कला/साहित्य सोमबार, असोज २०, २०७६

धत् ! (कथाः आन्विका गिरी)

हिमालखबर

–अन्विका गिरी

उसले मलाई बसमा भेटेकी हो । उसले मलाई भेट्दिनथी भने मैले त उसलाई कहिल्यै भेट्ने थिइनँ ।

अन्विका गिरी

जागिरका अन्तिम दिनहरूमा म अफिसकै कामले चितवन जाँदैथिएँ । बसमा यात्रा गर्दा मलाई झ्यालतिरको सिट चाहिन्छ । बान्ता आउँछ । कसैसँग बोल्न मन लाग्दैन । कसैले मलाई बोलाइहालेछ भने पनि मेरो अँ, उँको जवाफले थप संवादलाई प्रोत्साहन गर्दैन ।

झ्यालको सिटमा जिङ्रिङ्ग कपाल फिंजाएर ऊ बसिसकेकी थिई । म सिट छेउमा पुग्दा ऊ कपाल सम्हाल्दै थिई । छेउमा म आएको आभास पाएपछि उसले हेरी र ङिच्च हाँसी । मैले रुन्चे भावमा यताउता नजर घुमाएँ कतै झ्यालको सिट खाली छ कि भनेर, तर बेकार भयो । टिकटमा झ्यालको सिट भनेर लेखेको थिएन । मुखबाट बोली निस्किन गाह्रो थियो । फेरि महिलाहरू उसै धेरै वाक्छन् । सिट छोड्न के मान्थी होला र !

दिक्क मान्दै झोला सिटमाथिको सामान राख्ने ठाउँमा राखें र सिटमा बसें । करीब दश सेकेन्डजति यात्रा शान्तिपूर्वक नै अघि बढ्यो । जसै उसले कपाल बाँधिसकी, त्यसपछि मैले मेरो जीवनको शान्ति गुमाएँ भन्दा हुन्छ ।

मैले प्यारप्यार बोल्ने धेरै आइमाई देखेको थिएँ, तर फेला परेको थिइनँ । यसै पनि आइमाईसँग बोल्नुपर्ला भनेर म आफैं सतर्क हुन्छु । भाग्छु । लाज लाग्छ । पचपन्न कटिसक्दा पनि मलाई अझै त्यस्तो हुन्छ । अनि उनीहरूसँग हामीले गर्नुपर्ने कुरा नै के हुन्छ र जस्तो लाग्छ । उनीहरूका र हाम्रा गफ नै बेग्लै हुन्छन् ।

‘तपाईं बान्ता गर्नुहुन्छ ?’ उसले कुराको शुरूआत गरी ।

‘गर्छु’, मैले मनमनै भनें ।

‘गर्दिनँ’, उसले सुन्ने गरी भने यसो भनें ।

‘ग्रेट !’ उसले लामो सास फेरी, ‘नभए झ्यालको सिट दिन सक्थें ।’

गर्छु भनेकै भए नि के हुन्थ्यो ! आइमाईसँग के आफ्नो कमजोरी देखाउनू भनेर गफ लाइयो । मलाई के थाहा आइमाईहरूले पनि झ्यालको सिट त्यसरी सरक्क छोडिदेलान् भन्ने ! मैले पनि कहिले मागेको छु र झ्यालको सिट ? आज त माग्न सकिनँ ।

बान्ता नगर्ने भन्दैमा झ्यालमा बस्नुहुन्न भन्ने पनि थिएन । उसले एकचोटि ‘झ्यालमा बस्न चाहनुहुन्छ’ भनेर पनि सोध्न सक्थी । सोधेकी हुन्थी भने म उफ्रेर झ्यालतिर जान्थें ।

हामीले त्यसपछि छोराका लागि कोशिश पनि गर्‍यौं, तर मनु फेरि आमा बन्न सकिनँ । दोस्रो विवाहका लागि पारिवारिक दबाब नआएको होइन, तर सकिनँ । छोराको चाह मनमै दबाइदिएँ । छोरीहरू जून झैं उज्याला थिए । तर वर्षौंपछि पारिवारिक जमघटमा वंशको कुरा हुँदा मेरो मुखबाट फुत्त निस्कियो, ‘मनुले एउटा छोरा दिन सकिनन् ।’

