दस्तावेज आइतबार, साउन १८, २०७७

मुर्मी भोट्या होइनन्, तामाङ

हिमालखबर

मुर्मी भोट्या होइनन्, तामाङ
तस्वीरहरु साैजन्य : नेत्र तामाङ
राजकुमार दिक्पाल

ऐतिहासिक तथ्यहरुले शासकवर्गले लामो समयसम्म ‘मुर्मी भोट्या’ भनेका तामाङ काठमाडौं उपत्यकाका प्राचीन वासिन्दा भएको आधार दिन्छ।

अहिले जसले आफ्नो जातथरमा तामाङ लेख्छन्, उनीहरुलाई तत्कालीन शासक वर्गले ‘मुर्मी भोट्या’ जातथरले सम्बोधन गर्थे। अधिकांश ऐतिहासिक कागजपत्रहरुमा पनि तामाङको ठाउँमा मुर्मी भोट्या नै उल्लेख भएको पाइन्छ।

तामाङहरु नेपालका प्राचीन जाति हुन् भनेर पुरातत्वविद् जनकलाल शर्माले प्राग्ऐतिहासिक पुरातात्विक अन्वेषणबाट पुष्टि गरेका छन्।

शर्माले ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३८८–३९२)मा रुसी प्राग्ऐतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लाभ शटेन्कोले गरेको अनुसन्धानसँग जोडेर तामाङको प्राचीनता पुष्टि गर्ने प्रयत्न गरेका हुन्।

रुसको लेनिनग्राद विश्वविद्यालयका यी प्राग्ऐतिहासिक पुरातत्वविद् डा. शटेन्कोले २०३४ सालमा नेपालमा गरेको अध्ययन क्रममा काठमाडौं उपत्यकाको बुढानीलकण्ठ दक्षिणपूर्वको धोबीखोलाका किनारमा केही पाषाण हतियारहरु फेला पारे। यसबाट उनी उपत्यकामा मध्यपाषाण युगदेखि मानवबस्ती भएको निष्कर्षमा पुगे।

शर्माका अनुसार पाषाणकालीन मंगोलियनहरु तिब्बत हुँदै नेपाल आउँदा काठमाडौंमा आइपुगेको देखिन्छ। शर्माका अनुसार, उपत्यकामा बाहिरिया प्रवेशपछि तामाङहरु उपत्यका वरिपरिका भूभागतिर छरिएर रहन थाले।

तामाङहरुको प्राचीन इतिहास पुष्टि गर्ने आधारका रुपमा उपल्लो मुस्ताङमा पाइएको एक वंशावलीलाई पनि लिन सकिन्छ।


हिमाली क्षेत्रको अध्ययनका लागि प्रकाशित जर्नल ‘कैलाश’को वर्ष १५ अङ्क ३–४ (सन् १९८९ः१७०)मा छापिएको उक्त वंशावलीमा ‘ता–माङ’ शब्द परेको छ। अलेक्जान्डर डब्ल्यू. म्याकडोनल्डको अन्वेषणात्मक लेख ‘नोट अन् ल्याङ्ग्वेज, लिट्रेचर एण्ड कल्चरल आइडेन्टेटी अफ् तामाङ’मा यस्तो उल्लेख छ।

लेखमा मुस्ताङ भेगका राजा से वाङ नोर्वु (सन् १६८८–१७५५)को समयमा लेखिएको राजा ङारी गुङथङको वंशावलीमा राजा बुम दे गन (सन् १२५३–१२८०)ले बनाएको ६ वटा गढीबारे उल्लेख गरिएको छ। तीमध्ये से मोन ता–माङको आक्रमण रोक्न वा उनलाई दबाउन ती राजाले मुक्तिनाथमा ‘स्रिनगढी’ र अर्का आक्रमणकारी मोन डोल्पोलाई दबाउन डोल्पोमा ‘ओम मणि पद्मे हुँ’ गढी बनाए भन्ने उल्लेख छ।

तामाङ र मुर्मी भोट्या

एकातिर प्राचीन रुपमा तामाङहरु उपत्यका र यस वरपर आवाद थिए नै, त्योसँगै भोटका मानिसको समूह तामाङहरु मिश्रण भई बसेको अनुमान पनि गरिएको छ।

अंशुवर्माले भोटका शक्तिशाली राजा स्रङ चङ गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराएका थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’को पूर्णाङ्क ४८ (२०३७ चैतः१–२)मा लिच्छवि राजकुमारहरु उदयदेव र नरेन्द्रदेवको सम्बन्ध अंशुवर्मासँग जोडेका छन्।

