सिंगार्न थालियो छठ घाट
तिहार सकिएसँगै तराईका जिल्लामा छठको तयारी शुरू भएको छ।
छठका लागि आवश्यक सामग्रीको जोहो गर्दै स्थानीय छठको तयारीमा जुटेका छन्। जलाशयहरू सरसफाइ गर्ने र सजाउने काम हुँदै छ।
पौराणिक महत्त्व बोकेको जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरा सागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमती घाट लगायतमा सरसफाइ तथा सजाउने काम भइरहेको छ।
यस वर्ष मंसीर ३ गते षष्ठीको दिन विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने भए पनि छठको मुख्य विधि तीन दिनअघि नै शुरू हुनेछ। शुक्रबार नहाय खायसँगै चारदिवसीय छठ व्रतको शुरू हुनेछ।