‘झ्यालको सिट चाहिएको छ ?’ उसले फ्याट्ट सोधी पनि, मानौं ऊ मेरो मनको कुरा पढ्दै छे । ‘छैन’, मैले यसरी जवाफ दिएँ मानौं यो जवाफ अटोफिट थियो । थुक्क म ! दुई–दुई वटा मौका गुमाएँ ।

‘सौराहा कति कामले हिंड्नु भो ?’ उसले सोधी ।

‘अफिसको कामले !’

‘कुन अफिसमा काम गर्नुहुन्छ ?’

‘समाज कल्याण परिषदमा ।’

‘जागिर रमाइलो छ ?’ ऊ उत्साहित हुँदै मतिर फर्की । म भने छोइएला भनेर पूरै सतर्क छु । कस्ती लाज नभएकी आइमाई !

‘अँ’, म अझै छेउतिर सरें ।

‘के रमाइलो हुन्छ सरकारी जागिर !’ उसले उडाई, ‘उमेर हेर्दा त रिटायर हुने बेलाजस्तो देखिन्छ । अनुहारमा फिटिक्कै उज्यालो बाँकी छैन ।’

फ्याट्ट के जवाफ दिने भन्ने सोच्न नसकेर फिस्स हाँसें । उसले भने मौका पाए जस्तो भयो ।

‘जुन अफिसमा गयो, ठुस्स परेका कर्मचारी भेटिन्छन् । बोल्न समेत पैसा पर्ने खालका’, मेरो अनुहारमा हेर्दै दाहिने आँखा हल्का खुम्च्याएर ‘तपार्ईं त त्यस्तो गर्नुहुन्न नि ?’ भनेर हल्का चर्को स्वरमा बोली ।

‘गर्दिनँ, गर्दिनँ’, मैले डराएर भनें, मानौं ‘गर्छु’ भनें भने उसले थप्पड हान्छे ।

‘हा हा हा’, बसै थर्केला जस्तो गरेर हाँसी । धत्, कस्ती बेसरम आइमाईको छेउमा परेछु । कस्तो हाँस्न सकेकी होली अन्जान मान्छेसँग ! मनु त्यसरी हाँसेको मलाई सम्झना नै छैन । ऊ मुस्कुराउँथी मात्र । त्यो पनि जमघट छ भने मतिर हेर्थी । तर के उसलाई कहिल्यै जोरले हाँसो लागेन होला ? खै ! सोधेको भए पो जान्नु ! सोध्नुपर्ने कुरा नै लागेन कहिल्यै ।

‘दुई दिनको जिन्दगीमा मरिलानु के छ र हौ ठुस्स पर्नलाई !’ उसले मेरो काँधमा प्याट्ट हानेर भनी, ‘होइन त ?’

‘हे हे हे... हो हो हो’, मैले यति मात्र भनें । योभन्दा बढी म स्वभावैले बोल्दिनथें, त्यसमाथि वाक्वाकीले पेट हुँडलिएको थियो । मैले बान्ता रोक्न सकिनँ । कति गरे पनि सकिनँ । उसको कुर्तामा पनि लाग्यो । सारै बिजोग तालले बान्ता गरें । र्‍याल सिंगान भएँ । प्लास्टिक चाहिन्छ भनेर सोध्न आएको खलाँसी केटोलाई पनि फर्काइदिएको थिएँ ।

‘ए बाबु, चार–पाँच वटा प्लास्टिक लिएर आऊ’, ऊ सिटबाट उभिएर जोडले कराई ।

‘सोधेको बेला हुँदैन भन्छन्’, केटो भुत्भुताउँदै आयो, ‘यत्रो बूढो मान्छे भएर पनि !’

