सशस्त्र प्रहरी चौबीसै घन्टा सीमा गस्तीमा
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।
यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटून सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन शुरू गरिएको छ। अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लटून टोली चौबीसै घन्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।
उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र सहित फौज परिचालन गरिएको बताए।
यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ। सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेसहरू समेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्री सहित परिचालित हुनेछ।
त्यस्तै, एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिंकअप’ गरी गस्तीलाई चक्रका रूपमा निरन्तरता दिने जनाइएको छ। -रासस