नातागोता पर्न गएकाले पनि राजा स्रङ चङ गम्पो नरेन्द्रदेवलाई कैलाशकुट भवनमा गद्दीनसिन देख्न चाहन्थे। तीमध्ये उदयदेवको ल्हासामा निधन भइसकेको थियो। यता भोट र चीनको आडमा नरेन्द्रदेव नेपाल फर्के। र, जनताको साथ लिई आफू निर्वासित भएको बेला नेपालमा हालीमुहाली चलाएका भिमार्जुनदेव र विष्णु गुप्तलाई हराई शासनको बागडोर आफ्नो हातमा फर्काए। वि.सं. ६९९ देखि उनले कैलाशकुट भवनमा गद्दीनसिन भई राजकाज चलाउन थाले।

त्यही बेला चीनका राजा ताइचुङ र भारतका राजा हर्षवर्धन बीच एकापसमा राजदूत मार्फत खबर आदानप्रदान गर्ने चलन शुरु भएको थियो। चिनियाँ राजदूत चीन–भारत ओहोरदोहोर गर्दा नेपालकै बाटो प्रयोग गर्थे। त्यसबेला उनीहरुले राजा नरेन्द्रदेवलाई पनि भेट्ने गर्थे। चिनियाँ राजदूतसँग घोडचढी सेना पनि हुन्थे।


यो पनि पढ्नुहोस्— कुँवरबाट कसरी राणा बने जङ्गबहादुर ?


चीन र भोटको आड पाएका राजा नरेन्द्रदेव पनि शक्तिशाली घोडचढी सेनाकै साथ नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ।सम्भवतः तिनै घोडचढी सेनामध्ये कतिपय यहाँका प्राचीन तामाङहरुसँग घुलमिल भई घरबार गरी बसे।

इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ (२०६३ः७६) ‘ता’ भनेको घोडा, ‘माङ्’ भनेको युद्ध, ‘माङ्मी’ मध्ये ‘माङ्’ भनेको युद्ध र ‘मी’ भनेको मानिस अर्थात् युद्ध गर्ने मानिस भनी तामाङ शब्दको अर्थ खुलाएका छन्।

तामाङको अर्थ घोडचढीका साथै घोडा पालक, घोडा व्यापारी भन्ने पनि लगाउने गरिएको छ। प्राचीनकालमा घोडचढी सैन्यको छवि इज्जतिलो रुपमा स्थापित भएकाले पनि तामाङ जात थर लोकप्रिय भएको हुनसक्छ।

ऐतिहासिक कागजपत्र अध्ययन गर्दा शासक वर्गले तामाङहरुलाई ‘मुर्मी भोट्या’ भन्ने उल्लेख गरेका चर्चा माथि पनि परिसकेको छ। शासक वर्गले उनीहरुलाई मार्न र कमाराकमारी बनाउन सकिने गरी मासिने जातमा सूचीकृत पनि गरे। जंगबहादुर राणाले मुलुकी ऐन– १९१० लागू गर्नुभन्दा १७ वर्षअघि १८९३ असार सुदी ७ रोज ४ मा राजा राजेन्द्रले भाउजू विराउ गरे मारिदिनू भन्ने जातथरका सूचीमा ‘मुर्मी भोट्या’ लाई पनि पारेको ‘रेग्मी रिसर्च सेरिज’को वर्ष ३ अङ्क १ ( १९७१ डिसेम्बरः१–२) पढ्दा थाहा हुन्छ।

शर्मा (उही ३९७)ले केही विद्वानहरुको मत भन्दै ‘मुर्मी’ शब्दको अर्थ ‘मुर्’को अर्थ सीमान्त प्रदेश र ‘मी’को अर्थ मानिस हुन् भनेका छन्। यसलाई दृष्टि दिंदा मुर्मीको अर्थ सिमानाका मानिस भन्ने लाग्न जान्छ। त्यसमाथि ‘मुर्मी भोट्या’ले ‘सिमानातिरका भोटे’ भन्ने अर्थ दिन्छ।

पहिचानको पहल

भाषाशास्त्री अमृत योञ्जन तामाङले भने तामाङ शब्दको अर्थ भाषाशास्त्रीय मतअनुसार घोडचढी भन्दा पनि कुराको पहलका रुपमा अथ्र्याएका छन्। उनकाअनुसार ‘ताम’ भनेको कुरा अर्थात् भाषा र ‘पाङ’ भनेको बोल्नु हो। यसरी ‘ताम’ र ‘पाङ’को अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पत्ति गर्ने भन्ने लाग्छ भन्ने उनको मान्यता छ।

