको देख्दा कमल गर्व गर्छन्। श्रीमतीले बोलेको भिडिओ मोबाइलमा देखाउँदै उनी भन्छन्, “हेर्नु त, यस्तो हिम्मतवाला छिन् मेरी बूढी। उसले बोल्दा सबै चूप भएर सुनेका थिए। गाउँभरिमा उनी जत्ति पढेका र बुझेका महिला अरू छैनन् पनि।”
नरोकिएको उत्खनन र धम्की
दिलीपको हत्या भएको डेढ महीनापछि २०७६ फागुन १० मा श्रीपुरका बासिन्दाले औरही खोलामा अवैध उत्खनन गर्न नदिने निर्णय गरे। तर, यो निर्णय पर्सिपल्टै पालना भएन। १२ गते राति नै दर्जनौं टिप्परले खोलाबाट गिटी-बालुवा उठाए। संगमले तत्काल प्रहरीलाई खबर गरिन्। तर, प्रहरीले भन्यो, “यो काम अब हाम्रो होइन, नगरपालिकाको क्षेत्राधिकारमा पर्छ।”
त्यसको एक महीनापछि पाँच वटा डोजर लगाएर उत्खनन भएको उनले देखिन्। उनलाई थाहा थियो- नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७६ अनुसार, नदीमा बालुवा उत्खनन गर्दा सामान्यतया डोजर, एक्जाभेटर, लोडर जस्ता हेभी इक्विपमेन्ट प्रयोग गर्न रोक छ। यसो गरेमा जिल्ला समन्वय समितिले तत्काल ढुवानीहरू जफत गर्न सक्ने अधिकार छ। त्यसैका लागि दुई दिदीबहिनी र गाउँका केही व्यक्तिले प्रहरीलाई बोलाए।
स्थानीय ठेकेदार वेचन शर्मा र ढल्केबर प्रहरी कार्यालय, धनुषाको एक टोली खोलामा आइपुगे। तर, ढल्केबर प्रहरीका तत्कालीन प्रहरी निरीक्षक तेजबहादुर कार्कीले सबैको सामुन्ने संगम र लक्ष्मीको ज्यान लिने धम्की दिए। संगमका अनुसार, प्रहरी निरीक्षक कार्कीले दिलीप मारिए पनि कसैले केही गर्न नसकेको भन्दै उनको टाउकोमा पेस्तोल तेर्स्याए, ‘तिमीहरू पनि अघि मात्र बढे यहीं गोली दाग्दिन्छु।’
त्यसपछि पनि उनीहरूले खोलामा अवैध उत्खनन भएको देखेर प्रहरी, नगरपालिका लगायतलाई जानकारी नगराएका हैनन्। तर, नियामक निकाय कहिल्यै समयमा पुग्दैनन्। बरु उत्खनन गर्ने समूहले अनुगमनको सूचना पहिल्यै पाउँछ र भाग्छ। अर्थात्, प्रहरी र प्रशासनको मिलेमतोमा अवैध कामले छूट र दोहनकारीले उन्मुक्ति पाइरहेका छन्।
गत असार १९ गते हिमाल संवाददातालाई दाइको हत्या भएको र अन्त्येष्टि गरिएको स्थान देखाउन लक्ष्मीले औरही खोलामा पुर्याइन्। जहाँ मापदण्ड विपरीत गिट्टी-बालुवा उत्खनन गरिरहेका दुई वटा डोजर र चार वटा ट्र्याक्टर थिए। ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ अनुसार, असारदेखि भदौसम्म नदीजन्य वस्तुको उत्खनन गर्न पाइँदैन। लक्ष्मीले ढल्केबर प्रहरीलाई फोन गर्न खोजिन्। तर, आफूहरूलाई ढुङ्गागिट्टी निकाल्न नरोक्न र क्रसर क्षेत्रमा जान निषेध गर्ने गरी धनुषा जिल्ला अदालतले अन्तरिम आदेश दिएको सम्झिइन्।
