रिपोर्टसोमबार, ११ कार्तिक , २०७६

‘मिथ’ को जोखिममा महाकवि

सन्दर्भ : देवकाेटा जयन्ती

प्रकाश गुरागाईं

५० वर्षे जीवनकालमै महाकवि बन्न सफल देवकोटाका कृतित्व र व्यक्तित्वमाथि खोज बाँकी नै छ। नेपाली समाजमा चलिआएका कतिपय किस्सा र किंवदन्तीले उनलाई यथार्थभन्दा मिथमा बुझ्ने जोखिम बढेको छ।

तस्वीर : कमल दीक्षित

पुरुषहरूको अन्याय सहन नसकेर महिलाहरूले छुट्टै देश ‘महिलास्थान’ बनाए । राष्ट्रप्रमुख, प्रधानमन्त्रीदेखि सिपाहीसम्म सबै महिला भएको देशमा पुरुषलाई प्रवेश निषेध नै थियो । एक दिन कतैबाट एक पुरुष महिलास्थानमा देखिए । उनलाई कारबाहीका लागि तत्काल राष्ट्रप्रमुख कहाँ पुर्‍याइयो । रहँदा बस्दा राष्ट्रप्रमुख तिनै पुरुषको प्रेममा परिन् । त्यसपछि महिलास्थान भन्ने देश भताभुङ्ग भयो ।

२००९ सालमा आफूसँग ट्युसन पढ्ने विद्यार्थीहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘महिलास्थान’ शीर्षकमा यही भावको कविता सुनाएका थिए । “देवकोटा कहिलेकाहीं पढाउन छाडेर कविता सुनाउनुहुन्थ्यो”, उवेलाका विद्यार्थी पुराना वामपन्थी नेता एवं नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह सम्झ्न्छन्, “त्यो कविता त खण्डकाव्य नै हुने खालको थियो । तर कतै छापिएको थाहा छैन ।”

२९ भदौ २०१६ मा क्यान्सर रोगबाट ५० वर्षमै निधन भएका महाकविका यस्ता सुनिएका, सुन्नै बाँकी र अप्रकाशित कृति कति छन्, उनको निधनको ६० वर्षसम्म पत्तो छैन ।

देवकोटाको नाममा प्रकाशित पछिल्लो कृति हो, तुषार वर्णन खण्डकाव्य । २०५९ सालमा छापिएको यो कृति देवकोटाका तत्कालीन सहयोगी श्यामदास वैष्णवले उपलब्ध गराएको प्रकाशक नेपाल सांस्कृतिक संघका कार्यालय सचिव रवि ओझा बताउँछन् ।

वैष्णवले संघलाई प्रकाशनार्थ दिएका अन्य सात पुस्तक, शेक्सपियरको नाटक म्याकवेथ को नेपाली अनुवाद, मनोरञ्जन कविता सङ्ग्रह, भित्ता र सभा खण्डकाव्य, लुनी (अंग्रेजी लामो कविता), निर्माणको मार्गमा खण्डकाव्य, मोथ (अंग्रेजी लामो कविता), रजपूत रमणी गीति नाटकका पाण्डुलिपि देवकोटाका छोरा पद्मप्रसादले ‘आफैं छाप्ने’ भन्दै २०५४ सालमै लगेका थिए ।

देवकोटाले आफ्ना पाण्डुलिपि केशरशमशेरलाई पनि दिएको नरेन्द्रराज प्रसाईं लिखित पुस्तक ‘देवकोटाको जीवनशैली’ मा उल्लेख छ । देवकोटाले पाण्डुलिपि धितो राखेर केशरशमशेरसँग ऋण लिने गरेको र पाण्डुलिपिले एउटा दराज नै भरिएको पनि प्रसाईंले उल्लेख गरेका छन् ।

ती पाण्डुलिपि देवकोटाले फिर्ता लिएको वा दिइएको जानकारी भने भेटिंदैन । देवकोटाले अरू थुप्रैलाई पनि आफ्ना रचनाका पाण्डुलिपि दिएका थिए । निधनको केही दिनअघि मात्र शान्तभवन अस्पतालमा उनले आफ्ना प्रकाशित तथा अप्रकाशित रचनाको सर्वाधिकार कान्छा भाइ गोपीमाधव देवकोटाको नाउँमा सारेका थिए ।