तर, तामाङ लेखाउने पहलका लागि एक जना भूतपूर्व सैनिक ब्रिटिश भारतीय सेनाका सरदार बहादुर सुवेदार मेजर जंगवीर तामाङ (सन् १८८९–१९४७) ले भूमिका खेलेका थिए। पुख्र्यौैली थलो संखुवासभाका मोक्तान थरका यी तामाङ आसाम राइफल्सका सैनिक थिए। २५ वर्षको उमेरमा पहिलो विश्वयुद्ध (सन् १९१४) लडेका जंगवीरले ओ.बी.आई.–डी.एम.एल.सी. नामको बहादुरी पदक समेत पाएका हुनाले आफ्नो समुदायमा उनको नाम सुवास ठूलो थियो।

त्यतिबेला दार्जिलिङ लगायत प्रवासमा नेपालमा मुर्मी भोट्या भनिएकाहरुले सगौरव आफ्नो जातथरमा तामाङ लेख्न थालिसकेका थिए। सम्भवतः जंगवीरले पनि तामाङको अर्थ प्राचीन घोडचढी वीर भन्ने बुझेरै आफूहरुलाई सिमानाका भोटे भन्नुको सट्टा तामाङ भनाउनु उचित सम्झे।

जंगवीर नेपाल पनि आए र तत्कालीन राणाशासक श्री ३ भीमशमशेरसँग आफूहरुले आफ्नो जातथरमा तामाङ लेख्न पाउनुपर्ने माग गरे। भीमशमशेरले उनको माग सम्बोधन गर्दै १९८९ भदौ ६ गते यस्तो इस्तिहार जारी गरेः

...आगे नेपाल सरहदभर मुलुकका जंगी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिया गैह«के यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरु पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङ ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ। अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जंगी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम्।

तामाङ सीता बडामहारानीको भूमिका

मानवशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ (२०६४ः४२)मा ‘एक दुई अपवाद बाहेक तामाङ चेलीहरु राणा दरबारमा शुरुमा निम्न तहको काम गर्न भर्ना भए पनि उनीहरुको रुप, सीप र बुद्धिले रिझाएको बेला निक्कै माथि उक्लेका उदाहरण छन्’ भनी उल्लेख गरेका छन्।

श्री ३ भीमशम्शेर र सीता बडामहारानी ।

यस्ता अपवादमध्ये दरबारमा सुसारे हुँदै प्रवेश गरेर भीमशमशेरकी बडामहारानी बन्न सफल सीता बडामहारानीलाई उदाहरणको रुपमा लिन सकिन्छ। उनी भोजपुर सिम्पानीकी ब्लोन थरकी दिलकुमारी हुन् भनी डा. रमेश ढुङ्गेलले ‘हिमालखबरपत्रिका’को वर्ष १२ अङ्क १५ (२०६९ मंसीर १६–३०ः३५–३७)मा उल्लेख गरेका छन्। 


यो पनि पढ्नुहोस्— भेटिएन ताम्सालिङ


जेठी पत्नीको मृत्युपछि पाँचौं राणा प्रधानमन्त्री भीमशमशेरले २४ वर्षकी दिलकुमारीलाई बडामहारानी पद प्रदान गरी सीता बडामहारानी नामकरण गरे। त्यसपछि टंगाल दरबारमा विशेष समारोह आयोजना गरी मुख्तियारदेखि तल्लो दर्जाका अफिसरसम्मलाई हाजिर गराई बडामहारानीलाई दाम राख्न लगाएको इतिहास प्रमोदशमशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’ (२०६५ः२३७–२४३) मा पढ्न पाइन्छ।

यसरी नियाल्दा भीमशमशेरको सीता बडामहारानीप्रति निक्कै गहिरो प्रेम देखिन्छ। यसलाई अझ बलशाली बनाउने अर्को पक्ष पनि छ। त्यो हो, सीता बडामहारानी पट्टिका दुई वर्षकी छोरी पिताम्बरी राज्यलक्ष्मी र चार वर्षकी नातिनी दिव्य राज्यलक्ष्मीसमेत दुई नाबालिका कन्याको विवाह तत्कालीन युवराज महेन्द्रसँग गर्न भीमशमशेरको राजा त्रिभुवनसमक्ष प्रस्ताव।

