सेनाले समुदायलाई हस्तान्तरण गर्यो विभिन्न आयोजना
नेपाली सेनाले देशका विभिन्न क्षेत्रमा शीघ्र प्रभाव आयोजना अन्तर्गत बनाएका भवन तथा अन्य संरचना समुदायलाई हस्तान्तरण गरेको छ।
स्थानीयस्तरको आवश्यकता पहिचान गरी छोटो समय तथा थोरै बजेटमा गरिने विकास, निर्माण र सामाजिक सेवाका आयोजनालाई शीघ्र प्रभाव आयोजना भन्ने गरिन्छ।
न्यून आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरूबाट दूरदराजमा रहेका नागरिक लाभान्वित हुने अपेक्षा राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसअन्तर्गत मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रसघर र शौचालयसहितको हाटबजार निर्माण गरी हस्तान्तरण गरिएको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड पदमार्ग अन्तर्गत रेलिङ्ग, प्रतिक्षालय र सेड घर, कर्णाली मावि तथा बहिरा मावि जुम्लामा विद्यालय भवन, खेलमैदान तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको सेनाले जनाएको छ।
यसैगरी, गोरखाको नेपाल राष्ट्रिय भूपु सैनिक आवासीय विद्यालयमा भवन र रिटेनिङ्ग वाल निर्माण गरेर हस्तान्तरण गरिएको छ।