उनीहरु खलङ्गा, म लागें गोठिज्यूलातिर
गमगढीबाट जीप, ट्रक, बस जे पाइन्छ त्यसैबाट नेपालगन्ज झरेर विमानबाट काठमाडौं उत्रिंदा मलाई आफ्नो अनुहार अर्कै लाग्यो ।
समाजशास्त्रका गुरु चैतन्य मिश्रले आफ्ना जुनियरहरूलाई दिने एउटा सुझाव छ– ‘नेपाली समाज बुझ्नु छ भने सार्वजनिक यातायातमा हिंड्नुहोस् ।’ हामी चारजनाले कर्णाली फेलोशिप पाउँदा पनि सडक यात्रा गर्ने निर्देशन भएकोले काठमाडौंबाट गाडी चढेर ५२ घण्टामा मुगु जिल्ला सदरमुकाम गमगढी पुगेका थियौं ।
फर्किंदा भने ताल्चा विमानस्थलदेखि नेपालगन्जसम्म हवाई यात्रा गर्ने योजना थियो । अघिल्लो दिन सोरुकोटबाट १४ कोस हिंडेको थकाइले लस्त म जेठको तेस्रो बिहीबार बिहानको घाम चर्कर्दै गर्दा गमगढीको होटलमा बसिरहेकी थिएँ ।
दुई घण्टा पैदल उकालो चढेपछि पुगिने ताल्चा बेलुकातिर जानुपर्ला भन्ने सोचिरहेको बेला २२–२३ वर्षका चार युवक होटलमा पसे ।
हिजो ताल्चा बसेर अब दुई दिनमा आउने जहाजमा आफ्नो पालो नपाउने थाहा पाएपछि फर्केका रहेछन्, उनीहरू ।
उनीहरूको कुरा सुन्दा मैले यो क्षेत्रमा काम गरेका हरि उपाध्यायले भनेको किस्सा सम्झें । कर्णालीको कुनै जिल्लाका सिडिओ साहेबको छोरीको विवाह थियो । उनले विवाहभन्दा १० दिन अगाडि जहाज चढेर घर पुग्ने योजना बनाएछन् । उनी हरेक दिन विमानस्थल पुग्दा रहेछन्, तर मौसमको खराबीको कारण जहाज आउँदो रहेनछ । विमानस्थल धाउँदा धाउँदै छोरीको विवाहको दिन आइपुगेछ । बाबु जहाज कुर्दै बसे, घरमा छोरीको विवाह सम्पन्न भयो ।
आफ्नो हालत पनि ति सिडिओको जस्तै होला भन्ने लागेर म गाडीको टिकट काउन्टरमा गएँ । बजारमा एउटा जीप आएको तर, पट्टा भाँचिएर बनाउँदै गरेको थाहा भयो ।
काउन्टर अगाडि हुम्ला र मुगुका दुई महिलाहरुको समूह थियो ।
सरकारी जागीरको परीक्षा दिन जुम्ला सदरमुकाम पुग्नुपर्ने उनीहरु सबै दुई दिनभन्दा बढी हिंडेर आएका रहेछन् ।
३५ युवकको समूह विदेशीहरूलाई सिमकोटबाट जहाजमा नेपालगन्ज पठाएर सात दिनमा गमगढी आइपुगेको रहेछ ।
एक हप्ता अगाडि जुम्ला पुग्ने भनेर घरबाट निस्केका हुम्ली युवतीहरू जहाजमा सीट पाइएला कि भनेर तीन दिन सिमकोट बसेछन् ।
“टुरिष्ट पनि कति आएछन्, यो वर्ष !” समूहकी एउटीले भनिन्, “मानसरोवरबाट फर्केका, लेक लागेका, घर सम्झेर रोइरहेका, खैरे भन्दा पनि इन्डियनको बिजोग देख्न नसकेर हामी त हिंड्यौं ।”
समूहकी एक जनाको त भोलिपल्ट तीन बजे परीक्षा थियो त्यसमाथि हिंडाइको तोडले ज्वरोग्रस्त थिइन् उनी ।
एक घन्टामा बन्छ भनेको जीप चार घण्टापछि आयो । गाडीमा सबैलाई अगाडिको सीटमा बस्नुपर्ने भयो । महिलाहरूलाई अगाडि बसाउने ड्राइभर भाइको सामान्य नियम पनि रहेछ । त्यो दिन पुरुषभन्दा महिला बढी थियौं ।
७ जनालाई अगाडि राखेर बाँकी जीपको पछाडि बस्यौं । मुगुका केटीहरू अगाडि र हुम्लाका पछाडि परेछन् ।
जिपमा खाँदिनासाथ केटीहरूले ‘हामीलाई छाद आउँछ प्लास्टिक देऊ’ भने । गाडी ताल्चा नपुग्दै बान्ता शुरू भइपनि हाल्यो, मसँगै बसेकी बहिनीलाई समेत ।
घुम्ती नै घुम्ती भएको पहाडी कच्ची सडकमा जीपको पछाडि कोचिनुपर्ने, छेउको साथी बान्ता गर्ने, क्या यात्रा !
