सम्पादकीयशनिबार, ९ कार्तिक , २०७६

महाकविको महत्ता (सन्दर्भ : देवकाेटा जयन्ती)

किरण नेपाल

चाहे स्वर्ग होस् चाहे रौरव, अरू देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन् तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्‍याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ? निबन्धबाट

आज लक्ष्मीपूजा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन । ६० वर्षअघि, २०१६ सालमा ५० वर्षको अल्पायुमै देवकोटाको निधन भयो । भनिन्छ, जीवनको मापन उमेरको लम्बाइमा होइन, सिर्जनाको गहिराइमा गरिनुपर्छ । यस दृष्टिमा हेर्ने हो भने देवकोटा गहिरो जीवन बाँचे ।

झ्याउरे लयलाई सम्मानित स्थान दिई मुनामदन मार्फत साझा नेपाली दुःख पस्केर लोकप्रिय भएका देवकोटा शाकुन्तल महाकाव्यमा दक्षिण एशियाकै अग्ला साहित्यकारका रूपमा उभिन्छन् । उवेलाको धर्मभीरु समाजमा ईश्वरलाई आफूभित्रै खोज्नु भन्ने ‘यात्री’ कवितामा देवकोटाको प्रगतिशीलता सामु आजका क्रान्तिकारीहरू समेत पुड्का देखिन्छन् ।

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने सरल भाव वा ईश्वरको हाँसो पाएका फूललाई छोएर नमार्न गरिएको अनुनयका कारण पनि देवकोटा हाम्रो मनमस्तिष्कको सबैभन्दा माथिल्लो खोपामा विराजमान छन् ।

मुनामदनकै आधिकारिक बिक्रीप्रति हिसाब निकाल्दा पनि देवकोटा नेपाली साहित्यमा सबैभन्दा बढी पढिएका कृतिका स्रष्टा हुन् । १९ वर्षअघि, १–१५ वैशाख २०५७ मा हिमालले नै प्रकाशित गरेको ‘सय वर्षका १०१ नेपाली’ सर्वेक्षणमा समावेश देवकोटाले ‘नेपाली साहित्यका माध्यमबाट नयाँ शैली र नयाँ आदर्श नेपाल भित्र्याएको, जुन काम अरू कसैले आजसम्म पनि गर्न नसकेको’ भनिएको छ ।

देशभित्रै ‘कान्तिपुर दैनिक’ ले २०६९ सालमा गरेको लेखक सर्वेक्षणले पनि देवकोटा सय वर्षका सबैभन्दा उत्कृष्ट साहित्यकार चयन भएका थिए । वैश्विक बनेका नेपालीभाषी जहाँ–जहाँ छन्, देवकोटा त्यहीं पुगेका छन् । जसरी भानुभक्त नेपाली भाषासँग जोडिएर संसार पुगेका छन् त्यसैगरी साहित्यमा देवकोटाले घर गरेका छन् ।

नेपाली साहित्यमा लोकप्रियताका दृष्टिले शिखर चुम्न सफल महाकवि देवकोटामाथि थप चर्चा किन त ? उनका कृतित्व र व्यक्तित्वबारे प्रकाशित हुन बाँकी के त्यस्ता कुरा छन् ? के यो पनि वर्ष दिनमा एकपटक देवकोटा सम्झने र उनको स्तुति गर्ने औपचारिकता मात्र त होइन ? यी स्वाभाविक प्रश्नबारे हामी जानकार छौं ।

हाम्रा लागि महाकविको सम्झनाको अर्थ उनको प्रशस्ति होइन, कटु आलोचना पनि होइन । राष्ट्रियताको ‘क्लिसे’ अभिव्यक्ति पनि होइन । बरु हाम्रा एक्ला महाकविमा भारतका विख्यात साहित्यकार राहुल सांकृत्यायनले किन आफ्नो देशका घाघडान साहित्यकार ‘प्रसाद–पन्त–निराला’ भेटे?

बुद्धपछिको श्रेष्ठ मानव अवतार ठाने ? सोभियत रूसको तासकन्द र भारतमा भएको साहित्य सम्मेलनमा देवकोटाको मन्तव्यले किन वाह्वाही बटुल्यो ? हरिवंश राय बच्चन किन देवकोटाको असामयिक मृत्युमा सुक्सुकाए ? सन् १९५९ मा संयोगले नेपाल आएका लेखक डम मोरे र वेद मेहता किन देवकोटालाई आर्यघाटस्थित मृत्युशय्यामा भेट्न पुगे र कसरी यी साहित्यकारको प्रतिभाप्रति नतमस्तक भए ?