साहित्यिक पत्रकार रोचक घिमिरे पाण्डुलिपिसँगै समग्रमा देवकोटाकै खोजी हुन नसकेको बताउँछन् । “देवकोटाको वास्तविकता खोज्नुभन्दा कहिले ‘पागल’, ‘गरीब’ भनेर उडाउने त कहिले अतिप्रशंसा गरेर महान् बनाउने काम मात्र भइरहेको छ”, घिमिरे भन्छन् ।

धर्मपत्नी मनदेवी देवकाेटासँग महाकवि ।

साहित्यकार प्रा.डा.अभि सुवेदी पनि देवकोटाका व्यक्तिगत सम्बन्ध र स्वभावलाई गलत व्याख्या गरी कतिपय ‘मिथ’ बनाउन खोजिएको बताउँछन् । “कवि भनेपछि पक्कै गरीब हुनुपर्छ, पक्कै प्रेमिका हुनुपर्छ भनेर कथा रचियो, वास्तविकता बुझ्नुभन्दा मिथ बनाएर भ्रम छर्न खोजियो”, सुवेदी भन्छन् ।

गरीब होइनन्
मैतिदेवीस्थित महाकवि देवकोटाका छिमेकी थिए, पत्रकार नगेन्द्रराज शर्मा । शर्मा, देवकोटाका जेठा छोरा कृष्णप्रसाद, माइली छोरी अम्बिकादेवी र साहिंली मीरा सँगसँगै खेल्थे ।

उनका अनुसार, त्यो वेला देवकोटाका घरमा पालिएका गाईहरू स्याहार गर्न नोकरचाकर राखिएका थिए । “भान्सामा काम गर्ने दुई जना बाहुनी पनि थिए” उनी भन्छन्, “पुर्ख्याैली डिल्लीबजारबाट मैतिदेवी सर्दा उनले घर सहितको दुई रोपनी जग्गा पनि किनेका थिए, पछि दुई रोपनी थपे । उनी गरीब भन्नु झूटो हो ।”

पटना, भारतबाट १९८६ सालमा बीए र १९९० मा बीएल उत्तीर्ण देवकोटा राणा लगायत सम्भ्रान्तका सन्तानलाई ट्यूसन पढाउँथे । बबरशमशेरका सन्तानहरूलाई पढाउन बबरमहल नै पुग्ने र मासिक रु.१०० पाउने गरेको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ ।

देवकोटाको पहिलो पुस्तक ‘समर्पण’ १९८९ सालमा प्रकाशन भएपछि श्री ३ जुद्धशमशेरले रु.१००० बक्सिस दिएका थिए । अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको यो रचनामा देवकोटाले जुद्धशमशेरको प्रशस्ति गरेका छन् । ‘देवकोटाको खण्डकारिता’ मा विद्यावारिधि गरेका महादेव अवस्थी ‘समर्पण’ लामो कविता भएको बताउँछन् ।

महाकवि देवकोटाका बाबु तिलमाधव राणाका दरबारमा काम गर्थे । उनले राणाबाट कोशीटप्पुमा ८० बिघा जग्गा बकस पनि पाएका थिए । अंशबण्डा गर्दा भने देवकोटाको भागमा चार बिघा मात्र परेको पत्रकार रोचक घिमिरे बताउँछन् ।

देवकोटा उपचारार्थ कलकत्ता पुग्दा कवि सोमनाथ घिमिरे ‘व्यास’ पनि साथै थिए । उनै व्यासले देवकोटाको उपचारमा रु.५०० सहयोग गरेका थिए । त्यसवेला व्यासले पैसाको कागज गर्न नमानेपछि देवकोटाले ‘६ महीनाभित्र नतिरे लीलाशमशेरबाट बकस पाएको जमलको एक रोपनी जग्गाबाट आधा लिनू’ भनी लेखेर दिएको व्यासका छोरा रोचक बताउँछन् । उनका अनुसार उक्त जग्गा जमलस्थित हालको विश्वज्योति हल पछाडिको हो ।

