‘आदर्श आमा पुरस्कार’ अधिकारकर्मी सिर्जना कार्कीलाई
‘राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९’ दोलखाकी अधिकारकर्मी सृजना कार्कीले पाउने भएकी छन्। गौरादेवी ओली स्मृति प्रतिष्ठानले हिंसा पीडित महिला र बालबालिकाको क्षेत्रमा काम गरेबापत कार्कीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
कार्की झण्डै दुई दशकदेखि हिंसा पीडित महिला र बालबालिकाको लागि काम गर्दै आएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, "१८ वर्षदेखि आफ्नो समय र उर्जा संकटमा परेका बालबालिका, ज्येष्ठ र अपांग महिला, मानसिक स्वास्थ्य समस्याका कारण समस्यामा परेका महिला र हिंसा तथा बलात्कारको घटनापछि पीडित भएका महिला र बालबालिकाहरुको पुनस्थापना कार्यमा समर्पित भएकाले यो पुरस्कार प्रदान गरिन्छ।"
झापामा २०६७ सालमा स्थापित प्रतिष्ठानले महिला, कृषि, बालबालिका र पत्रकारिता क्षेत्रमा काम गर्नेहरुलाई पनि पुरस्कार दिंदै आएको जनाएको छ।
दोलखाको झुले निवासी कार्कीले आवाज नेपाल नामक संस्था स्थापना गरी हिंसा पीडित तथा असहायहरुको पुनस्र्थापनाका लागि सुरक्षित आवास गृह समेत सञ्चालन गरेर पालनपोषण, शिक्षादीक्षा र अधिकारका लागि काम गरिरहेकी छन्।
उनले यसअघि एन-पीस इन्टरनेशनल अवार्डका साथै विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गरिसकेकी छन्।