लक्ष्मीले यस संवाददातालाई तत्काल ढल्केबर प्रहरी कार्यालयमा फोन गर्न आग्रह गरिन्। उताबाट जवाफ आयो, “हामी त्यहाँ पुग्दा उनीहरू भागिहाल्छन्। हेरौं, के हुन्छ।” तर, एक घण्टा बित्दा पनि उनीहरू आएनन्। बरु प्रहरीलाई फोन गरेको केही मिनेट नबित्दै सबै डोजर र ट्र्याक्टरहरू खोलाबाट निस्किए। “यहाँ यस्तै छ। प्रहरी, नगरपालिका, नेता, क्रसर सञ्चालक सबैको मिलेमतो हुन्छ,” निराश लक्ष्मीले भनिन्।
जुन खोलाको दोहन रोक्ने क्रममा दिलीप मारिए, त्यहाँ उत्खनन रोकिएकै छैन। झन् झन् खोलाको दुर्दशा भएको वातावरण संरक्षण अभियन्ताहरू बताउँछन्। नेपाल पानी सदुपयोग फाउन्डेशनका डा. चिरञ्जीवी भट्टराईको टोलीको एक वर्षअघिको अध्ययनले औरही खोलामा ६ फिटभन्दा गहिरो खनिएको पाइएको छ। “ठेकेदारहरूबीच कसरी बढीभन्दा बढी उत्खनन गरेर पैसा कमाउने भन्ने प्रतिस्पर्धा चल्दा खोलाको अस्तित्व धरापमा छ,” भट्टराई भन्छन्।
स्थानीय बासिन्दाका अनुसार, तीन वर्षअघि खोला एक किलोमिटर खनिएको थियो भने अहिले १० किलोमिटर क्षेत्रमा खनिइसकेको छ। खोलामा गएर उत्खननको विरोध गर्दा क्रसर सञ्चालकहरूले काट्छु, मार्छु भनेपछि गाउँलेहरू चूपचाप भएको एक बासिन्दा बताउँछन्।
गत वर्ष दिलीपकी फुपूका छोरा आदित्यले चुरियामाई क्रसर उद्योगकै सञ्चालक विनोद महतोलाई अवैध उत्खननको धन्दा रोक्न आग्रह गरेका थिए। पछि, विनोदका मान्छे आएर ‘धेरै बोले दिलीपको जस्तै हालत गर्ने’ धम्की दिएपछि आदित्य श्रीपुर छाडेर ६ महीनासम्म धनुषाकै गौशालामा गएर बसे। हाल धनुषा महेन्द्रनगरको रेडियो स्वागतम्मा कार्यरत उनी भन्छन्, “केही व्यक्ति घरमा आएर आमालाई तेरो छोरालाई दिलीपको हालत गरिदिन्छु भनेर धम्क्याएछन्, त्यसपछि आमाले मलाई घरमा बस्न दिनुभएन।”
यता, दिलीपको परिवारलाई ज्यान मार्ने धम्की र मुद्दा फिर्ता लिन दबाब आउनु सामान्य भइसकेको छ। क्रसर सञ्चालकले गाउँघरका व्यक्ति लगाएर मुद्दा फिर्ता लिन रामजीवनलाई आर्थिक प्रलोभन पनि दिने गरेका छन्। ‘बितेको छोरा नफर्किने, बरु घरमा भएका सदस्यको रेखदेख र भविष्य सोच्नुपर्ने’ सुझाव सहित एक करोड रुपैयाँसम्मको प्रस्ताव आएको थियो। तर, दिलीपको परिवारलाई न्यायको व्यग्र पर्खाइ मात्र छ।
संगम र लक्ष्मीलाई घरबाट झोला बोकेर निस्किनासाथ मोटरसाइकलमा पछ्याउने क्रम अहिले पनि जारी छ। “हामी कहाँ जान्छौं, कसलाई भेट्छौं सबै गतिविधिको निगरानी गरेका छन्, तर हामी यो कुराले आत्तिएर र डराएर मुद्दा फिर्ता लिँदैनौं,” संगम भन्छिन्।