देवकोटा बेलायतको राले कम्पनीको साइकल चढ्थे । त्यति वेला न सर्वसाधारणलाई साइकल चढ्ने अनुमति थियो, न हैसियत नै । तर, राणासँग नजिक भएकैले देवकोटाले यो सुविधा पाएका थिए । “त्यो वेला साइकलको महत्व अहिलेको गाडी जस्तो थियो” घिमिरे भन्छन्, “देवकोटा त्यतिवेलै साइकल चढ्ने हैसियत राख्थे, पछि गरीब भनेर मिथ्या प्रचार भयो ।”

१९९१ सालमा आमाको निधनको एक महीनासम्म देवकोटाले साइकल चढेनन् । त्यसपछि पण्डितको सल्लाहबमोजिम आशौच बार्दा चढ्न मिल्ने पहेंलो रङको साइकल किनेको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ । चढिरहेको साइकल हराए पनि एक साताभित्रै उनले अर्को साइकल किनेको पत्रकार शर्मा बताउँछन् ।

देवकोटा पत्नी मनदेवी १९९७ सालदेखि कविप्रसाद गौतमको हरेराम पार्टी भनिने भजनमण्डली जान थालिन् । उनले नोकरचाकर लगाएरै किस्तीमा दही, मिठाई, फलफूल लगायत गुरुभेटी लैजाने गरेको आफूले देखेको शर्मा बताउँछन् ।

मनदेवीले कविप्रसादको सेवा गरेको देवकोटालाई मन परेको थिएन । त्यसैले पनि तलब नआएसम्म पसलबाट उधारो चलाउने र महीनाको अन्त्यमा जसले जति भन्यो उति तिर्ने गरेको छिमेकी शर्मा बताउँछन् ।

शर्मा र घिमिरे दुवैको निष्कर्षमा देवकोटा गरीब पटक्कै थिएनन् तर खर्चका मामिलामा अव्यवस्थित, अव्यवहारिक र उदार थिए । “त्यही भएर वेलावेला उनी आर्थिक सङ्कटमा फस्थे, त्यो गरीबी होइन”, शर्मा भन्छन् ।

‘पागल’ थिएनन्
देवकोटाले एक वर्षकै फरकमा आमा र बुबा गुमाए । लगातारको शोकले उनी शिथिल भए । लगत्तै १९९३ सालमा पत्नी मनदेवी गम्भीर बिरामी परिन् ।

बाबुआमाको शेषपछि दाइभाइसँग छुट्टिएका देवकोटालाई घर व्यवहार चलाउनुपर्ने भयो तर आफ्ना सन्तानलाई पढाउन भन्दै बबरशमशेरले उनलाई सरकारी जागिर खान दिएनन् । यसबाट पनि देवकोटा निराश थिए । उनी वनकाली गएर घन्टौं टोलाउने र अस्वाभाविक व्यवहार देखाउने गरेको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ ।

संस्कृतिविद् सत्यमोहन जोशी त्योवेला देवकोटाको बोली र व्यवहार नमिल्ने गरेको बताउँछन् । “रङ्ग न ढङ्गका कुरा गर्थे, अनौठो व्यवहार थियो, अनि त परिवारकै मान्छेले पागल भएको भने”, जोशी सम्झन्छन् ।

यसैबीच १९९४ सालमा कलकत्तामा सडकको मोचीलाई देवकोटाले हात हालेपछि भने भाइ मित्रनाथले नेपाल ल्याए । अर्को वर्ष १९९५ सालमा उनलाई उपचारका लागि राँची पुर्‍याइएको थियो ।

राँची नर्सिङ होममा १५५ दिनसम्म लेफ्टिनेन्ट कर्णेल डा. बर्कले हिलले देवकोटाको उपचार गरेका थिए । फर्केर आएपछि देवकोटाले जनकलाल शर्मासँग आफूलाई आर्थिक सङ्कटले लघुताभाष भएका वेला पागल भनिएको भन्दै मन दुखाएका थिए । बर्कलेले ‘आफूलाई पश्चिममा जन्मिनुपर्ने मान्छे भौगोलिक गल्ती भएर पूर्वमा जन्मेको’ भनेको शर्मालाई सुनाएका थिए ।

