साझा बस र राजा महेन्द्र
![साझा बस र राजा महेन्द्र](https://www.himalkhabar.com/tinymce/file_manager/source/business/Sajha%20Bus.jpg)
रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो।
![](/tinymce/file_manager/source/people/bhsirab_rishal.jpg?1556200523306)
२०१८ सालको काठमाडौं, सवारी साधन निकै कम संख्यामा उपलब्ध थिए । त्यो समयमा सडकमै तामझम देखिने गरी साझा यातायात का ६ वटा बस लस्कर लागेर नारायणहिटी दरबारमा पसे । सडक छेउछाउमा रमितेहरू थुप्रै । खासमा राजा महेन्द्रले साझाका भर्खर किनिएका बस हेर्न दरबारमा झिकाएका रहेछन् ।
महेन्द्रले ती बस हेरे मात्र कि, चढे पनि भन्नेबारे थाहा भएन ! तर बजारमा राजाले साझा बस चढे भन्ने हल्ला भयो । काठमाडौं उपत्यकामा सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो यातायात सुविधा होस् भन्ने उद्देश्यले राजा महेन्द्रकै अग्रसरतामा साझा यातायात शुरू भएको थियो ।
ठूला बस किन्न राजा आफैंले रु.४ लाख दिएका रहेछन्, त्यही रकमबाट साझा लिमिटेड अन्तर्गतको साझा यातायात ले पहिलो खेपमा जापानबाट ६ वटा बस ल्याएको थियो ।
काठमाडौं खाल्डोमा सार्वजनिक यातायातका सुव्यवस्थित साधन भए नजिकैका गाउँहरूमा उत्पादन हुने फलफूल र तरकारी बेच्न सहज भएर किसान रमाउने र यता शहरका मानिसले पनि ताजा खानेकुरा पाउने । राजा महेन्द्रले सर्वसाधारणले खेपिरहेको यातायात असुविधासँगै यो पाटो पनि शायद बुझेका थिए ।
काठमाडौंमा साझा यातायात, सन् १९६५ । तस्वीर: commons.wikimedia.orgरणनीतिको ‘साझा’
संसदीय व्यवस्था भङ्ग गरी दलविहीन पञ्चायत शासनले पाइला चालिरहेको समयमा साझा यातायात सञ्चालनमा ल्याइएको थियो । संसदमा दुई तृतीयांश बहुमत भएको नेपाली कांग्रेसको सरकार भङ्ग गरी तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सहितका नेताहरूलाई बन्दी बनाइएको थियो ।
राजा महेन्द्र चतुर शासक थिए । राजनीतिक अधिकार अपहरित भएको अवस्थामा जनतालाई केही न केही नयाँ कुराले सम्बोधन गर्नुपर्ने कुरा उनले शायद मनन गरे । त्यही पृष्ठभूमिमा सर्वसाधारणको जीवनमा प्रत्यक्ष छुने विषयलाई व्यवस्थित गर्न सके पञ्चायतलाई केही टेवा पुग्ला भनेर ‘साझा’ शब्दलाई रणनीतिगत रूपमा उनले प्रयोग गरेको हुनुपर्छ । त्यस क्रममा केन्द्रीय तहको एउटा संस्था नै बनाइयो ।
९ साउन २०१८ मा तत्कालीन राष्ट्रिय निर्देशन मन्त्री विश्वबन्धु थापाको अगुवाइमा नयाँसडकको खिचापोखरीस्थित उद्योगी जुद्धबहादुर श्रेष्ठको घर मीरा होम मा सरकारी मानिस र समाजका क्रियाशील केही मानिस सहितको भेला राखियो ।
त्यसै महीनाको २३ गते फेरि अर्को भेला गरेर मन्त्री थापाकै अध्यक्षतामा ‘साझा लिमिटेड’ नामको संस्था दर्ता भयो । राजा महेन्द्र संस्थाको संरक्षकमा बसे । उक्त संस्थाले औषधि पसल, उपभोग्य सामान बिक्री गर्ने पसल, यातायात सेवाका साथै साझा प्रकाशन पनि सञ्चालन गर्ने निर्णय गर्यो ।
संस्थाका सदस्यहरूमा अमृतनाथ रेग्मी, कमलमणि दीक्षित, बुद्धाचार्य शाक्य, बुद्धबज्र बज्राचार्य, कृष्णबम मल्ल, जुद्धबहादुर श्रेष्ठ, तारकबहादुर शाह, दयावीरसिंह कंसाकार, धु्रवमान सिंह लगायत रहे भने कार्यकारी सचिवमा शिवराज श्रेष्ठ नियुक्त भए । तत्कालीन सहकारी संस्था ऐन, २०१६ अन्तर्गत साझा यातायात दर्ता भएर १ साउन २०१९ देखि काठमाडौंको नगर क्षेत्रमा बस सेवा शुरू भएको थियो ।
थला पार्ने ‘कोसेली’ प्रथा
साझा यातायातले नियमित सेवा र समयको पालनालाई उच्च प्राथमिकता दिन्थ्यो । साझा बस भनेपछि समयमा गुड्ने र समयमै गन्तव्यमा पुग्ने परिचय स्थापित भएको थियो । सेवा चुस्त दुरुस्त थियो । तर, बिस्तारै यो संस्थामा रोग पस्यो । चालक र कण्डक्टर मोटाउन, संस्था दुब्लाउन थाल्यो । साझामा ‘कोसेली’ बाट भ्रष्टाचार पसेको हो ।
साझा बस चढ्दा टिकट अनिवार्य काट्नुपथ्र्यो । तर, कण्डक्टर र चालकहरूले यात्रुलाई टिकट नदिई पैसा हिनामिना गर्ने चलन मौलाउन थाल्यो । उनीहरूले विभिन्न ठाउँबाट घ्यू, तामा लगायतका कोसेली ल्याएर हाकिमलाई खुशी पार्ने र जसबापत तिनका गलत खेलोमा आँखा चिम्लिदिने प्रवृत्ति बढ्यो । सस्तो र भरपर्दो सेवाका लागि यात्रुमाझ लोकप्रिय साझा यातायात यसरी बिस्तारै थला पर्यो ।
साझाका अन्य संस्थाको पनि अधोगति देखिन थाल्यो । साझा स्वास्थ्य सेवा सहकारी संस्थाले २४सै घण्टा सेवा दिन थालेपछि निजी क्षेत्रमा पनि औषधि सस्तो हुन थालेको थियो ।
साझा पसल उस्तै लोकप्रिय थियो । साझा प्रकाशन पनि निकै वर्ष राम्ररी सञ्चालन भएको थियो । तर, ती सबै खस्किंदै गए । कहिले विघटन, कहिले पुनस्र्थापना भई लामो दूरीमा बस सञ्चालन, फेरि अवरुद्ध, पुनः आरम्भ हुने क्रममा साझा यातायात भने पछिल्लो पटक २०७० सालदेखि नयाँ गतिका साथ सञ्चालन भइरहेको छ ।