कानून विनै भीआईपीका नाममा पीएसओ खटाउने प्रवृत्ति झन् बढ्यो : महालेखा
बहालवाला र पूर्व विशिष्ट पदाधिकारीको सुरक्षार्थ खटाइने अंगरक्षक (पीएसओ)को संख्या बढेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।
आइतबार सार्वजनिक भएको महालेखाको वार्षिक प्रतिवेदनमा २०७९ सालभन्दा २०८० सालमा वैयक्तिक सुरक्षामा खटिने प्रहरी र सशस्त्र प्रहरी बलको संख्या बढेको उल्लेख छ। प्रतिवेदन अनुसार २०७९ सालमा दुवै सुरक्षा अंगबाट ९०३ जना खटिएकोमा २०८० सालमा एक हजार २४७ जनालाई विशिष्ट व्यक्तिको सुरक्षार्थ तैनाथ गरिएको छ।
शान्ति सुरक्षा बाहेक अन्य काममा समेत खटाउने गरी सरकारले सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएको जनाइएको छ। कानून विनै जथाभावी अंगरक्षकका नाममा सुरक्षाकर्मी खटाउने परिपाटी अन्त्य गर्न महालेखाले आफ्नो हरेक प्रतिवेदनमा औंल्याउने गरेको भए पनि सरकाले त्यसको पालना गरेको छैन। कार्यविधिकै भरमा गृह मन्त्रालयले सुरक्षा चुनौती बढेको भन्दै विशिष्ट र पूर्व विशिष्ट पदाधिकारीका लागि सुरक्षाकर्मी खटाउँदै आएको छ।
विशिष्ट व्यक्तिको तह र उनीहरूलाई उपलब्ध गराउने सुविधाबारे ऐन बनाउन २०६८ सालमा सर्वोच्च अदालतले सरकारलाई आदेश दिए पनि अहिलेसम्म बनेको छैन। कानूनको अभावमा आवश्यकता केलाएर भन्दा पनि शक्ति र व्यक्तिगत पहुँचका भरमा सरकारले मनलाग्दी तवरमा वैयक्तिक सुरक्षाकर्मी खटाउँदै आएको छ। “विशिष्ट व्यक्तिहरूको सुरक्षा जोखिमका आधारमा कानूनी व्यवस्था गरेर मात्र सुरक्षाकर्मी उपलब्ध गराउनुपर्छ,” प्रतिवेदनमा भनिएको छ।