थप समाचारसोमबार, ४ कार्तिक , २०७६

तिहारमा बालबालिकालाई वर्णमाला उपहार

हिमालखबर

तिहारमा नेपालयले बालबालिकालाई उपहार वर्णमालामा आधारित गीतहरूको शृंखला युट्युवमार्फत सार्वजनिक गरेकाे छ ।

नेपाली भाषामा केटाकेटीहरूका निम्ति मौलिक र स्तरीय बाल रचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण शुरु गरेको जनाएको छ । नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमा समर्पित रहेको नेपालयको भनाई छ ।

यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरी, अंकगणित सँगै विविध विषय समेटिएका छन् ।

बालबालिकाको मनोभावलाई सुहाउने खालका बाल रचनाहरू संगीतकार आभासले रचना गरेका छन् । आफुले अनुरोध गरेको केही समयमा नै वर्णमालामा आधारित गीतहरु तयार पारिदिएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, "आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उहाँको पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार गर्न अनुरोध गरेको थिएँ ।, त्यही अनुरुप तयार भयो ।"

आभासले केटाकेटीका निम्ति तयार पारेका बाल गीतहरू लोकप्रिय छन् ।

किरणका अनुसार नेपालयले यस्ता बालगीत पुस्तकमा पनि ल्याउने तयारी रहेको छ । आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बाल गीत तयार पारिसकेका र क्रमशः कार्टुन चलचित्र सहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने नेपालयले जानकारी गराएको छ । ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्रसहित हेर्न र सुन्न सक्नेछन् ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन् । चाँडै ‘स्वर माला’ पनि सार्वजनिक हुने जानकारी दिएको छ । स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामको चरित्र उभ्याएका छन्, जसलाई उनी स्वयंले गाएका छन् ।

प्रतिकृया दिनुहोस