बान्ता गरिसकेपछि उनी मेरो काखको झेलामा टाउको अड्याएर सुतिन् ।
ड्राइभरले ‘खाजा खाने भए खाउँ है’ भन्दै भुलभुलेमा गाडी रोके । होटलमा चाउचाउ, बिस्कुट र कालो चियाबाहेक केही रहेनछ । मैले अण्डा छ ? भनेर सोध्दा ड्राइभरले भए आफू पनि खाने बताए । अण्डा खाने ६ जना रहेछौं, दुई–दुईवटा उसिन्न लगायौं ।
केटीहरू पैदलै खलङ्गातिर
मैले बेलुका कालीकोटको मान्ममा बास बसेर भोलिपल्ट सुर्खेतबाट काठमाडौंको लागि नाइट बस चढ्ने सोचेकी थिएँ । केटीहरूले जुम्लाको खलङ्गा पुगेर परीक्षाको तयारी थाल्ने योजना बनाएका रहेछन्, तर, भुलभुलेमा खाजा खाँदैगर्दा बेलुकाको पाँच बज्दैथियो ।
कुरै कुरामा ड्राइभरले गाडी गोठिज्युलासम्म मात्र जान्छ भनेपछि केटीहरू आगो हुन थाले । टिकटमा ‘नाग्मासम्म’ भनेर लेखिएको थियो ।
मेरो छेउकी बहिनीको भोलिपल्ट तीन बजे परीक्षा थियो । उनलाई ज्वरो पनि आइरहेको थियो । उनले आँशु झर्न खोज्दै भनिन्, “भरे गोठिज्युला बस्दा भोलि परीक्षा दिन पाउँदिनँ, म त एक्लै भए पनि जुम्ला जान्छु ।” अनि अरू केटीहरू पनि हिंडेर जाने भन्न थाले ।
भुलभुलेबाट खलङ्गा जाने पुरानो बाटो रहेछ । उनीहरूले गाडी भाडा फिर्ता माग्ने भए ।
नाग्मासम्म पुर्याउने भनेर उनीहरूलाई हजार रुपैयाँ लिइएको रहेछ । ड्राइभरले भने ‘टिकटमा के लेख्यो आफूलाई थाहा नभएको तर, उनको गाडी गोठिज्युलाभन्दा अगाडि कहिल्यै जाने नगरेको,’ भन्न थाले ।
केटीहरू हार खाएर लेकको बाटो खलङ्गातिर लागे, हामी गोठिज्युलातिर ।
गोठिज्युला पुग्दा बेलुकाको ७ बज्यो । ड्राइभरले मलाई ‘भोलि बिहान ७ बजे पहिलो बस लाग्ने’ बताउँदै माधवकुमार नेपाल बसेको रारा होटलमा बस्न सल्लाह दिए ।
फिल्म ‘कालोपोथी’ का एक कलाकार पनि हामीसँगै गाडीमा आएका थिए । अघिल्लो दिनभर ताल्चामा जहाज कुरेका उनी जीप आएको भन्ने सुनेर गमगढी आएका थिए ।
काठमाडौंमा ‘कालोपोथी’ कहाँ चलेको छ भनेर सोध्दा उनले ‘आरोहण गुरुकुल’ मा भने ।
तिमेरू बोइलर नेपाली
दुई हप्तायता मुखमा दूध–चिया परेको थिएन, होटल पुगेपछि त्यही खान मन लाग्यो । तर, साहुजीले पाउडर दूध पनि सकिएको र गाईको दूध बेच्ने चलन नभएको बताए ।
हामी आउँदा गहुँ काटिएका हाडसिंजाको फाँटभरि गाई चरिरहेका देखेका थियौं । यति धेरै गाई देखिन्छ दूध किन बेचिंदैन ? भन्दा एक जनाले भने, “यताका गाई तपाईंकातिरका जस्तो एउटैले १० लीटर पानीदूध दिने हैनन्, चारओटाले चार माना अमृत दिने हुन् ।”
मुगुमा पोषण सम्बन्धी काम गरेका बहिनीहरू पनि साथमा थिए । तीमध्येकी एउटीले ‘प्रशस्त दूध र हरियोपरियो नखाएरै यताका मान्छे कलिलो उमेरमा नै चाउरी पर्छन्’ भनिन् ।
