खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको पहिचान सम्मान
![खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको पहिचान सम्मान](https://www.himalkhabar.com/uploads/posts/800X600/pahichan_samman_1618714572.jpg)
लेखक खगेन्द्र संग्रौलालाई ४ वैशाखमा रू.४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’बाट सम्मानित गरिएको छ। उनलाई पहिचान पुरस्कार कोषले सम्मान प्रदान गरेको हो।
काठमाडौँमा भएको कार्यक्रममा पहिचान पुरस्कार कोषका तर्फबाट नरेश काङमाङ राईले उनलाई सम्मानको रकम र ताम्रपत्र हस्तान्तरण गरे। पाँच दशकभन्दा लामो समयदेखि निरन्तर किरानाकृत नागरिकको आवाजलाई लेखनको माध्यमबाट पहरेदारी गरिरहेको कारण उनलाई सम्मान गरिएको कोषले जनाएको छ। कार्यक्रममा युवा नेता रामकुमारी झाँक्री र अजम्बर काङमाङ तथा साहित्यकार राजन मुकारुङले संग्रौलाबारे मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वैरागी काइला उपस्थित हुन नसकेपछि उनले अडियो सन्देश पठाएका थिए। सम्मानित लेखक संग्रौलाले प्रशंसामा धैर ठूलो शक्ति हुने भन्दै यसले आफ्नो कर्मको अर्थ बोध पनि गराउने बताए। उनले भने, “तपाईंलाई आफ्नो क्षेत्रमा थप क्रियाशील बन्न, सिर्जनशील बन्न, समर्पित बन्न प्रेरित गर्छ। प्रशंसाले तपाईंको आत्मबल बढाउँछ।”
ऐतिहासिक रूपमा दबाइएका जातिसहित संस्कृति मासिएका, भूमि खोसिएका, भाषा दबिएका, सारा सभ्यता खलबल्याइएका जातिहरूलाई ऐतिहासिक रूपमा सम्मान गर्दै तिनलाई विकासको प्रतिस्पर्धामा अवसर दिनुपर्ने उनले बताए।