छठको स्वागतमा तयार मधेश
वातावरणीय संरक्षण, समानता र सामाजिक एकता छठ पर्वका मूल सन्देश हुन्।
काँचही बांस के बहिंगीया, बहाँगी लचकत जाय
बाटही पुछ ए बटोहिया, ई भार किनकर जाय
अमरुख छ हि रे बटोहिया ई भार छठी माई के जाय।
दशैं सकिए लगत्तै मधेशका बजारमा यस्ता गीत निकै घन्किरहेछन्। अर्थात्, यो तराई-मधेशको महापर्व छठ नजिकिएको संकेत हो।
भक्तिरसले पूर्ण गीतसंगीत र तिनका शब्दले युवा पुस्तालाई विशेष भावुक बनाइरहेको हुन्छ। खास गरी छठी मातालाई पुकारा गर्ने यी गीत छठ सकिएपछि प्रायः गाइँदैन।
छठ ठ्याक्कै कहिले मनाइन्छ त? यो सूक्ति हेरौं- जितिया दसे दशमी, दशमी पाँचे कोजाग्रत, कोजाग्रत पन्ध्रहे शुकराती (दिवाली), शुकराती छवे छैठ। अर्थात्, जितिया पर्वको १० दिनपछि दशैं, दशैंको पाँच दिनपछि कोजाग्रत पूर्णिमा, कोजाग्रतको १५ दिनपछि दीपावली अनि दीपावलीको ६ दिनपछि छठ।
अर्को सूक्तिले भन्छ- सुख शुकराती दियाबाती तकरे छवे छैठ। अर्थात्, छठ र दीपावलीको बीचमा ६ दिनको अन्तर छ।
समानता र एकताको पर्व
छठको पौराणिकता केलाउँदा यसलाई महाभारतकालमा कुन्तीले सूर्यको आराधनाबाट कर्णलाई जन्माएको घटनासँग जोडिन्छ। वेदमा उल्लेख भए अनुसार छठीदेवी सूर्यदेवकी पत्नी हुन्।
द्वापरयुगमा रामसीता वनवासबाट फर्किएपछि सूर्यदेवको सम्मानमा व्रत बसेको र त्यो वेलादेखि यो पर्व झन् विस्तार भएको मान्यता छ। महाभारतकालमा कर्णले हरेक दिन पानीमा उभिएर सूर्यको पूजापछि दानदातव्य गर्ने गरेको, पाण्डवले कौरवलाई परास्त गर्न यही पूजा गरेको कथा पनि सुन्न पाइन्छ।
पर्वमा भक्तहरू सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै चार दिनसम्म महत्त्वपूर्ण अनुष्ठान गर्छन्। हुन त मिथिलामा प्रत्येक दिन सूर्यलाई जल चढाइन्छ तर छठमा विशेष पूजा हुन्छ। छठमा नुहाउँदा कुष्ठ र छालाका अन्य रोग निको हुने जनविश्वास छ।
व्रत बस्ने महिलाहरू ‘धनधान्य, पति-पुत्र तथा सुखसमृद्धि’ ले युक्त हुने विश्वास गरिन्छ। तर व्रतालु महिला मात्र हुनुपर्छ भन्ने छैन। पुरुष पनि व्रत बसेर पूजामा संलग्न हुन पाउँछन्। यो पर्व न जातीय छ न त वर्ग केन्द्रित।
छठले जलाशय र घाट सरसफाइलाई प्राथमिकता दिन्छ। त्यसैले दशैं सकिए लगत्तै धर्मावलम्बीहरू नदी, ताल, पोखरी सरसफाइमा खटिन्छन्। यसरी पानीको संरक्षण र संवर्द्धनसँगै प्रदूषण न्यूनीकरणलाई प्राथमिकतामा राखेकाले यो पर्व वातावरणीय दृष्टिकोणले पनि वैज्ञानिक छ।
छठ पर्व महिलाको त्याग र समर्पणको पर्यायवाची हो। उनीहरू ४० घण्टाभन्दा बढी सकेसम्म पानीसम्म नपिई उपवास गर्छन्। छठीमैयालाई खुशी पार्न घाटमा बसी एकअर्कालाई सिन्दूर लगाइदिई पति र सन्तानको कल्याणको कामना गर्छन्।
यसले देखाउँछ कि महिलाहरू आफ्ना पति, बच्चा र परिवारलाई अन्य कुराभन्दा प्राथमिकता दिन्छन्। पर्वमा सन्तान नभएका दम्पतीले त्यसैको प्राप्तिका लागि सूर्यको उपासना गर्ने प्रचलन पनि छ। यो पर्वमा कुनै पण्डितको आवश्यकता पर्दैन। प्रत्येक धर्मावलम्बी समान हुन्छन्। सबैलाई समान नियम छ।
नियम र निष्ठा
छठको व्रत बडो नियम र निष्ठाले बसिन्छ। यसमा तीन दिनको कठोर उपवासको विधान छ। पञ्चमीका दिन नून रहित भोजन एक छाक खाई थालिने व्रतमा षष्ठीका दिन पानी पनि पिउन नहुने मान्यता छ। पर्व अवधिभर व्रतालु भुइँमै सुत्नुपर्छ।
‘सूर्यषष्ठी’ का नामले पनि चिनिने यो पर्वमा शक्ति र ब्रह्म दुवैको उपासना गरिने भएकाले फल एकै साथ प्राप्त हुने विश्वास गरिन्छ।
