तीन जनालाई अन्तरदृष्टि पुरस्कार
अपाङ्गता भएका व्यक्तिलाई प्रेरणा प्रदान गर्नेहरूलाई दिइने अन्तरदृष्टि पुरस्कार घोषणा गरिएको छ।
यस वर्षको अन्तरदृष्टि नमूना शिक्षक पुरस्कार कपिलवस्तुको सिद्धार्थ स्मारक माविका शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिने भएको छ। शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोण लगायतलाई आधार मानी विद्यार्थीले छनोट गरे अनुसार शिक्षक पन्थीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको अन्तरदृष्टि पुरस्कार समितिले जनाएको छ। यो पुरस्कारको राशि रु.२० हजार रहेको छ।
त्यस्तै, अन्तरदृष्टि हातेमालो पुरस्कार कपिलवस्तुको सिद्धार्थ स्मारक माविकी विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिने भएको छ। कक्षा ८ मा अध्ययनरत भट्टराईलाई अपाङ्गता भएका विद्यार्थीले छनोट गरेका आधारमा पुरस्कार प्रदान गरिने भएको हो। यो पुरस्कारका लागि अपाङ्गता नभएका विद्यार्थीले आफूहरूसँग गर्ने व्यवहार, सहयोगी भूमिका र सिकाइको आदानप्रदानका आधारमा अपाङ्गता भएका विद्यार्थीले छनोट गर्छन्। यो पुरस्कारको राशि रु.१० हजार रहेको छ।
यस वर्षको अन्तरदृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकार विद्या राईलाई प्रदान गरिने भएको छ। कान्तिपुरमा कार्यरत राईले पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोण सहित उनीहरूको समावेशी विकास र समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेलेकोमा पुरस्कार प्रदान गरिन लागेको समितिले जनाएको छ। यो पुरस्कारको राशि रु.१० हजार छ।
तीन जनालाई वसन्त पञ्चमीका दिन पुरस्कार प्रदान गरिने समितिका संयोजक होमनाथ अर्यालले जनाएका छन्। तीनै पुरस्कार डा. कमल लामिछानेले स्थापना गरेका हुन्।