उसले हाते ब्यागबाट सानो तौलिया निकाली । पानीले अलिअलि भिजाई र मलाई दिई । तौलिया समाउँदा मेरा हात काँपिरहेका थिए । मैले लाजले उसको अनुहार हेर्न पनि सकिनँ । मुख पुछपाछ गर्दै गर्दा चिया खाने ठाउँमा गाडी रोकियो ।

गाडीबाट सबै झरिसकेपछि मैले सिट सफा गरें । सर्ट फेरें । खलाँसीले झ्यालको सिट मिलाइदेला कि भनेर अनुरोध गरें । केटोले ‘सक्दिनँ’ भन्यो ।

‘आन्टीलाई भन्नु न’, केटोले सीधै भन्यो ।

‘आन्टीलाई भन्न सक्ने भए तँलाई किन भन्थें र’, मनमनै भनें ।

सबै यात्रु फर्किंदा पनि ऊ आएकी थिइनँ । ड्राइभरले गाडी शुरू गर्नै लागेको थियो, खलाँसीले ‘एक जना आन्टी आउनुभा’को छैन’ भन्यो । मैले यसो हेरेको ऊ आनन्दले खाँदै थिई । ड्राइभरले तीन–चार चोटि हर्न बजाएपछि ऊ आई । एकपटक मनु यसैगरी ढिलो खाँदै थिई । मैले उसको पाखुरामा समाएर ल्याएको थिएँ । उसले छोडेको समोसा टिठलाग्दो पाराले पछाडि फर्केर हेरेकी थिई । अहिले पो सम्झेर मन अमिलो भयो ।

मनुलाई मैले कहिल्यै आफ्नो साथी ठानिनँ । उसले पनि शायद कहिल्यै ठानिन होला । चाह भने थियो होला, नत्र आफ्नी बहिनीलाई भन्दिनथी होला, ‘भिनाजु र म कतै बाहिर जाँदा भिनाजु दश मिटर अघि हिंड्नुहुन्छ । लाग्छ, हामी सँगै हिंडौं । तर, उहाँको पाइलै लामो हो कि मेरो सारै छोटो भेउ पाउन सकिनँ ।’

‘खान पनि नपाउनु ?’ ऊ फत्फताउँदै आई । ऊ सिटमा छिर्ली र म छिरूँला भनेर उभिइरहेको थिएँ ।

‘उभिएरै सौराहा पुग्ने विचार गर्नुभो ?’ उसले झ्यालको सिटतिर इशारा गर्दै बस्न भनी । ‘होइन अहिले ठीक छ’, मैले टारें ।

‘जम्मा दुई जोर लुगा लिएर हिंडेकी छु’, उसले फेरेको लुगातिर देखाउँदै भनी, ‘इनकेस पानी परिहाल्यो र लुगा सुकेन भने म यही लुगा लगाएर यस्तो गर्मीमा डुलिहिंड्नु ?’

सरक्क केही नबोली झ्यालतिर गएर बसें । यसरी त मनुले पनि मसँग कुरा गरेकी थिइनँ । मनु कहाँ यस्ती थिई र ! ओहो, उसको बोलीको मिठास त म कहाँ भुलूँला र !

‘नुन पुगेको छ ?’ ‘तपाईंलाई आकाशे कमिजले खुल्छ ।’ ‘तपाईंलाई मन पर्छ भनेर भिन्डी पकाएकी ।’

मनुलाई सम्झियाे कि मुटुमा गाँठो पर्छ । मलाई एक्लो पारेर ऊ अनन्त यात्रामा हिंडी ।

‘तपाईं विवाहित हो ?’ उसको बोली कस्तो टर्रो सुनिएको !

‘तँलाई के मतलब !’ म ठ्याक्कै यही भन्न चाहन्थें तर सकिनँ । ‘हजुर’, मैले सानो स्वरमा बोलें । उतिर नफर्किकन बोलें ताकि उसले मैले बोल्न नचाहेको बुझाेस् । ऊ कहाँ बुझ्ने खालकी थिई र !

