सामाजिक सञ्जालमा नेपाल प्रहरीको छाप दुरुपयोग
![सामाजिक सञ्जालमा नेपाल प्रहरीको छाप दुरुपयोग](https://www.himalkhabar.com/uploads/posts/800X600/beer_gorkhali_1660030209.jpg)
कुनै पनि सार्वजनिक संस्था वा सरकारी कार्यालयको छाप वा लोगो भएको तस्वीर विना अनुमति सामाजिक सञ्जालमा प्रयोग गर्न पाइँदैन। प्रयोग गरिए गैरकानूनी मानिन्छ।
तर‚ ट्वीटरमा एक व्यक्तिले नेपाल प्रहरीको छाप भएको तस्वीर प्रयोग गरेका छन्। ६ महीनादेखि ती व्यक्तिले वीरगोर्खाली (@beergorkhali_ ) नामक ह्यान्डलबाट ट्वीटर प्रयोग गर्दै आएका छन्।
विभिन्न विषयमा ट्वीट गर्ने उक्त एकाउन्टमा २२७ फलोअर छन्। उनले उक्त एकाउन्टबाट आज बिहान मात्रै ‘गाँजा कहाँ पाइन्छ’ भनेर पोष्ट गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले उक्त ट्वीटर प्रयोगकर्ताले नेपाल प्रहरीको छाप दुरुपयोग गरेको बताए। प्रहरीको अनुमति विना यसरी प्रयोग गरे कारबाही हुने राईको भनाइ छ।
त्यस्तै, नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले उक्त व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने बताए। ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू प्रकाशित गरे एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ। रायले उक्त व्यक्ति फेला पर्ने बित्तिकै कानूनी दायरामा ल्याउने बताए।