यी दुई अंग्रेजीभाषी साहित्यकारको दुर्लभ भेटको दारुण वर्णन समेतको मद्दतले कसरी देवकोटा पश्चिमा साहित्यकारसामु पहिलो पटक परिचित बने ? त्यसपछिको दशकमा कसरी महाकवि विदेशीबाट अध्ययन गरिने नेपाली साहित्यकारको अग्रपंक्तिमा आए ? अहिलेसम्म आइपुग्दा देवकोटा कसरी विश्व साहित्यमा नेपाली दूत बन्न सफल भए ?

यी यस्ता प्रश्नहरूले आजपर्यन्त नेपाली समाजसँग जवाफ खोजिरहेका छन्, जसको विश्वसनीय जवाफ पाइएको छैन । हाम्रो उद्देश्य महाकविमाथिका यस्तै अनुत्तरित प्रश्नमाथिको मीमांसा गर्ने प्रयास हो ।

कविका रूपमा देवकोटाको निर्माण कसरी भयो ? देवकोटाको साहित्यिक वैचारिकी के थियोे ? यसले समाजका लागि के कस्तो अर्थ राख्थ्यो ? उनी ‘महाकवि’ मा खुम्चिए वा फैलिए ? यसबारे जति धेरै मन्थन हुनसक्यो उति नै देवकोटामाथि न्याय हुनेछ।

प्रतिभामा श्रेष्ठ भए पनि महाकवि देवकोटामाथि आमजनमा अनेक बुझाइ विद्यमान छन् । उनका निजी जीवन र रचना प्रक्रियाबारे किस्सा, मिथ पनि चलिरहेकै छन् । गरीब, दानी, पागल, हदैसम्मको अव्यवहारिक, रहस्यमयी छवि निर्मित, पुनर्निर्मित भइरहेका छन् । मन्त्री समेत भएका देवकोटाका कतिपय निर्णयमा, जीवनशैलीका नाममा प्रकाशित कृतिमा संशयका प्रशस्त ठाउँ पनि छन् ।

यस्ता कथ्यले देवकोटामाथि गम्भीर अध्ययन गर्न चाहनेलाई निरुत्साहित गरिरहेको छ । आफ्नो कृति स्वयं अंग्रेजीमा अनुवाद गर्ने, गराउने चाहना भएर पनि अल्पायुमै निधन भएका देवकोटालाई अझ विश्वमाझ फैलाउने दायित्व पनि हाम्रै हो । त्यसो त नयाँ पुस्तामा संस्कृत भाषा, छन्द, पद्यप्रतिको वितृष्णाले पनि देवकोटाको शैली बुझ्न असहज बनिरहेको देखिन्छ ।

कल्पना गरौं, आजभन्दा झण्डै सात दशकअघिको सङ्क्रमणमा रुमल्लिइरहेको समाज । ‘तरुण तपसी’ मार्फत मानव दर्शन नै अटाइदिन सक्ने लेखनाथ पौड्याल, साहित्य र कलाका योग बालकृष्ण समसँगै बसेर नयराज पन्त जस्ता तीक्ष्ण अन्वेषकको आँखै अगाडि नेपाली साहित्यलाई अर्को उँचाइ दिने देवकोटाको निर्माण कसरी भयो ?

देवकोटाको साहित्यिक वैचारिकी के थियोे ? यसले समाजका लागि के कस्तो अर्थ राख्थ्यो ? उनी ‘महाकवि’ मा खुम्चिए वा फैलिए ? यसबारे जति धेरै मन्थन हुनसक्यो उति नै देवकोटामाथि न्याय हुनेछ । यसका लागि नयाँ सामाजिक र राजनीतिक परिदृश्यमा महाकवि देवकोटालाई पुनःपरिभाषित गर्नुपर्नेछ ।

स्थानीयतामा उभिएरै पनि उनले दिएका विश्वजनीन दृष्टिकोणलाई पर्गेल्नुपर्नेछ । महाकविलाई साँच्चै नै सर्वकालिक, कालजयी बनाउने हो भने उनको मिथ होइन, महत्ता स्थापित गर्नुपर्नेछ ।

 

प्रतिकृया दिनुहोस