‘छोराछोरी कति जना छन् ?’ उसले तुरुन्तै सोधी हाली ।

‘दुई छोरी’, फेरि पनि मैले उतिर हेरिनँ ।

‘वाउ, नाइस’, ऊ आफैंमा मक्ख सुनिई, ‘छोरीहरू हुनु कति रमाइलो होला !’

मैले पुलुक्क उतातिर हेरें ।

‘मेरो एउटा छोरा मात्र छ’, ऊ हाँसी, ‘छोरी पाउन सकिएन, जुनी खेर गएजस्तो भयो ।’

‘एउटा छोरा पनि दिन सकिनँ’, कान्छी छोरीको पालोमा मनुले अस्पतालको बेडमा भनेको याद आयो । ऊ कति निराश भएकी थिई । कान्छीले कुनै बेला आमाको त्यो अनुहारको वर्णन कसैबाट सुनी भने के सोच्छे होला ! उसका आमाबा उसलाई पाउँदा खुशीभन्दा दुःखी बढी थिए । मनुलाई त मैले त्यतिखेर फिस्स हाँसेर टारें ।

हामीले त्यसपछि छोराका लागि कोशिश पनि गर्‍यौं, तर मनु फेरि आमा बन्न सकिनँ । दोस्रो विवाहका लागि पारिवारिक दबाब नआएको होइन, तर सकिनँ । छोराको चाह मनमै दबाइदिएँ । छोरीहरू जून झैं उज्याला थिए । तर वर्षौंपछि पारिवारिक जमघटमा वंशको कुरा हुँदा मेरो मुखबाट फुत्त निस्कियो, ‘मनुले एउटा छोरा दिन सकिनन् ।’

त्यतिखेर कसैले हठात् विषय मोड्यो । त्यसपछि मैले मनु बित्दासम्म उसको अनुहारमा सधैं रहने शान्त मुस्कान देखिनँ । उसले निकै थला परेको बेला मेरो हात समाएर भनेकी पनि थिई, ‘कान्छी १६ पुगिसकी । गरिखान्छे । अरू त सबैथोक पाएँ होला, दिएँ होला छोरा दिन सकिनँ । त्यसैको थकथकी रह्यो ।’

मर्दामर्दै पनि उसलाई मैले भन्न सकिनँ, ‘तिमीले मलाई जून जस्ता सन्तान दियौ । नसकेको हो भने पनि मैले दिन नसकेको हो ।’

‘अनि तपाईंकी श्रीमती के गर्नुहुन्छ ?’ फेरि पनि उसले मनुको सम्झना भङ्ग गरी ।

‘ऊ मरिसकी’, मैले रिस मिसिएको स्वरमा भनें । यो कस्ती आइमाई हो ! चिन्नु जान्नु छैन, कोट्याई कोट्याई बोलाउँछे ।

‘ओह ! छोरीहरू के गर्छन् नि ?’ फेरि टाँसो लागी ।

उफ् ! मलाई भन्न मन थियो, ‘मलाई बोल्न मन छैन । तँ पनि बकबक बन्द गर् ।’

‘ठूलीको पसल छ न्यूरोडमा’, तर म निकै भद्रताका साथ बोलें, ‘कान्छी परिवार सहित विदेश छे ।’

मनुले एकपटक गुनासो गरेकी थिई, म छोरीहरूका बारेमा कसैसँग कुरा गर्दिनँ । कसैले सोधिहाले भने ‘ठीकै छ’ मात्र भन्छु । आज धेरैपछि कसैले सोध्यो । रिसाउन सकिनँ ।

‘गज्जब’, उसले भनी, ‘छोराछोरीले गरिखानु पनि बुढेसकालमा आनन्द दिने कुरा हो ।’

‘सर के गर्नुहुन्छ ?’ मैले फ्याट्ट सोधिहालें । त्यसरी सोध्ने मेरो बानी होइन । त्यसमाथि आइमाईहरूसँग म बोल्दै बोल्दिनथें ।