पर्यावरणमा लाग्दालाग्दै ज्यान गुमाएका दिलीपको मुद्दालाई किनारा लगाएर हत्यारालाई जेल पुर्याउनेसँगै यो परिवारको अर्को चाहना छ, दिलीपलाई ‘पर्यावरण शहीद’ घोषणा गराउने। तर, वातावरणीय मुद्दालाई खासै प्राथमिकता नदिइने र त्यसमाथि शक्तिको चलखेल हुने देशमा यस्तो सम्मान मिल्न उनीहरू कठिन देख्छन्। “यद्यपि हामी यसमा डटिरहनेछौं,” दिदीबहिनी नै भन्छन्।
र, यो अठोट
संगम र लक्ष्मी वेलावेला सोच्छन्, ‘दाइको हत्या नभएको हुँदो हो त हामी कस्तो अवस्थामा हुन्थ्यौं होला?’ लक्ष्मीको अनुमानमा, दिलीपले सपना देखे अनुसार दुवै बहिनी सरकारी जागीरे भइसक्थे वा जनकपुरमा लोक सेवाको तयारी कक्षा लिन लाउँथे। तर, दिलीप नहुँदा सपनाको लिक फुस्किएर उनीहरूको जिन्दगी अन्तै मोडियो।
परिवारका चार सदस्य पढ्ने, बुबा दमको रोगी हुँदा उनीहरूलाई ऋणमाथि ऋणले थिचेको छ। पछिल्लो चार महीनामा रामजीवन तीन पटक आईसीयू भर्ना हुँदा रु.दुई लाख खर्च भयो। पछिल्लो आठ वर्षमा दिलीपलाई पढाउँदा, तीन छोरीको विवाह गर्दा, दिलीपको मुद्दा खर्च, ट्र्याक्टर लगायतको ३५ लाख ऋण छ। १० कट्टा जमीन ब्याङ्कमा धितो राखेर लिएको ऋणबाट घर चलाइरहेका छन्। रोगी बुबालाई उनीहरूले ऋणबारे बताएका छैनन्।
दुई दिदीबहिनी पर्यावरण संरक्षणको अभियानमा दाइको हत्या भएको औरही खोलामा अवैध उत्खनन बन्द गराइछाड्ने अठोटमा छन्। ज्यान जोखिममै राखेर पनि दोहन विरुद्ध लड्न कटिबद्ध छन्। त्यसैका लागि अहिले उनीहरूले औरही खोलामा हुँदै आएको अवैध उत्खननबारे तथ्य सङ्कलन गरेर सर्वसाधारणमा फैलाउन थालेका छन्। ‘औरही, जलाद र जगधर खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७५’ मा दिलीपको हत्यासँग जोडिएको चुरियामाई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्ड पनि पालना नगरेको उल्लेख छ।
यसका आधारमा उक्त उद्योगलाई सरकारले कारबाही नगरे पनि यो तथ्य दिदीबहिनीले सार्वजनिक कार्यक्रमहरूमा नागरिकसम्म पुर्याउने गरेका छन्। खास गरी संगम वेलावेला मिथिला नगरपालिकाका विभिन्न विद्यालयमा चुरे संरक्षणको महत्त्वबारे अतिरिक्त कक्षा लिन जाँदा यी तथ्य सुनाउँछिन्। “बालबालिकालाई अहिलेबाटै पर्यावरणको महत्त्व बुझाए भोलि उनीहरूले पनि बोल्छन्,” उनी भन्छिन्।
लक्ष्मीलाई भने आफूहरू जस्तै व्यक्तिगत र संस्थागत रूपमा संरक्षण अभियान भइरहे पनि राज्यले चुरे संरक्षण ऐन नल्याएसम्म चुरे क्षेत्रको दोहन नरोकिने र यसकै आडमा अपराध पनि बढिरहने चिन्ता छ। चुरे दोहनका कारण तराईको जमीन मरुभूमि बन्दै गएको भन्दै संरक्षणका लागि एकीकृत चुरे ऐन ल्याउन संघीय संसद्मा पनि आवाज उठ्दै आएको छ।