छेउमा रहेका यतैका बासिन्दा, जो नेपाली सेनाका जवान थिए, पीर परेछ । क्वार्टरको वोतल घटाईरहेका उनले भने, “तिमेरू बोइलर नेपाली हौ, तिमीहरू मोटा भए पनि हामीले जसरी काम गर्न सक्दैनौ ।”
‘बिरानो ठाउँमा झगडा नगर्नु’ भन्ने भनाइ सम्झँदै हामी कोठातिर लाग्यौं । बिहान होटलका साहुजीले ‘आज त बन्द छ’ भने । अब पर्यो फसाद् !
उकुसमुकुस हुँदै चिया खादै गर्दा कालीकोट घर भएका मुगुमा पढाउने शिक्षक भाइ, जो हिजोदेखि जीपमा सँगै थिए, उनले खुसुक्क भने, “मिस, म त्यो पछाडिको ट्रकमा जान लागेको अगाडिको ट्रकमा अर्को एक जना अट्छ रे, तपाईंलाई लैजान्छन् कि सोध्नू न ।”
म चिया भुईंमा राखेर ट्रकतर्फ गएँ । ट्रकका केटाहरूले ‘जाने भए एक जना अट्छ, पैसा नाग्मसम्मको ५००’ भने । नाग्मबाट हामी २५० तिरेर बसको सीटमा आएका थियौं, ट्रकमा ५०० लाग्ने भयो । तैपनि, अलपत्र पर्नुभन्दा बाटो कटाउनु थियो ।
गोठिज्युला (जुम्ला) मात्रै कि देशै बन्द हो, त्यो पनि थाहा भएन । जुम्ला मात्रै बन्द भए कालीकोटको नाग्मा घाटमा पुगेपछि बस पाइएला भनेर ट्रकमा चढ्यौं ।
१० बजेसम्म पनि कुनै बस आउजाउ गरेको नदेखेपछि पक्कै बन्द रहेछ भन्ने भयो । रित्तो ट्रकले उफार्दै ११ बजे नाग्म पुर्याउँदा रित्ता बसहरूको लाम देखियो ।
कर्णाली यातायातको सिन्डिकेट विरुद्धमा अर्को यातायातले बन्द गरेको रहेछ ।
ड्राइभरकी जेठीसासू
नाग्ममा खाना खाएर हामी ट्रक जहाँसम्म पुग्छ त्यहाँसम्म जाउँला भनेर हिंड्यौं । पाँच किलोमिटर अगाडि गएपछि गाडी फँसेको छ भनेर ट्रक एकघण्टा रोकियो । खुलेपछि ट्रक (बस मात्र बन्द)हरुको लर्को कालीकोटतर्फ लाग्यो ।
पिली र मान्मको बीचमा हाम्रा ड्राइभरको ससुराली रहेछ । अर्काे ट्रकका ड्राइभर र सहयोगी हाम्रा ड्राइभरका जेठान–साला रहेछन् ।
यसो ससुराली पसेका उनीहरूलाई सासू र जेठिसासुले खाजा नखाई उठ्न नदिने भइछन् ।
तीन बजिसकेको थियो । घरमा अघिल्लो दिन बेलुकादेखि सम्पर्क भएको थिएन । मेरो मोबाइलमा ब्याट्री सकिन लागेको थियो । ड्राइभरले राति १०–११ बजे भए पनि सुर्खेत पुर्याउने बताएका त थिए, तर पुर्याउने, नपुर्याउने ठेगान थिएन ।
ड्राइभर ससुरालीबाट दुई घण्टामा निस्किए । उनकी जेठीसासू पनि त्यहाँबाट हामीसंगै सुर्खेत जाने भइन् ।
रातको बाटोमा महिला सहयात्री भेटिंदा मन ढुक्क भयो । गाडी चढेको ११ घन्टा पछि ड्राइभर र उनका सहयोगी दाजु–भाइ हुन् भन्ने थाहा भयो ।
गाडी चलेपछि भाइ–बुहारीको प्रेमलीला शुरू भयो ।
ओरालो सडकमा ड्राइभरले मोबाइल फोनमा कुरा गर्न के थालेका थिए, ट्रकलाई छेउ लगाउने ठाउँ समेत नभएको मोडमा गाडी बिग्रियो ।
तल तिला कर्णाली छ, ड्राइभर असिन–पसिन भए । अनि थाहा भयो– उनीहरूले सस्तोमा पाएर गमगढीमा यो गाडी किनेका रहेछन् ।