भारतीय महान् लेखक राहुल सांकृत्यायनले देवकोटालाई राँची लगिएको प्रसङ्ग आफ्नो लेखमा उल्लेख गर्दा उनले रिसाएर ‘मूर्ख’ भनेका थिए ।

तस्वीर : हाम्राकथाडटकम

सांकृत्यायन २००९ सालमा काठमाडौं आएका वेला बीपी कोइरालाको सहयोगमा देवकोटालाई घरैमा भेटेको अलका आत्रेय चुडालको पुस्तक ‘अ फ्रिथिङ्किङ कल्चरल नेशनालिस्टः अ लाइफ हिस्ट्री अफ राहुल सांकृत्यायन’ मा जनाइएको छ । जनकलाल शर्माकै सहयोगमा देवकोटाले सांकृत्यायनलाई भोज पनि खुवाएका थिए ।

सांकृत्यायन भारत फर्किएपछि हिन्दी साहित्यिक मासिक ‘आजकल’ मा प्रकाशित ‘नेपाली महाकवि देवकोटा’ शीर्षक लेखमा भारतका तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ बराबर नेपालका एक देवकोटा भएको भन्दै प्रशंसा गरे ।

यसअघि २००४ सालमा बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकामा ईश्वर बरालले पहिलो पटक देवकोटालाई ‘महाकवि’ लेखेका थिए । देवकोटालाई महाकवि भन्ने पहिलो विदेशी भने सांकृत्यायन नै थिए । त्यही लेखमा सांकृत्यायनले उनी कवि निराला जस्तै मानसिक रोगी भएको र एक पटक राँचीमा उपचार पनि गरेको उल्लेख गरेका थिए ।

यो लेख जनकलालले नै डिल्लीबजारस्थित लप्टनको होटलमा देवकोटालाई पढेर सुनाएका थिए । पागलको प्रसङ्ग आउनेवित्तिकै देवकोटा रिसले रातो भए र शर्मालाई एक मुक्का हाने । कारण, देवकोटालाई राँची लगिएको घटना सांकृत्यायनलाई सुनाउने शर्मा नै थिए ।

त्यही रात देवकोटाले ‘पागल’ कविता लेखे । भोलिपल्ट शर्मालाई नै बोलाएर सुनाए । कविताको एउटा लाइनमा ‘तिम्रा महापण्डित राहुल मेरा मूर्ख’ लेखिएको थियो । शर्माकै आग्रहमा देवकोटाले ‘राहुल’ शब्द झिकेको अलका आत्रेय चुडालको पुस्तकमा उल्लेख छ ।

बनारसमा कांग्रेस, केआई सिंहको मन्त्री
नेपाल राष्ट्रिय कांग्रेसको लागि काम गर्न २००४ सालमा गणेशमान सिंह, केदारमान व्यथित र गोपालप्रसाद रिमालको सल्लाहमा देवकोटा प्रेमबहादुर कंसाकारसँगै बनारस गए ।

पत्रकारद्वय शर्मा र घिमिरे भने नयाँ घर बनाइदिने, नियमित तलब दिने र परिवारको रेखदेखको आश्वासन दिएर घोषणापत्र, पर्चा, पम्प्लेट लेख्न र युगवाणी पत्रिका चलाउन कांग्रेसले देवकोटालाई बनारस लगेको बताउँछन् । संस्कृतिविद् सत्यमोहन जोशी पनि देवकोटाको बौद्धिकता र लेखन क्षमताको उपयोग गर्न कांग्रेसले फकाएर बनारस पुर्‍याएको बताउँछन् ।

बनारसमा युगवाणी को सम्पादक बनेका देवकोटालाई कांग्रेसले पुग्दो तलबसम्म दिएन । पैसा सकिएपछि उनी कविता बेच्न थाले । पछि त कविता किनिदिने समेत कोही भएन । चुरोट खान पनि पैसा माग्नुपर्ने अवस्था आएको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ ।