‘खै, आजभोलि के गर्छ । मसँग हुन्जेल स्कूलमा पढाउँथ्यो’, उसले मुस्कुराएर भनी ।

एक मिनेटका लागि त आफ्नो कुरा क्या गज्जबले मिलाएर भन्न जानेकी भनेर छक्क परें । मैले जसरी ठाडै ‘मरिसक्यो’ भनिनँ । म भने के सारो जङ्गिएको थिएँ । ओहो, मनुले सुन्थी भने कति दु:खी हुन्थी । हुन त उसले सुन्थी भने मैले भन्दिनथें पनि ।

‘के गर्ने काल आएपछि कसको के लाग्छ र !’ मैले सहानुभूति जनाएँ । यो पनि आफ्नो स्वभावको बिल्कुलै विपरीत ।

‘हा हा हा’, उसले मेरो काँधमा प्याट्ट हानी । म भने पक्क परेर उसलाई हेरिरहेको छु । ऊ त आँखाबाट आँसु चुहिने गरी हाँसिरहेकी छे । अघिल्ला–पछिल्ला सिटका मान्छेले ‘के भएछ’ भनेर उठेर हेरिरहेका छन् । म लाजले रातो भएँ । के खालकी आइमाई हो ! कस्तो लबस्तरो हाँसो हाँसेकी आफ्नो मरेको लोग्नेको कुरा हुँदा ।

मैले अप्ठेरो मानेर उसलाई हेरिरहेपछि उसले हाँसो रोक्दै ‘सरी’ भनी । ‘हाम्रो डिभोर्स भएको हो’, उसले निधार तन्काएर भनी, ‘१५ वर्ष भो देखेकी छैन । त्यसैले त्यस्तो जवाफ दिएकी ।’

धत्, साँच्चै लाज नभएकी आइमाई रहिछ । ल हेर त आफ्नो डिभोर्सको कुरा सुनाउनुअघि कस्तरी हाँसेकी !

त्यसपछि मैले केही सोधेको होइन । ऊ आफैंले भनेकी हो ।

‘कलेज पढ्थ्यौं सँगै । माया बस्यो । जात मिल्दैनथ्यो । भागेर बिहे गरेको’, उसले आफ्नो कहानी शुरू गरी ।

उः, मलाई लागेको थियो यस्तै केही भएको थियो भनेर । भागेर बिहे गरेकी रै’छे । त्यसै हुन्छ डिभोर्स !

‘शुरू–शुरूमा त खुबै प्रेम थियो । उसका बाआमा, मेरा बाआमा रिसाउँदा’नि हामीलाई केही फरक परेन’, ऊ सुनाइरहेकी थिई, ‘पछि त उसले सानो सानो कुरामा हात उठाउन थाल्यो । चुप लागें । बच्चा भयो । अझै कुट्न थाल्यो । कहिले के भएन, कहिले फलानासँग के बोलेकी ? कहाँ गएकी ? मलाई किन नसोधेकी भनेर कुट्न थाल्यो ।’

‘आफ्नै मनमर्जी चलाउँथी होली अनि किन नभकुरोस्’, मलाई उसका कुरामा कत्ति पनि चासो थिएन । म त एउटा प्रश्न सोधेर फसिसकेको थिएँ ।

‘ऊ र म त सँगै पढेका । मेरो प्रेमी र पति हुनुअघि ऊ मेरो साथी थियो’, उसले भनी, ‘शायद उसले त्यो कुरा बिर्सियो ।’

मनुलाई मैले कहिल्यै आफ्नो साथी ठानिनँ । उसले पनि शायद कहिल्यै ठानिन होला । चाह भने थियो होला, नत्र आफ्नी बहिनीलाई भन्दिनथी होला, ‘भिनाजु र म कतै बाहिर जाँदा भिनाजु दश मिटर अघि हिंड्नुहुन्छ । लाग्छ, हामी सँगै हिंडौं । तर, उहाँको पाइलै लामो हो कि मेरो सारै छोटो भेउ पाउन सकिनँ ।’

