पुर्ख्यौली थलोबाट बसाइँ सर्दा ऊ र उसको परिवार मात्रै सर्दैन, पुर्ख्यौली भाषा, संस्कृति, परम्परा, मूल्यमान्यता पनि सँगै जान्छ तर नयाँ ठाउँमा परम्परागत आस्थाको अभ्यास गौण बनेर हराउँछ।
गणेश राई
राई माइलाले गाउँ छाड्यो रे
बाटो छेकिदेऊ न!
कुन घुम्ती काट्यो होला
ढाट राखिदेऊ न!
चलचित्र गाउँ आएको बाटो को ‘प्रमोशन’ मा कवि श्रवण मुकारुङले लेखेको यो गीत उक्त फिल्म जति नै चर्चित बनेको छ। नवीन सुब्बा निर्देशित फिल्ममा भोजपुरको बालङ्खामा सडक पुगेपछि परम्परागत पेशा गुमेर उठिबास भएको राई माइलाको हृदयविदारक कथा छ।
गत तीन दशकमा माझकिरातबाट भएको व्यापक बसाइँसराइको प्रकृति भने यो फिल्ममा देखाइएको भन्दा भिन्न छ। अझ चाखलाग्दो पक्ष के छ भने, मुलुकका अन्य पहाडी भेगवासी झैं माझकिरातका राईहरू पनि भरसक सडक (विकास) भएको ठाउँतिर बसाइँ सरेको पाइन्छ।
जीवनयापनमा सहजता खोज्दै नयाँ नयाँ ठाउँतिर लाग्नु मानिसको स्वभावै हो। त्यही मेसोमा राईहरूले पनि माझकिरातको थातथलो छाडेर देशका लगभग सबै जिल्लामा जरोकिलो गाडेको २०४८ देखि २०७८ सालसम्मको राष्ट्रिय जनगणनाको तथ्यांकले प्रस्ट पार्छ। यो हिसाब आन्तरिक बसाइँसराइको मात्र हो।
पुर्ख्यौली थलो र किरात राई जाति
वर्तमान नेपालको पहाडी प्रदेश अघि ‘किरात देश’ कहलाउँथ्यो। अरुण नदी पश्चिमको क्षेत्रलाई माझकिरात र पूर्वी भागलाई पल्लो किरात भन्ने चलन अद्यापि छँदै छ। माझकिरातलाई खुम्बुवान र पल्लो किरातलाई लिम्बुवान पनि भनिन्छ।
पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ। यसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ। वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत र जनघनत्व प्रतिवर्ग किलोमिटर १९८ जना छ।
कुल १४२ जातजाति रहेको नेपालमा किरात राईको संख्या ६ लाख ४० हजार ६७४ अर्थात् २.२० प्रतिशत रहेको जनगणना, २०७८ ले देखाउँछ। देशको कुल जनसंख्यामा यो १०औं ठूलो समूह हो। २०४८, २०५८ र २०६८ को जनगणनामा राईको संख्या क्रमशः पाँच लाख २५ हजार ५५१, ६ लाख ३५ हजार १५१ र ६ लाख २० हजार चार थियो।
किरात राईभित्र २५ वटा भाषिक समूह छन्। जसमा बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ/बायुङ, याम्फू/याम्फे, नाछिरिङ, दुमी, मेवाहाङ, पुमा, आठपहरिया, दुङमाली, लोहोरुङ, कोयी, जेरो/जेरुङ, छिन्ताङ, छिलिङ, तिलुङ, लुङखिम, फाङदुवाली, बेलहारे र साम पर्छन्।
राई एक जाति मात्र हो। राई भाषा होइन र छैन। जनगणनाको तथ्यांकमा भने हुँदै नभएको ‘राई’ भाषा बोल्नेको संख्या एक लाख ४४ हजार ५१२ जना (०.५ प्रतिशत) उल्लेख छ।
पुर्खादेखि ‘राई’ भनेर चिनिएका र नेपाली नागरिकताको प्रमाणपत्रमा राई थर बोकेका केही अगुवा/अभियन्ताले ‘राईकरण’ मा परेको भन्दै भाषाकै आधारमा छुट्टै जाति हुनुपर्ने अभियान चलाएका छन्। फलस्वरूप राष्ट्रिय जनगणना, २०६८ यता १२ वटा भाषिक समूह अलग जातिमा सूचीकृत पनि भएका छन्।
यसरी ३३ हजार ३८८ कुलुङ, १५ हजार ७१९ बान्तवा, १२ हजार १७८ चाम्लिङ, नौ हजार १११ याम्फू, सात हजार ३०० नाछिरिङ, ६ हजार ५४७ बाहिङ, ६ हजार २३९ थुलुङ, पाँच हजार ८८९ खालिङ, पाँच हजार ८७८ आठपहरिया, पाँच हजार ७२७ मेवाहाङ, चार हजार ८४१ साम्पाङ र दुई हजार ५९८ लोहोरुङ जनगणना, २०७८ को अलग सूचीमा परेका छन्। यसको कुल संख्या एक लाख १५ हजार ४१५ हुन आउँछ।
