मन्त्री भट्टराईद्वारा आफ्नो जन्मदिनमा एसिड आक्रमणबाट पीडित मुस्कानलाई आर्थिक सहयोग
![मन्त्री भट्टराईद्वारा आफ्नो जन्मदिनमा एसिड आक्रमणबाट पीडित मुस्कानलाई आर्थिक सहयोग](https://www.himalkhabar.com/uploads/posts/800X600/Yogesh-Bhattarai-with-Muskan_1599380026.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।
मन्त्री भट्टराईले आज मुस्कानलाई रू. ५० हजार प्रदान गरेका हुन्। मन्त्री भट्टराईले हरेक वर्ष जन्मदिनको दिन विपन्न, असहाय तथा पीडित बालबालिकालाई सहयोग गर्दै आएको उनको सचिवालयले जनाएको छ।
मन्त्री भट्टराईले मुस्कानसँग गत माघमा एक कार्यक्रममा भेट भएको र उनको दमदार भाषण सुनेको भन्दै प्रशंसा गरेका छन्। मुस्कानको शिक्षाका लागि आफ्नो एक महीनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको पनि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मुस्कानले डाक्टर बन्ने इच्छा रहेको बताएकाले उनको इच्छा पूरा हुने विश्वास लिएको मन्त्री भट्टराईले लेखेका छन्।
एक वर्षअघि विद्यालय जाने क्रममा मुस्कानलाई वीरगञ्जकै दुई युवाले एसिड हानेका थिए। त्यसयता उनी उपचारको लागि परिवारसँगै काठमाडौंमै छिन्।
कक्षा ९ मा अध्ययनरत मुस्कानले केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर आफ्नो पीडा र पढ्ने लक्ष्य सुनाएकी थिइन्।