कला/साहित्य शनिबार, फागुन १७, २०७६

कारा: जेलभित्रको महिला हिंसाको कथा

हिमालखबर

कारा: जेलभित्रको महिला हिंसाको कथा

उपन्यास: कारा, लेखक: सुशीला कार्की, प्रकाशक: किताब पब्लिसर्स, मूल्य: रु.३८०, पृष्ठ २२७+९

सौताको हत्या गरेर २० वर्षको कैद सजाय काटिरहेकी सावित्री जेलबाट निस्किएपछि पनि श्रीमानकाे हत्या गर्ने मनोदशामा छिन् । सौतासँगै श्रीमानकाे हत्या गर्न नपाएकोमा उनलाई पछुतो छ । सावित्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको उपन्यास ‘कारा’ की पात्र हुन्।

उनी जस्तै जेल परेका महिलाहरूलाई पात्र बनाएर कार्कीले उपन्यास लेखेकी छन् । थरीथरीका अपराध र विभिन्न परिबन्दले जेल पुगेका महिलामाथि प्रहरी, कारागार प्रशासनदेखि नाइकेसम्मले गर्ने शोषण उपन्यासमा देखाइएको छ । महिला कैदीबन्दीको जेलपछिको अवस्था पनि चित्रण गरिएको छ।

उपन्यासमा महिलाले गर्ने अपराधलाई सामान्यीकरण गरिएको छ । कारागारमा सौता वा सौतेनी छोराछोरीको हत्या गरेका, अनैतिक सम्बन्धपछि गर्भपतन गरेका महिला छन् । राम्रो केटासँग बिहे भएको डाहले आफ्नै साथीको हत्या गर्ने युवती पनि छन्।

जो ठूलो अपराध गरेर आएको छ, कारागारमा उसैको शासन चल्छ । जेलमा ठूला अपराधीको चेन अफ कमाण्ड यति बलियो छ कि भित्रै कसैको हत्या गरेर गाड्न समेत सक्ने उपन्यासमा उल्लेख छ । प्रहरी र प्रशासन समेत तिनैका इशारामा चलेका छन्।

महिलाहरूकी ‘नाइकेनी’ तिमिला लिम्बू ‘तिम्मा’ ले कैदीलाई जेठी, माइली र कान्छी बुहारी नाम दिएर त्यही अनुसार काम लगाउँछिन् । उनको जीउमा तेल लगाइदिन समेत उनले ‘बुहारी’ हरूको तालिका बनाएकी छन्। कसैले उनी विरुद्ध बोलिहाले एउटै जवाफ आउँछ, “यो तेरो घर हो र ?”

उपन्यासमा पात्रको चरित्र चित्रण बलियो छ । श्रीमानकाे हत्यामा १० वर्ष जेल सजाय तोकिएकी बनारसी मण्डललाई सर्वोच्च अदालतले निर्दोष भएको फैसला गर्छ । तर, उनी समाजमा अपहेलित हुने डरले ‘आफ्नो लास जेलबाटै घाट जाओस्’ भन्ने कामना गर्छिन्।

सुशीला कार्की 

अदालतको फैसलापछि जेलबाट निस्किन नमान्दा कारागार प्रशासनले जबरजस्ती बाहिर पठाउँछ । उनले ‘नमागेको न्याय’ पाउँछिन् । उनले कारागार वरिपरि नै मागेर गुजारा चलाउँछिन् । उपन्यासले नेपालको न्याय प्रणालीलाई पनि व्यङ्ग्य गरेको छ।

कार्कीले उपन्यास मार्फत न्यायाधीशका क्रियाकलापमाथि पनि प्रश्न उठाएकी छन् । न्यायाधीशले साक्षी प्रमाण विना नै फैसला गर्ने, नातावाद र कृपावादबाट प्रभावित हुने विषय पीडित पात्र मार्फत बाहिर ल्याएकी छन्।

तर, पीडित पात्रले बोलेका यस्ता प्रसंग उपन्यासमा कुनै उपकथा वा घटनाक्रमबाट पुष्टि भने गरिएको छैन । कारागारभित्रको अत्याचारमा पनि अदालतले सघाएको पात्रले आरोप लगाएका छन् । तर, अदालतले अत्याचारलाई सघाएको पुष्टि हुने गरी कथा बुनिएको छैन । कार्कीले न्याय प्रणालीलाई बुझाउन प्रयोग गरेको ‘पैतालामा न्यायको काँडो बिझ्यो’ भन्ने बिम्ब निकै चोटिलो छ।

उपन्यासमा राजनीतिक घटना पनि जोडिएका छन् । तर, ती महत्वपूर्ण लाग्दैनन् । कारागार र कारागारसँग जोडिएका प्रहरी, सरकारी वकिल, अदालत, न्यायाधीश, जेलरकै सेरोफेरोमा उपन्यास छ।

जेल परेका पुरुष र महिलामाथि हुने सामाजिक विभेदलाई पनि उपन्यासमा चित्रण गरिएको छ । जेल परेका श्रीमानलाई पर्खिएर श्रीमती वर्षौं घर धानेर बस्छिन् । तर, श्रीमती जेल परे श्रीमान्ले दोस्रो बिहे गरिहाल्छन्।

पुरुष कैदीबन्दीलाई भेट्न नातागोता, दिदीबहिनी, साथीभाइ, आमाबुबा, सबै जेल पुग्छन् । महिला कैदीलाई भेट्न कोही जाँदैनन् । जेलबाट निस्किएका पुरुष समाजमा स्थापित हुन जति सजिलो छ, महिलाका लागि छैन। त्यही कारण कतिपयले जेलपछि घर नै त्यागेको वर्णन उपन्यासमा छ ।

उपन्यासमा ‘मानसिक स्वास्थ्य समस्या भएको’ नभनेर ‘पागल’ लेखिएको छ । अपमानजनक शब्द प्रयोगमा लेखक सचेत नभएको देखाउँछ । पात्रको कतिपय नाम पनि अपमानबोध हुने गरी राखिएको छ । जस्तो, मधेशी मूलको निम्छरो पात्र देखाउन ‘झुम्रीवती’ नाम राखिएको छ।

उनका श्रीमानले कारागार प्रशासनलाई घूस दिएर जेल पठाएका छन् । वास्तवमा उनी धनी भारतीय परिवारकी छोरी हुन् । तर, पाँच जना छोरीपछि जन्मिएको छोरा मरेपछि मानसिक अवस्था कमजोर हुँदै जाँदा श्रीमानले अर्को बिहे गर्न उनलाई जेल हालेको प्रसंग अनौठो छ । यही कारण झुम्रीलाई निरीह पात्रको रूपमा चित्रण गरिएको छ।

पुस्तकमा प्रशस्तै भाषिक कमजोरी छन् । पुरुषलाई नाइके र महिलालाई ‘नाइकेनी’ भनिएको छ । यो लैंगिक भिन्नता नहुने शब्द हो । शुद्धाशुद्धिमा ध्यान नदिंदा धेरै ठाउँमा भाषिक कमजोरी देखिन्छ।

लक्ष्मी बस्नेत

प्रतिकृया दिनुहोस