प्रतिनिधि सभामा साउन ४ गते नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चुरे दोहन नियन्त्रण नहुँदा हत्याहिंसाको रूप लिँदै गएको उल्लेख गर्दै भनेका थिए, “दिलीप महतोको क्रसर माफियाहरूले गरेको निर्मम हत्याले चुरे दोहनमा संलग्न गिरोहको भित्री रूप उजागर गरिसकेको छ। हामीले यस्ता माफियाहरूको कारोबार बन्द गर्ने ऐन ल्याउनुपर्छ।”
महतो दिदीबहिनी भने संसद् र विभिन्न ठूला सेमिनारमा बहस भइरहँदा तराईका असंख्य नदीनाला दोहन भइरहने भएकाले राज्य नताते नागरिक स्तरबाटै बोल्नुपर्नेमा जोड दिन्छन् जुन उनीहरूले गर्दै आएका छन्। संरक्षणको बाटोमा हिंडिरहने अठोट गरेका उनीहरू यो अभियानमा कहिल्यै थाक्नु नपरोस् भन्दै कामना पनि गर्छन्।
यो अठोट उनीहरूले उति वेलै गरेका थिए, जति वेला दिलीप इन्जिनीयरिङमा स्नातकको अन्तिम सेमेस्टरमा उत्तीर्ण भएको खबर उनी बितेको ३२औं दिनमा थाहा पाए। दाइ बितेपछि पाएको खबरले कैयौं दिन उनीहरूका आँसु रोकिएनन्। “हामीले सोच्यौं, दाइ हुनुभएको भए हामीले सहजै पढ्न पाउँथ्यौं र अहिले जस्तो खोला उत्खनन पनि हुने थिएन,” संगम भन्छिन्, “त्यसैले संरक्षणमा थोरै भए पनि काम गरे दाइको सपना पूरा हुनेछ भन्ने लागेर हामी जुटिरहेका छौं।”
आरोपितहरूलाई तान्ने त्यो बयान
दिलीप महतोको हत्यामा संलग्न भएको अभियोगमा क्रसर मालिकहरू विपिनकुमार महतो र विनोद महतो सहित सात जनालाई प्रतिवादी बनाइएको थियो। घटनापछि ६ जना पक्राउ परे भने विनोद एक वर्षसम्म फरार भए। अभियुक्तहरूले प्रहरीमा एउटा र अदालतमा अर्कै बयान दिए। तर, एउटा झूट लुकाउन अर्को झूट बोल्ने क्रममा अन्ततः एक जनाको बयानले प्रतिवादीहरूलाई कानूनी कठघरामा ल्यायो।
प्रहरीलाई दिएको बयानमा टिप्पर चालक मुनीन्द्र महतोले दिलीपले भिडिओ खिचेपछि झगडा भएर कुटपिट गरिएको र क्रसर सञ्चालकले टिप्परले किचिदिए ५० हजार रुपैयाँ दिने प्रलोभन दिएपछि आफूले किचिदिएको स्विकारे। क्रसर मालिक विपिनले भने कुटपिट गरेको र हत्या गर्न लगाएको स्विकारेनन्।
यस्तै, लोडर चालक जितेन्द्रकुमार महतोले घाइते भएका दिलीपलाई आफूले उठाएर टिप्परको चक्कामा राखेको बयान दिए। क्रसरका मिस्त्री शत्रुघन महतोले जितेन्द्रसँग मिलेर टिप्परको पछाडिको चक्कामा हालेर मारेको स्विकारे।