भीमशमशेरको चर्को दबाबमा परेका राजा त्रिभुवनले नाई भन्न नसकी स्वीकृतिका लागि लालमोहर पनि गरिसकेका थिए। सन् १९३३ को मार्चमा विवाह सम्पन्न हुने निश्चित भएको थियो तर सन् १९३२ को सेप्टेम्बर १ तदनुसार १७ भदौ १९८९ मै भीमशमशेरको निधन भएकोले पूर्वनिश्चित विवाह कागजमै सीमित हुन पुग्यो (राणा उही)।


यो पनि पढ्नुहोस्— जंगबहादुर राणाको आदेश– कामी, सार्की र दमाईको जागिर नखोस्नू !


भीमशमशेरको मृत्यु पछि भर्खरै विधवा बनेकी सीता बडामहारानीको कम्मरमा रहेको साँचोको झुप्पा खोसी उनका नातिनी बुहारीहरुले महाराजको ढुकुटी खोली लुटपाट मच्चाए। त्यतिखेर भीमशमशेरको शवको दुईतिर बाँडिएर दुई गुँडका छोराहरु नयाँ महाराजबाट शव उठाउने आदेशको प्रतिक्षा गरिरहेका थिए (राणा, उही)।

सीता बडामहारानीका लागि काठमाडौंको नक्सालमा ‘सीता भवन’ बनाइएको थियो। यो भवनमा हाल बालमन्दिर रहेको छ।

हिजोसम्म मासिने जातको रुपमा रहेका समुदायबाट आएकी नारीले दरबारमा बडामहारानी पद पाउँदा कथित उच्चजातीय अभिमान बोकेका राणा पुरुष तथा महिलालाई पाच्य हुने कुरै थिएन। तर, महाराजको मन पगालेकी सीता बडामहारानीले आफ्ना माइती खलकलाई हिजो जसरी ‘मासिन्या मुर्मी भोट्या जाति’ भनी सम्बोधन नगरियोस् र उनीहरुलाई त्यसबाट मुक्ति दिइयोस् भनी दरबारभित्र पक्कै पनि भूमिका खेलेकी थिइन् भन्ने अनुमान गर्न सकिन्छ।

यसो हुन सफलता प्राप्त भएकैले भीमशमशेरले ‘अबदेखि भोट्या होइन, तामाङ लेख्नु’ भनी स्वीकृतिका लागि इस्तिहार जारी गरे। यो इस्तिहार जारी गरिएको ११ दिनपछि नै भीमशमशेर परलोक भए।

चन्द्रशमशेरका रिक्रुट तामाङ

तर, भीमशमशेरले मुर्मी भोट्याको ठाउँमा तामाङ लेख्न पाउने अधिकार दिएको १७ वर्षअघि नै चन्द्रशमशेरले जारी गरेको एक सनदमा जात थरकै रुपमा तामाङ शब्द परेको छ। पहिलो विश्वयुद्ध शुरु भएको एक वर्षपछि १९७२ सालमा चन्द्रशमशेरले नेपालभरिका तालुकदारहरुका नाममा ब्रिटिश सेनामा रिक्रुट भर्ती गरी पठाउन जारी गरेको उक्त सनदको फोटोकपी पूर्वप्रशासक तथा इतिहासकार भगिराज इङ्नामको सौजन्यबाट यो लेखकलाई प्राप्त भएको छ।


यो पनि पढ्नुहोस्— पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद


उक्त सनदमा चन्द्रशमशेरले रिक्रुटका लागि नेपाली लक्का जवानको शारीरिक बनावट, तन्दुरुस्ती र उमेर मात्र होइन, रिक्रुट छान्नका लागि जातथरै तोकिदिएका छन्। यसअनुसार रिक्रुट लिन सकिने जातथरमध्ये ठकुरी, घले, सुनुवार, मतवाली खस, क्षत्री, मगर, रानाभाट, गुरुङ, लिम्बू, किराती राई, नगरकोटी, शेर्पा र तामाङ रहेका छन्।

हिजो मुर्मी भोट्या भनिएका तामाङलाई ‘तामाङ’ भन्दै रिक्रुटमा लिइए पनि फेरि तामाङ जातथर लेख्न नपाइने व्यवस्था लादिएका कारण जंगवीरले आफूहरुको जातथरमा तामाङ लेख्न पाऊँ भनी राणाशासकसँग माग गर्न बाध्य भएको बुझ्न सकिन्छ।

प्रतिकृया दिनुहोस