वन्यजन्तुको आवातजावत बढेपछि सर्वसाधारणलाई वन प्रवेशमा रोक
रौतहटको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले सर्वसाधारणलाई वन प्रवेशमा रोक लगाएको छ। चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा बाघलगायतका अन्य वन्यजन्तुको आवतजावत बढेको भन्दै डिभिजन वन कार्यालयले सर्वसाधारणलाई वन प्रवेशमा रोक लगाएको हो।
मंगलबार चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा घाँस लिन गएका संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। उनको शव प्रहरीले बुधवार फेला पारेको थियो। संगमलाई खोज्न गएका युवाको समूहमाथि बाघले आक्रमण गर्दा दुईजना घाइते भएका थिए।
त्यसपछि जङ्गली जनावरको आक्रमणबाट थप मानवीय क्षति हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले जथाभावी जङ्गल प्रवेश नगर्न सर्वसाधारणलाई अपील गरेको हो।