टिप्पणीआइतबार, १० कार्तिक , २०७६

महाकविसँगको त्यो अन्तर्वार्ता

सन्दर्भ : देवकाेटा जयन्ती

भैरव रिसाल

अन्तर्वार्तामा महाकवि देवकोटाले आठ महीनादेखि हातमा रातो पैसो नपरेकोले ओखती त कता–कता चुल्होमा आगो बल्न पनि मुश्किल भएको वेदना साट्नुभयो ।

भैरव रिसाल

अनुमति नै नलिई महाकवि लक्ष्मीप्रसाद देवकोटा तत्कालीन सोभियत संघको तासकन्द (हाल उज्वेकिस्तानको राजधानी) मा आयोजित एशियाली साहित्य सम्मेलनमा भाग लिन गएको भन्ने निहुँमा नेपाल एकेडेमी (हाल नेपाल प्रज्ञा–प्रतिष्ठान) बाट पाउने मासिक पारिश्रमिक रोकिएको रहेछ ।

त्यतिवेला म दैनिक हालखबर पत्रिकामा काम गर्थें । सम्पादक दाताराम शर्माले त्यसको सुइँको पाएर मलाई यथार्थ बुझेर आउन पठाउनुभयो ।

म देवकोटाजीकहाँ गएँ, आफ्नो परिचय दिएँ । ‘तपाइँको पारिश्रमिक रोकिएको छ रे, के भएको हो ? थाहा भए अखबारमा छपाउँछौं’ भनेपछि महाकवि खुल्न थाल्नुभयो ।

कुराकानीमा देवकोटाले आठ महीनादेखि हातमा रातो पैसो नपरेकोले ओखती त कता–कता चुल्होमा आगो बल्न पनि मुश्किल भएको वेदना साट्नुभयो । म त्यहाँ डेढ घण्टा जति बसें हुँला । क्यान्सर जस्तो रोगबाट ग्रसित भए पनि महाकविको व्यक्तित्वमा तेज र ओज थियो । तर कोठा भने असरल्ल, सामान भद्रगोल ।

तासकन्द सम्मेलनताका मस्कोमा खिचिएको देवकोटाको तस्वीर । तस्वीर साैजन्य : तस्वीरकाे कथा पुस्तकबाट 

देवकोटाको देखाहाल भोलिपल्टै हालखबर मा छापियो । त्यतिवेला समाचारमा फोटो दिने चलन आइसकेको थिएन । समाचार प्रभाव, समाचार छापिएको भोलिपल्टै देवकोटाले सात महीनाको बक्यौता पारिश्रमिक पाउनुभएछ । अनुशासन पालना नगरेको निहुँमा एक महीनाको भने काटिएछ ।

समाचारले यति चाँडै काम गरेको थाहा पाएर म छक्कै परें । भुक्तानीको वातावरण बनाउन दरबारकै हात भएको अनुमान गरें । अन्यथा यति छिटो काम सम्भव थिएन । कतै सम्पादक शर्माले दरबारकै सङ्केत पाई मलाई देवकोटाकहाँ त पठाएका थिएनन् ?

सम्पादक शर्माले मलाई फेरि देवकोटाकहाँ पठाउनुभयो । महाकवि मसँग सारै प्रसन्न हुनुभयो, धन्यवाद पनि दिनुभयो । सम्पादक र संलग्न अरूहरूलाई पनि धन्यवाद सुनाइदिन भन्नुभयो ।

म शिकारु पत्रकार, प्रोत्साहित भएँ । ‘बाइलाइन’ को युग थिएन । तर, केटौले म, ठाउँ ठाउँमा त्यो समाचार मैले बनाएको भन्दै हिंडेछु । कतिपय हितैषीले ‘आफ्नो बखान आफैंले गर्नु राम्रो हुँदैन’ भन्ने सुझाव दिए । उता महाकविले भने ‘भैरव भन्ने केटो आएको थियो हालखबर बाट ।