हिजो मात्र किनेको ट्रक साँझको ६ बजे हुल्ममा पुग्दा बिग्रियो । ट्रकको मुख्य पट्टा नै भाँचिएको रहेछ । बनाउँदा बनाउँदै आठ बज्यो ।
कर्णाली राजमार्गमा खुलेको सानो बजार हुल्ममा बन्दको कारण मान्छे ‘प्याक’ थिए । होटलमा सादा खानाको १२० रुपैयाँ रहेछ । सुतेको पैसा नलाग्ने, तर छुट्टै कोठा नपाइने ।
ट्रकमा रहेका जोडीले छुट्टिने छाँट देखाएको थिएन । तैपनि, महिलालाई ‘तपाईं मसँग बस्नुहुन्छ ?’ भनेर सोधें । उनले नबस्ने बताइन् ।
होटल साहुनीको छोरालाई ‘छुट्टै कोठा मिलाइदेऊ न’ भन्दा अरू तीन जनाको सादा भातको पैसा दिनुपर्ने शर्त राखे । मैले नमान्ने कुरै थिएन ।
तीनतिर टीनले बारेको कोठामा खाट त रहेछ, तर बत्ती र ढोकामा चुकुल थिएन ।
उडुसले खूब टोके
यात्रामा निस्केको यात्रीलाई हुने दुःखभन्दा घरमा बसेकाहरूको पीर ठूलो हुन्छ । कसैको मोबाइल मागेर फोन गरौं भने पनि घरका कसैको नम्बर सम्झ्न सकिनँ ।
अब फेरि होटलका भाइसँग गुहार माग्नुपर्यो । उनले अर्को पसलमा पुर्याएर “दिदीको छोरो काठमाडौंमा बिरामी छ रे, मोबाइल अफ भएछ, एकछिन चार्ज गर्न दिनु न है’ भने ।
चार प्रतिशत चार्ज भएपछि पसलकी साहुनीले ‘पुगेन मेडम ?’ भनिन् ।
होटलमा आएर फोन गर्दा घरमा सबै सुतिसकेका रहेछन् । फोन राम्ररी सुनिएन पनि । अस्ति हिंडेको थकाइ, आजको ट्रक यात्रा र केही दिनबाट नमिलेको खानपानले मलाई गलाएको थियो ।
राति उडुसले खूब टोके । बिहान ५ बजे उठेर तल झ्रेको त ट्रक हिंड्न लागेको रहेछ । बसभन्दा रित्तो ट्रक दुईघण्टा अगाडि हिंड्छ भन्ने कुराले बेलुका नेपालगन्जबाट जहाज चढ्न भ्याइन्छ भन्ने लोभ पलायो ।
तर, तीन घण्टा गुडेपछि त्यो ट्रक पनि बिग्रियो । ट्रक बनाउँदै गर्दा बसहरूले उछिन्न थाले । ति बसहरूमा खाली सीट थिएनन्, उभिएर जाने आँट आएन ।
मोबाइल चार्ज गर्न मिल्ने अर्को ट्रकमा चढ्ने भएपछि केटीले ‘एउटा कुरा गरौं न’ भनिन् । तर, मलाई बोल्न मन थिएन ।
“सुन्नु न मेडम !” उसले फेरि भनी ।
“के कुरा गर्ने मसँग ?” मैले ठाडो प्रश्न गरें । त्यसपछि उसले बताए अनुसार, बिहानसम्म श्रीमान् भनेको केटो खासमा श्रीमान् होइन रहेछ ।
२० वर्षको उमेरमा उनले २४ वर्षको श्रीमान् गुमाइन् रे ! अहिले २६ वर्षकी हुँदा एउटा १२ र अर्को १० वर्षका छोरा छन् ।
उनी छोराहरूलाई सुर्खेत राखेर बोर्डिङ पढाउन चाहन्छिन् । आफू पनि घरजम गरेर बस्ने मन छ ।
साथमा लोग्ने भन्ने चिज हुनु र नहुनुमा धेरै फरक पर्छ रे ! त्यसैले उनी बहिनीको देवरलाई लोग्ने बनाउन चाहन्छिन् ।
अन्त्यमा उनले भनिन्, “हाम्रा दाइभाइले कहाँ सुत्नु भो ? भनेर सोधे भने तपाईंकी बहिनी र म सँगै सुत्यौं भन्नु न है !”