उसले यसो भन्दै गर्दा म अफिसबाट घर आइपुगेको थिएँ । मेरी साली आफ्नी दिदीलाई भेट्न आएका बेला दिदी बहिनीको कुरा मैले ढोकामा सुनें । एकछिन उभिइराखें । सालीले मलाई देख्दा उनीहरू अर्कै विषयमा प्रवेश गरिसकेका थिए । त्यसपछि पनि मैले मनुसँग पाइलामा पाइला मिलाएर हिंड्न सकिनँ । कोशिश पनि गरिनँ । लाग्यो, आइमाईका चाहना पनि कति उदेकलाग्दा हुन्छन् !

‘ऊ मलाई कुनै कुराको लागि पनि कहिल्यै सोध्दैनथ्यो । मैले पनि सोधिनँ त के बिग्रियो ? के तपाईंकी स्वास्नीले उसका बाआमालाई भेट्न पनि तपाईंलाई सोध्नुपर्थ्याे ? भन्नुस् त !’ उसले तुरुन्तै जवाफ मागे जस्तो गरी ।

‘पर्दैनथ्यो’, मैले हाकाहाकी झूट बोलें ।

त्यो दिन म अफिसबाट घर आउँदा झरी परिरहेको थियो । घर पुग्नेबित्तिकै एक कप चिया खान आतुरी भएर मैले हिंडाइको रफ्तार बढाएको थिएँ, तर घर पुग्दा मनु थिइनँ । छोरीहरू पनि थिएनन् । ढोकामा ताल्चा लागेको थियो । मलाई थाहा नभई मनु कतै गएको मलाई थाहा थिएन ।

कोठाको चाबी घरबेटीकहाँ पो छोडेकी छे कि भनेर सोधें । उनीहरूलाई पनि थाहा थिएन । हामी तल्लो तलामा बस्थ्यौं । माथिबाट झर्दा दिक्क लागेर भर्‍याङमै थ्याच्च बसें ।

‘कहाँ गएकी होली ?’ रिसले मुर्मुरिएर म त्यहाँ बस्दाबस्दै निदाएछु ।

जेठी छोरी कल्पनाले ‘बाबा, बाबा’ भनेर उठाउँदा पो ब्यूँझिएँ । बाहिर झमक्क रात परिसकेको थियो ।

‘के पारा हो यो ?’ म जङ्गिए, ‘भनेर जानु पर्दैन ?’

‘बुवालाई भेट्न जान मन लाग्यो’, मनुले निदाउरो भएर भनी, ‘दिउँसो सुत्दा नराम्रो सपना देखें ।’

‘भोलि जान सक्दैनथ्यौ मलाई सोधेर ?’, मेरो रिस मरेकै थिएन, ‘मनमर्जी गर्नुपर्छ ?’

मनुका बालाई दम थियो । बिरामी परिराख्थे । नराम्रो सपना देखेपछि आत्तिई होला । उसले चाबी छाड्न बिर्सी, अरू त के नै बिराएकी थिई र ! मेरो रिसले मनु डराएकी थिई ।

‘सानो सानो कुरामा पनि कसैले हात उठाउँछ ?’ फेरि मनुको सम्झना भङ्ग हुने गरी उसले सोधी । यसपटक सोधेरै ठीक गरी । मनुको अँध्यारो अनुहार सम्झेर फेरि मलाई उलुक्क आउला जस्तो भएको थियो । तर उसको प्रश्नले मलाई फेरि हुत्याएर मनुकै सम्झनामा पुर्‍याइदियो ।

बालाई भेटेर हिंड्दा शायद पानी परेकै थिएन होला । ऊ र छोरीहरू निथ्रुक्क भिजेका थिए । छोरीहरू लुगा फेर्न कोठामा छिरे पनि मनु हतारहतार भान्सामा पसी । उसले मेरो अगाडि कप राख्दा उसको कपालबाट पानी चुहिइरहेको थियो । टेबलमा कप राखेर ऊ कोठा छिरेकी थिई ।

‘मनु, मनु’, मैले घरै उचालिने गरी कराएपछि ऊ दौडिएर आई ।

‘एक कप गतिलो चिया खान पाइँदैन है !’ मैले कपतिर देखाउँदै हप्काएँ, ‘बालाई भेटेको खुशीमा मलाई चाहिं नुन हालेको चिया खुवाउने ?’