अन्तर्वार्ता राम्रो बनाएछ । त्यसपछि रोकिएको पारिश्रमिक समेत पाएँ’ भन्नुभएछ । तब त के चाहियो, मेरो पत्रकारिताको उँचाइ अग्लिन लाग्यो । पत्रकारितामा झन रत्तिन थालें । महाकविसँगको त्यो अन्तर्वार्ता प्रसङ्गले मलाई आजीवन पत्रकार बनायो ।

कविका रूपमा देवकोटाको निर्माण कसरी भयो ? देवकोटाको साहित्यिक वैचारिकी के थियोे ? यसले समाजका लागि के कस्तो अर्थ राख्थ्यो ? उनी ‘महाकवि’ मा खुम्चिए वा फैलिए ? यसबारे जति धेरै मन्थन हुनसक्यो उति नै देवकोटामाथि न्याय हुनेछ ।

‘रे’ का कुरा
संस्कृत शिक्षाबाट अध्ययन प्रारम्भ भए पनि देवकोटाले अंग्रेजी साहित्यमा एम.ए पनि भर्ना हुनुभयो । तर, एम.ए. पूरा हुन पाएन । त्रिचन्द्र कलेजमा पढाउनुभयो । २००४ सालमा वनारसबाट निस्कने युगवाणी साप्ताहिकको सम्पादक पनि हुनुभयो ।

प्रजातन्त्रका पक्षधर देवकोटा ९ असार २०१४ मा गठित एकेडेमीमा प्राज्ञ बन्नुभयो । त्यही साल ११ साउनमा डा.के.आई.सिंहको प्रधानमन्त्रीत्वको सरकारमा शिक्षा तथा स्वायत्त शासन मन्त्री समेत बन्नुभयो । तर, जम्मा १११ दिनमै सरकार भङ्ग भयो । यद्यपि एकेडेमीमा प्राज्ञ भने रहिरहनुभयो । कतै अनुमति नलिई त कतै दिल्लीको पासपोर्ट लिएर गएको भन्ने सन्दर्भमा उहाँको पारिश्रमिक रोकिएको कुरा चले पनि खास कारण भने रहस्यमै रह्यो ।

२९ भदौ २०१६ मा देवकोटाको निधन भयो । मर्ने वेलामा देवकोटाले ‘म मरेपछि मुनामदन बाहेक सबै पुस्तक जलाइदिनु भन्नु भो रे ! ‘म शून्यमा शून्य सरी विलाएँ’ पनि भन्नुभयो रे ! असह्य पीडामा ‘मलाई ५ ग्रेन मर्फिन र ३ ग्रेन सुत्ने औषधि दिइयोस्’ सम्म भन्नुभयो रे !

प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र मन्त्री गणेशमान सिंहसँग ‘मेरो १०\१२ हजार ऋण घर बेचेर तिरियोस्’ सम्म पनि भन्नु भो रे ! जीवनको अन्तिम क्षणमा ‘न भक्ति भो ज्ञान न भो विवेक, आखिर श्रीकृष्ण रहेछ एक’ पनि भन्नुभयो रे !

तर, मलाई यो कुरा अझ्ै पत्यार लाग्दैन । गएको ४ कात्तिकको एउटा कार्यक्रममा मैले शताब्दीपुरुष सत्यमोहन जोशी दाइसँग सोधें, के साँच्चै देवकोटाले त्यसो भनेकै होलान् त ! उहाँले पनि ‘होला !’ नै भन्नुभयो । अरू पनि केही मनीषी र महामनाहरूलाई सोधें । तर एकाध बाहेक अधिकांशले देवकोटाले यसो भनेकै कुरामा सहमति जनाए ।

जिन्दगीभर ईश्वरमा विश्वास नगर्ने महाकवि अन्तिम क्षणमा कसरी यस्तो भन्न पुगे ? म भने अझै रनभुल्लमै छु ।

 

प्रतिकृया दिनुहोस