छठको पहिलो दिन अर्थात् ‘नहाय खाय’ मा पूजामा चढाइने सम्पूर्ण सामग्री तयार पारिन्छ। दोस्रो दिन खरणामा दिनभर उपवास बसिन्छ। राति भगवान्लाई भेली, दूध र चामलबाट तयार पारिएको खर चढाई प्रसाद लिइन्छ।
तेस्रो दिन ठकुवा-भुसवा पकाइन्छ। बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ जसलाई सौझका अर्घ्य भनिन्छ। चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरी खाना खाइन्छ। यो प्रक्रियालाई पारण भनिन्छ। व्रत सकिएपछि छिमेकी, आफन्त तथा कुटुम्बलाई प्रसाद बाँडिन्छ।
यो चार दिनको पर्वभन्दा अघि ‘मरुवा माछ वारनाई’ पालना गरिन्छ। यो भनेको लसुन, प्याज, माछा-मासु नखाई हामी छठका लागि तयार भयौं भन्ने संकल्प हो। यस अर्थमा छठ पाँच दिने पर्व हो।
छठमा मौसमी फल, केराको घरी, उखु, ठेकुवा, मूला, सुथनी, अखरोट, बदाम, नरिवल, रातो-पहेंलो कपडा, कलश सहित करीब ७० प्रकारका वस्तुको प्रयोग हुन्छ। यीमध्ये कुनै चिज उपलब्ध नहुँदा तराईमा विशेष रूपले उब्जिने गम्हरी चामल राखेर त्यसको क्षतिपूर्ति गरिन्छ।
बाँसको टोकरीमा यी सबै पकवान्न हाली जलाशयको किनारमा राखिन्छ। बाँसकै टोकरी, घैला, माटोको हाती, माटोकै सर्वा लगायत भाँडावर्तनमा प्रसाद राखिन्छन्। बाँसले वंश बढाउने मान्यता रहेकाले सोही कामनाले यसैबाट बनेको टोकरी र सूप प्रयोग गर्ने गरिएको हो।
त्यसपछि महिलापुरुष र बालबच्चा मिलेर सोहर गाउँछन्-
रात छठी मइया गवनै अइली
आज छठिया मइया कहवा बिलम्बली
बिलम्बली बिलम्बली कवन राम के अंगना
जोड़ा कोशियवा भरत रहे जहवां जोड़ा नारियल धइल रहे जहंवा
उंखिया के खम्बवा गड़ल रहे तहवां।
छठी मातालाई कोशी नदी बहुतै प्यारो रहेको वर्णन यो गीतमा छ। छठ पर्वको भक्ति झल्किने गीत अरू पनि छन्। जस्तै-
केरा जे फरे घौद से ओई पर सुगा मँडराय
मारबौ रे सुगवा धनुष से, सुगा खसे मुरझाय
उ जे खबरी जनइबो अदिक से सुगा देले जुठियाए
उ जे मरबो रे सुगवा धनुक से सुगा गिरे मुरझाय
उ जे सुगनी जे रोवे ले वियोग से आदित होइ ना सहाय।
भूमण्डलीकरणको प्रभाव
छठमा भूमण्डलीकरणको प्रभाव पनि परेको छ। पहिले चिठीपत्रबाट शुभकामना आदानप्रदान हुने गरेकामा अहिले सामाजिक सञ्जालबाट गरिन्छ। यूट्यूबमा छठका भिडिओ प्रशस्तै छन्। यसबाट यो पर्व ‘इन्टरनेट फ्रेन्ड्ली’ बन्न पुगेको छ।
छठको महत्त्वबारे अहिले मधेशी मात्र होइन, तमाम हिन्दू समाज परिचित छ। यो उपलब्धि भूमण्डलीकरणका विभिन्न माध्यमबाटै सम्भव भएको हो। यद्यपि अहिले पर्वमा पटाका पड्काएर वातावरण प्रदूषित पार्ने प्रवृत्ति बढेको छ। यसलाई छठमा भित्रिएको आधुनिकीकरणको प्रतिकूल प्रभाव मान्न सकिन्छ।
कुनै वेला नेपालको मधेश, भारतका बिहार र उत्तरप्रदेशमै सीमित छठ अब काठमाडौं सहित हिमाली भेगमा पनि फैलिएको छ। केही गैरमधेशी समुदायमाझ पनि पुगेको छ। भारतको महाराष्ट्र लगायत प्रदेश तथा अमेरिका, इङ्ल्यान्डमा रहेका हिन्दूले पनि हर्षोल्लासपूर्वक छठ मनाउन थालेका छन्।
छठ पर्व दशैं-दीपावली आदिभन्दा सस्तो र कम झन्झटिलो हुन्छ। माटाका वर्तन, बाँसका सामान, बारीमा उब्जिने तरकारी, फलफूल प्रयोग हुने भएकाले पैसा धेरै खर्च हुँदैन। यसले नयाँ पुस्तालाई प्राचीन प्रयास र अनुभवको बोध गराउँछ।
यस पर्वले दिने सन्देशलाई हामीले जनजीवनमा किन ढाल्न सकेनौं त? विचार गर्नुपर्ने भएको छ। भाइचारा छठको दिन मात्र राखेर पुग्दैन। त्यसैले वर्षभरि नै मिलेर बसौं। वातावरणीय प्रदूषण विरुद्ध एक हौऔं। वातावरणीय संरक्षण, समानता र सामाजिक एकता नै यो पर्वका मूल सन्देश हुन्।