‘ओहो, म झट्टै अर्को बनाएर ल्याउँछु’, ऊ कप लिन आई । ऊ यति आत्तिई कि मानौं ठूलै भूल गरेकी होस् ।

‘पर्दैन’, मैले झर्केर भनें, ‘पुग्यो मलाई ।’

‘होइन म एकै मिनेटमा बनाइदि’हाल्छु’, उसले कप उठाई ।

‘पर्दैन भनेको सुनेनौ ? कि अब मलाई सुन्न पनि छाड्यौ’, म यस्तरी कराएँ कि मनुका हातबाट कप झर्‍याे । छोरीहरू ढोकामा आएका थिए, आँखामा भय लिएर । चिया सेलाइसकेको थिएन । मनुको हात पोल्यो होला । मैले त्यो दिन सोधिनँ । सोधेर म सम्हालिएको भए आज मलाई पोल्दैनथ्यो होला ।

‘प्लास्टिक, प्लास्टिक’, मैले हात तेर्स्याएँ, मानौं ऊ अघिदेखि लिएर ठिक्क परेकी होस् । बानीले गर्दा बान्ता भा’को थियो कि सम्झनाले, अलमलमा थिएँ ।

कतिबेरदेखि बान्ता गरेको थिइनँ । फेरि उही र्‍याल सिंगान । उसले वेट पेपर बोकेकी रैछे । दिई । मुख पुछें । पानी दिई । कुल्ला गरें । एक घुट्को खाएँ पनि । एकछिनमा मुग्लिन पुगियो ।

‘खाना कहाँ खुवाउने हो बाबु ?’ उसले सोधी ।

‘अब अलि पर’, सोधेको उसले भए पनि केटोले जवाफ सबैलाई हेरेर दियो ।

‘छोरा पाँच वर्ष हुँदासम्म केही बोलिनँ’, ऊ फेरि शुरू भई, ‘छोराको अगाडि पनि उसले कुट्थ्यो । त्यो दिन पनि म केही बोल्दिनथें होला । के निहुँ हो, याद पनि छैन । उसले मलाई झापड हान्यो । सोफामा उफ्रिरहेको छोराले ताली बजायो ।’

‘अनि मात्र चेत आयो मेरो’, उसले आफ्नो माथा ठोकी, ‘मैले पनि कसेर एक झापड फर्काएँ । उसले मलाई त्यत्रो वर्ष कुटुन्जेल मैले कहिल्यै उसलाई घरबाट निकाल्न सकिनँ । उसले त एक झापडमै मलाई अहिल्यै घर छोड्, निस्किहाल् पो भन्न थाल्यो ।’

ऊ त्यो घरबाट निस्किई । उसले सुनाउनै परेन । त्यो मान्छेलाई नछोडेकी भए ऊ आज कहाँ यसरी बक्बक् गरिरहेकी हुन्थी र !

खाना खाने ठाउँमा पुगेर मैले हातमुख धोएँ । थोरै तातो खाने इच्छा जाग्यो । म होटलभित्र छिर्दा ऊ यताउता गरिरहेकी थिई । केही खोजेर नभेटे जस्तो ।

बसमा फर्किंदा ऊ मभन्दा पहिले नै सिटमा आएर बसिसकेकी थिई ।

‘आन्टी त आइसक्नुभा’को रै’छ’, खलाँसी केटो हाँस्यो ।

‘धीत मर्ने चिया खानै पाइएन’, उसले फत्फताई, ‘अनि के गर्नु त भित्र नआएर ।’

‘अनि बुझ्नुभयो’, उसको कुरो बाँकी नै थियो, ‘छोरो बोकेर हिंडें । कहिल्यै पछि फर्केर हेरिनँ ।’

‘त्यही भएर अहिले यस्तो फुक्काफाल छेस्’, मनले हल्ला गर्‍यो ।

‘धत् !’ मैले मनलाई हकारें, ‘चुप् !’