देवकोटा बनारस गएपछि ‘कांग्रेसको घर’ भन्दै प्रहरीले ‘कविकुञ्ज’ घेराउ गर्‍यो । ‘देशद्रोह’ को आरोपमा उनको नेपाली भाषानुवाद परिषद्को जागिर र त्रिचन्द्र कलेजको प्रोफेसर पद दुवै खोसियो ।

यहीवेला देवकोटाले काठमाडौंमा जेठा छोरा कृष्णप्रसाद बितेको खबर पाए । केही समयपछि पत्नी मनदेवी देवकोटालाई लिन बनारस नै गइन् तर फर्किने पैसा भएन । देवकोटा बिरामी परे । त्योवेला मनदेवीले सडकमा मागेर खानु परेको थियो ।

देवकोटाका दाजुभाइ भने राणा खलक कहाँ नै काम गर्थे । बनारसबाटै देवकोटाले बबरशमशेरलाई ‘म अब कहिल्यै राजनीतिमा लाग्ने छैन’ भनेर चिठी लेखे । त्यसपछि बबरशमशेरले देवकोटाका काइँला भाइ मधुसूदनलाई बाटो खर्च रु.१०० दिएर देवकोटालाई लिन पठाए । दुई वर्ष दुई महीनापछि उनी नेपाल फर्किए ।

देवकोटा कांग्रेससँग यति रिसाएका थिए कि नेपाल फर्किएपछि सुनसरी पुगेर कृष्णप्रसाद भट्टराई विरुद्ध भारतीय नागरिक भएको भन्दै मुद्दा नै हाले तर मुद्दा भने भट्टराईले जिते ।

देवकोटालाई राजा त्रिभुवनले २०११ सालमा सल्लाहकार सभामा मनोनीत गरे । देवकोटा भने भाञ्जा केशवचन्द्र गौतमको माध्यमबाट डा. केआई सिंहसँग नजिक हुन पुगे । सिंहदरबार विद्रोहपछि चीनमा शरण लिएका सिंहले २०१२ सालमा बिन्तीपत्र पठाएपछि राजा महेन्द्रले माफी दिए र उनी नेपाल फर्के । सिंहलाई काठमाडौंमा स्वागत गर्न देवकोटा पनि सुन्दरीजलसम्म गएका थिए । त्यसको केही दिनपछि सिंहले टुँडिखेलमा गरेको सभाको सभापति देवकोटा नै थिए ।

राजा महेन्द्रले ११ साउन २०१४ मा डा.केआई सिंहलाई प्रधानमन्त्री नियुक्त गरे । उनको मन्त्रिमण्डलमा देवकोटा शिक्षा तथा स्वायत्त शासनमन्त्री नियुक्त भए । बधाइ दिन पुगेका सत्यमोहन जोशीले देवकोटालाई सिंहदरबार पुर्‍याइदिएका थिए । “ड्राइभर र बडीगार्ड आइसकेका थिए, देवकोटा तयार हुँदै थिए । उनले मन्त्रालय देखाउन आफूसँगै गइदिन आग्रह गरेपछि मैले लिएर गएँ”, जोशी भन्छन् ।

मैतिदेवीस्थित घरसम्म गाडी नपुग्ने भएकाले मन्त्री हुँदा पनि डिल्लीबजार पुग्न देवकोटा साइकल नै चढ्थे । त्यहाँबाट गाडी चढेर मन्त्रालय जान्थे । केही दिनपछि भने उनी डिल्लीबजारस्थित गेहेन्द्रबहादुर शाहको घर ‘सल्यानी हाउस’ मा सरे ।

गायक देवकोटा !
देवकोटालाई सङ्गीतको ठूलो सोख थियो । उनी सुत्ने खाटमुनि हार्मोनियम राख्थे । उनका सङ्गीत–गुरु यज्ञराज अर्याल थिए । नातिकाजीसँग पनि उनले सङ्गीत सिकेका थिए । देवकोटाले नातिकाजीको सङ्गीत र श्यामदास वैष्णवको शब्दमा ‘तिम्रै निम्ति बाँचिरहेछु’ गीत पनि गाएका थिए ।