पानी परिरहेको थियो, दुई घण्टापछि ट्रक बन्यो । हामीले दहिखोला काटे पनि असरा घाटमा माथिबाट लेदोसहितको भल झर्दै थियो ।
अर्को तीन घण्टामा अगाडिको ट्रक भेटियो । बहिनीका दाइभाइले को, कहाँ सुतेको भन्ने चासो राखेनन् । मैले झूटो बोल्नु परेन ।
ड्राइभरले खोल्सामा पल्टिराखेको थोत्रो ट्रकबाट आफुलाई काम लाग्ने पार्टपुर्जा निकाल्न आदेश दिएका ‘केटाहरू’ एक घन्टामा पनि आएनन् ।
यो पाराले साँझ पनि सुर्खेत पुगिन्न भन्ने लाग्न थाल्यो ।
बल्ल प्लेन आयो
कुनै गाडी रोके झुन्डिएर भए पनि जान्छु भन्ने लाग्दै थियो । शिक्षक भाइलाई ‘बस पाए जानुहुन्छ ?’ भनेर सोधेको, जान्छु भने ।
उनले लिएको सात दिने बिदामध्ये तीन दिन बाटोमै बितिसकेको थियो । पछाडिबाट आएको बस रोक्दा ‘अगाडि मान्छे झरेपछि मात्र सीट पाईन्छ’ भने । १० मिनेट जति उभिएपछि केबिनका दाजुभाइले थोरै–थोरै सरेर मेरो लागि ठाउँ बनाइदिए ।
घरमा सम्पर्क पनि भयो, तर फोन राम्रो सुनिएन । म ठीक छु, अबको एक घन्टामा सुर्खेत पुग्छु भनेर मेसेज पठाएँ । उत्तर आयो– ‘राति भए पनि नेपालगन्ज जाऊ ।
भोलि बिहान १० बजेको फ्लाइटमा आऊ । नाइटबसमा चाहि नआउ !’
साढे चारबजे सुर्खेत पुग्दा बसपार्कमा काठमाडौं जाने डिलक्स गुड्ने तरखर गर्दैथियो । म भने नेपालगन्ज जाने लोकल बस चढें ।
यात्रा थालेको ५२ घण्टा पछि शरीरले सजिलो सीट भेटेको, निदाएछु । बेलुका आठ बजे नेपालगन्ज पुग्दा लाग्यो– अब त घर पुगियो ।
भोलिपल्ट काठमाडौं विमानस्थलबाट घर फर्कंदा स्कूटरको ऐनामा देखिएको आफ्नै अनुहार अर्कै लाग्यो ।
फेलोशिपको फर्म भर्दा कर्णालीवासीले जस्तै कर्णाली महसूस गर्ने भन्ने थियो । गमगढी–नेपालगन्ज यात्रामा मैले आम कर्णालीवासीले जस्तै भोगें ।
गमगढीका साथी प्रमोद दाहाललाई फोन गरेर म घर पुगेको बताउँदा उनले भने, “तपाईं गएपछि बल्ल आज प्लेन आयो ।”