बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा
![बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा](https://www.himalkhabar.com/uploads/posts/800X600/Acorab-1717077998.jpg)
बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान घोषणा गरिएको छ।
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरन्याशनल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अभियान घोषणा गरिएको हो। घोषणा कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने बताइन्। मन्त्री चौधरीले कुपोषणको समस्या विकासको बाधक भएकाले यस विरुद्ध घरपरिवार, समाज र राज्यले नै हातेमालो गर्नुपर्ने बताइन्।
कार्यक्रममा वर्ल्डभिजन इन्टरन्याशनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वर्ल्डभिजनले बालअधिकारको रक्षा तथा पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताइन्। इनफ अभियानले प्राथमिक रूपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको उनको भनाइ थियो।
कार्यक्रममा बालबालिका, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसद, संवैधानिक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए।
यस अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँच सहित केही प्रमुख क्षेत्रलाई प्राथमिकता दिनेछ।
वर्ल्डभिजन इन्टरन्याशनल नेपालले सन् २०२५ सम्म विशेषगरी सबैभन्दा जोखिममा परेका बालबालिकाको स्वास्थ्य सुधारका लागि कार्यक्रम केन्द्रित गर्ने जनाएको छ। यो कार्यक्रम १६ जिल्लाका ५३ वटा पालिकामा सञ्चालन गरिनेछ।