घटनाको दिन दिलीपसँग औरही खोला गएका उनकै साथी रोशनकुमार यादवले क्रसरका मालिकहरूले दिलीपलाई पिटेको, टिप्पर चालक मुनीन्द्रले गाडीबाट रड ल्याएर हानेको र टिप्परले किचेको देखेको बयान दिए। टिप्परका सहचालक जितेन्द्र भनिने सत्यनारायण महतोले भने प्रहरी बयानमा झगडा भएर दिलीपलाई कुटपिट गरिएको देखेको बताए।
तर, जब उनीहरूलाई बयानका लागि अदालत लगियो, हत्यालाई दुर्घटना बनाउन उनीहरूले नयाँ कथा रच्न थाले। मुनीन्द्रले घटना २०७६ पुस २५ गते भएकोमा आफू २३ गतेदेखि नै बिदामा भएको बताए। सत्यनारायणले होटलमा खाना खाएर घटना भएको भनिएको समय अगावै घर गएको बयान दिए। जितेन्द्रले उक्त दिन आफू भाइको विवाहमा भएको बताए। उनीहरूले प्रहरीमा दिएको बयानको ठीक विपरीत हत्या भएको अस्वीकार गर्दै घटना भएको कसैले नदेखेको, घटनास्थलमा कोही नभएको मात्र बताइरहे।
अन्त्यमा जब रोशनको बयानको पालो आयो, प्रहरीसँगको बयानमा टिप्परले किचेर मारेको बताएका उनले अदालतमा भने आफू त्यस वेला अर्कै टिप्परलाई हेर्न थाल्दा यता के भयो थाहै नभएको बताए। तर, घटनास्थलमा क्रसर मालिक विपिनलाई देखेको कुरा लुकाउन सकेनन्। जबकि, हत्याका मुख्य योजनाकार भनिएका विपिनले घटना हुँदा आफू घरमै भएको बयान दिएका थिए। रोशनले अदालतमा भने, “अचानक गाडीको बत्ती बलेपछि दिलीपलाई कुल्चेको देखें। यो कसरी भयो भनी सोध्दा विपिन केही बोलेन।”
यस्तै, अन्य आरोपितहरू घटनास्थलमा नभएको पनि रोशनले बताएनन्। “अन्य चार आरोपित घटनास्थलमा थिएनन्, र यिनले मारेका हैनन्” भनी सोध्दा उनले होइनन् भन्न नसक्नुले आरोपितहरूलाई अदालतले नछाडेको अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन्। “रोशनले हत्याका आरोपितहरूलाई घटनास्थलमा देखेको बताएपछि यो बयान आरोपितहरू हत्या मुद्दामा तानिने अदालतको सबुत बन्यो,” उनी भन्छन्। त्यही बयानका आधारमा सबै प्रतिवादीलाई थप अनुसन्धानका लागि थुनामा राखियो। तर, तीमध्ये विनोद, सत्यनारायण र रोशनकुमार भने धरौटीमा छुटिसकेका छन्।
यो घटनाको दिन दिलीपसँगै औरही खोला नजिकैको लक्ष्मी चोकसम्म गएका मिथिला नगरपालिका-५ का तत्कालीन वडाध्यक्ष श्यामबाबु यादवलाई भने प्रतिवादी बनाइएको थिएन। गाउँमा मोटरसाइकल चोरी भयो भनेपछि आफू खोला नपुगी फर्किएको उनको भनाइ थियो। यादवलाई पनि प्रतिवादी बनाइनुपर्ने कानून व्यवसायीहरूको मागपछि गत असार २१ मा धनुषा जिल्ला अदालतले पहिलो पटक यादवलाई बकपत्र गराएको छ।
संरक्षणको क्षेत्रमा भएको यस्तो जघन्य अपराध भए पनि दिलीप हत्याको मुद्दाको सुनुवाइ हुन सकेको छैन। मुद्दाको पेसी १० पटक सरिसकेको छ। पछिल्लो पटक जिल्ला अदालतले साउन ३० मा पेसी तोकेको थियो।
(हिमालको २०७९ भदौ अंकबाट।)