कान्छीले धेरैपछि मनुको श्राद्धमा भनेकी थिई, ‘आमालाई तपार्ईंले त्यसरी कराउनु हुन्थेन बाबा । आमाको मन दुखेको थियो ।’

आज आफ्नै मनलाई कराउन पाउँदा हल्का महसूस भयो । ऊ बोली नै रहेकी थिई ।

‘ऊसँग बसुन्जेल, अड्कलेर बोल्नुपर्ने । तौलेर शब्दहरू झर्नुपर्ने’, मतिर हेरी, ‘मैले बिर्सिसकेकी थिएँ कि गफ गर्नु कति रमाइलो हुन्छ ।’

‘हा हा हा’, उसले मेरो काँधमा प्याट्ट हानी । म भने पक्क परेर उसलाई हेरिरहेको छु । ऊ त आँखाबाट आँसु चुहिने गरी हाँसिरहेकी छे । अघिल्ला–पछिल्ला सिटका मान्छेले ‘के भएछ’ भनेर उठेर हेरिरहेका छन् । म लाजले रातो भएँ । के खालकी आइमाई हो ! कस्तो लबस्तरो हाँसो हाँसेकी आफ्नो मरेको लोग्नेको कुरा हुँदा ।

मनु पनि कति थोरै बोल्थी । सोधेको कुरा मात्र भन्थी । पाहुना आएका छन् भने, मेरा साथीहरू छन् भने त उसको बोली नै हराउँथ्यो । उसले पनि मसँग बिहे भएर आएपछि गफ गर्न बिर्सी ? मनुको सम्झनाले फतक्कै गलायो । म झकाएँ ।

उसले एकपटक ‘सुत्नुभयो कि क्या हो ?’ भनेर सोधे जस्तो लाग्छ । त्यसपछि एकैपटक सौराहा बसपार्कमा बजेको हर्नले ब्युँझिएँ।

ऊ पनि पो सुतिछे । शायद बोल्दा बोल्दा थाकी होला । मैले उसको अनुहार हेरें । मुख आँ गरेकी थिई । बच्चा जस्तो निश्छल अनुहार । मानौं मनमा केही सन्ताप छैन ।

‘आन्टी त यही बसमै बस्नुहुन्छ कि क्या हो अंकल ?’ खलाँसी केटो हाँस्दै करायो, ‘सौराहा, सौराहा !’

‘लौ आइसक्यो ?’ ऊ जर्‍याकजुरुक्क भई । ऊ कपाल सम्हाल्दै थिई, म तल ओर्लें ।

मलाई लिन अफिसको गाडी आइसकेको थियो । झोला बोकेर सरासर हिंडिसकेको थिएँ । पछाडि फर्कन मन भयो । हेरेको, ऊ यताउता हिंड्दै थिई । शायद आफ्नो होटलको गाडी खोज्दै थिई । एकछिन हेरिरहें । फोनमा कुरा गरी । अनि थपक्क एउटा पसलको बेन्चमा गएर बसी ।

‘तपाईंले त बाई पनि भन्नुभएन !’ म उसको छेउमा पुगें ।

‘अब तपाईंलाई बान्ता नहोला’, ऊ मुस्काई, ‘मेरो बकबकले बोर गर्दिनँ । बाई !’

म लजाएँ । खुट्टाले जमीन खोस्रिएँ । साहस गरेर टाउको उठाएँ, ‘मलाई यहाँ मीठो चिया पाइने ठाउँ थाहा छ । तपाईंलाई चिया पिउन मन छ ?’

प्रतिकृया दिनुहोस