हङकङमा साकेला उधौलीको रमझम
किरात समुदायको सांस्कृतिक पर्व साकेला उधौली हङकङमा धूमधामसँग मनाइएको छ।
सिन्कौली सेउली सेलेले, नाचीमा जाउ है फेलेले,
देवी र देउता भाकेर, साकेला-सीली नाचेर,
सोई सोईला हो सोई सोईला…
सोई ढोले सोई, अर्को ढोले खोई…
हङकङको ताइतोङमा परम्परागत वेशभूषा र बाजागाजा सहित उपस्थित बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धाहरू पनि साकेला उधौलीको रमझममा नाचगानमा रमाएका थिए। उधौलीमा रमाउन किरात बाहेक अन्य समुदायका नेपालीहरू पनि हङकङको ताइतोङ पुगेका थिए।
स्थानीय चिनियाँहरूले समेत नेपालीहरूको यो उत्सवलाई रमाइलो मानेर हेरेका थिए।
हङकङमै जन्मे-हुर्केका नेपाली मूलका किशोरकिशोरीका लागि यो पर्व परम्परागत संस्कृतिलाई आत्मसात् गर्ने र साकेला नाच्न र ढोल-झ्याम्टा बजाउन सिक्ने अवसर बनेको थियो। उनीहरूलाई अग्रज र परिवारजनले सँगसँगै नचाएर सिकाइरहेका थिए।
किरात राई यायोख्खा हङकङकी अध्यक्ष चन्द्रका राईको नेतृत्वमा सम्पन्न यस वर्षको उधौली उद्घाटन समारोहमा हङकङ नेपाली महासंघ, आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न संघसंस्थाका अगुवाको उपस्थिति थियो। यही अवसरमा यायोख्खा हङकङको तेस्रो अन्तरभाषिक ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पदक तथा पुरस्कार पनि प्रदान गरिएको थियो।
अन्नबाली भित्र्याएको खुशीयालीमा मंसीर पूर्णिमामा उधौली मनाउने गरिन्छ। खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मनाइने यस पर्वलाई राईले साकेला उधौली, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवा र लिम्बूहरूले चासोक तङ्नाम भनेर मनाउने गर्छन्।
किरात समुदायमा अन्नबाली लगाउने वेला वैशाख पूर्णिमाको दिन भने उभौली मनाइन्छ।
हङकङमा रहेका विभिन्न नेपाली समुदायले आआफ्नो संस्कृति अनुसार उल्लासपूर्वक विभिन्न चाडपर्व मनाउँदै आएका छन्।
यायोख्खाको भ्रातृसंस्था किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राईका अनुसार सोमबार सम्पन्न यस पटकको हङकङको उधौली साकेलामा करीब ५०० मानिसको सहभागिता थियो।