गीत रेकर्ड गराउन उनी १९९३ सालतिर कोलकाता गएर गीत रेकर्ड गराएको ‘देवकोटाको जीवनशैली’ पुस्तकमा उल्लेख छ । देवकोटाले गाएको त्यो गीत भने अझै फेला परेको छैन । मास्टर रत्नदास प्रकाश देवकोटाका नजिकका मित्र थिए ।

पद्मशमशेरले २००३ सालमा रेडियोको शुरू गरेका थिए । त्यतिवेला टुँडिखेलमा दुई वटा ठूला माइक राखेर बिजुली अड्डाबाट दिउँसो १ देखि १ः३० बजेसम्म भजन सुनाइन्थ्यो । देवकोटा पनि भजन गाउन बिजुलीअड्डा पुग्थे ।

पत्रकार रोचक घिमिरेका बुवाको पनि गाउने सोख थियो । “देवकोटा कहिलेकाहीं हाम्रो घर आउँथे, उनलाई आफैं हार्मोनियम बजाएर गाउने सोख थियो” घिमिरे भन्छन्, “प्रायः आफैंले लेखेका गीतमा आफैं सङ्गीत भरेर गाउँथे ।”

२०१० सालतिर देवकोटाले शास्त्रीय रागमा गाएको गीत घिमिरेलाई अझै सम्झ्ना छ । प्रजातन्त्र आए पनि निर्वाचन नभएका कारण अस्थिर सरकार थियो । त्यतिवेला देवकोटाले यस्तो गीत लेखेर गाएका थिए–
तन्त्र तँ पर जा, पर जा तन्त्र
मन्त्र जपी तपी आ

फूलमार चुरोट र खसीको टाउको
देवकोटा चुरोटका पारखी थिए । उनलाई भारतीय क्राइभिन ब्राण्डको चुरोट खूब मनपर्थ्याे। उनी मोटरमार चुरोट पनि पिउँथे तर बढीजसो फूलमार चुरोट पिउने गरेको पत्रकार शर्मा बताउँछन् ।

“जेठा छोरा कृष्णप्रसादलाई चुरोट किन्न पठाउँदा म पनि सँगै जान्थें, चुरोट किन्न जानेले चकलेट खान पाउँथ्यो” शर्मा सम्झ्न्छन्, “कृष्ण नहुँदा मलाई पनि किन्न पठाउँथे ।” त्यो चुरोटको बट्टामा फूलको बोटको चित्रमाथि ‘गोल्डेन ट्री’ लेखिएको थियो । भारतीय चुरोट भए पनि बट्टामा फूलको बोटको चित्र भएकाले नेपालमा नामै फूलमार राखिएको उनी बताउँछन् ।

कवि श्यामदास वैष्णवका अनुसार देवकोटालाई खसीको टाउकोको मासु प्रिय थियो । उनी एकपटकमा आधा केजीभन्दा बढी मासु खान सक्थे ।

२४ पुस २००३ मा काठमाडौंमा हिउँ परेको थियो । देवकोटा पत्नीलाई बजै भन्थे । बजैसँग पैसा मागेर वैष्णवलाई टाउको किन्न पठाए । मासु खाएपछि वैष्णव घर फर्किए । भोलिपल्ट बिहान देवकोटाले बोलाएर रातभरमा लेखिसकेको ‘तुषार वर्णन’ आफूलाई सुनाएको वैष्णवले उक्त खण्डकाव्यको ‘स्पष्टीकरण’ मा उल्लेख गरेका छन् ।

याे पनि पढ्नुहाेस्–

महाकविको ‘नई दिल्ली फोल्डर’

महाकवि देवकोटा नेपाली साहित्यका अन्तर्राष्ट्रिय दूत

महाकविसँगको त्यो अन्तर्वार्ता

महाकविको महत्ता (सन्दर्भ : देवकाेटा जयन्ती)

प्रतिकृया दिनुहोस