गत तीन दशकमा विशेषतः ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुंगा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामबाट बढी राई बसाइँ सरेको जनगणनाको तथ्यांक हेर्दा देखिन्छ। पहाडबाट भएको यो बसाइँसराइका कारण पूर्वी तराईका झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा राईको संख्या बढेको छ।
पछिल्लो समय मधेश प्रदेशका आठ वटै जिल्लामा किरात राई फैलिइसकेको देखिन्छ। हाल सप्तरीमा एक हजार ३८४, सिरहामा दुई हजार दुई, धनुषामा ७१०, महोत्तरीमा ५२६, सर्लाहीमा एक हजार २७२, रौतहटमा दुई हजार ३७३, बारामा एक हजार ५४३ र पर्सा जिल्लामा ४०० राईको बसोबास रहेको पछिल्लो जनगणनाले देखाएको छ।
त्यस्तै, बागमती प्रदेशका १३ जिल्लामा राई जातिको जनसंख्या एक लाख १२ हजार ३६४ रहेको देखिन्छ। जिल्लागत रूपमा दोलखामा १९४, सिन्धुपाल्चोकमा १९६, रसुवामा ४५, धादिङमा तीन हजार ४१७, नुवाकोटमा ११ हजार ६६१, काठमाडौंमा ४७ हजार २२१, भक्तपुरमा सात हजार ६३६, ललितपुरमा १८ हजार ५५३ जना राई छन्।
यस्तै, काभ्रेपलान्चोकमा दुई हजार ३८, रामेछापमा १६३, सिन्धुलीमा चार हजार ३७५, मकवानपुरमा ११ हजार ४२८ र चितवनमा पाँच हजार ४३७ राई छन्। राजधानी भएकाले काठमाडौं उपत्यकामा राईहरूको बसोबास बाक्लिनु स्वाभाविक मान्न सकिन्छ। मकवानपुर जिल्लामा भने दनुवार जातिले राई लेखाउने कारण पनि राईको जनसंख्या बढेको हुन सक्छ।
अहिले संघीय राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लाको कुल जनसंख्या ३० लाख २५ हजार ३८६ छ। यीमध्ये ७३ हजार ४१० अर्थात् २.४३ प्रतिशत किरात राई छन्। तीन दशकमा काठमाडौंमा राई जातिको संख्या झन्डै तेब्बर बढेको छ। शिक्षा, रोजगारी र व्यवसायको अवसरले अरू जातजाति झैं राईलाई पनि काठमाडौंले तानेको कुरा निर्विवाद छ।
देशैभर किरात राई
पूर्वी पहाडका रैथाने राईहरू पछिल्लो समय राजधानी उपत्यका मात्र नभई नेपालभर नै स्थायी बासिन्दा बनेका छन्। जनगणना, २०७८ का अनुसार गण्डकी प्रदेशमा राई जातिको जनसंख्या सात हजार ५९९ पुगेको छ।
जिल्लागत रूपमा मनाङमा ५१, मुस्ताङमा ७२, म्याग्दीमा १७९, कास्कीमा चार हजार ४७६, लमजुङमा २०९, तनहुँमा ८१८, नवलपरासी (पूर्व)मा ८५३, स्याङ्जामा १७८, पर्वतमा १६४ र बाग्लुङमा १३१ जना राईको बसोबास छ।
त्यस्तै, लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा ४४, प्यूठानमा १०२, गुल्मीमा ६३, अर्घाखाँचीमा २१, पाल्पामा १६१, नवलपरासी (पश्चिम)मा २३१, रुपन्देहीमा ९४३, कपिलवस्तुमा १२५, दाङमा ३४२, बाँकेमा ४३४ र बर्दियामा १५४ जना राई छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशमा राई जातिको संख्या ९१७ जना छ। सुदूरपश्चिमको बाजुरा जिल्लामा १३, बझाङमा १६, दार्चुलामा १४, बैतडीमा २३, डोटीमा ७५, डडेल्धुरामा ४५, अछाममा ४७, कैलालीमा ५१३ र कञ्चनपुरमा १७१ जना राई छन्।
तुलनात्मक रूपमा कर्णालीमा सबभन्दा कम अर्थात् ५३४ जना किरात राईको बसोबास रहेको जनगणना, २०७८ को तथ्यांकले देखाउँछ। कर्णाली प्रदेशको डोल्पामा १३, मुगुमा ११, हुम्लामा २३, जुम्लामा १७, दैलेखमा ४१, जाजरकोटमा १५, रुकुम (पश्चिम)मा १९, सल्यानमा १३२ र सुर्खेत जिल्लामा २५५ जना राई छन्।
पूर्वी पहाड ओखलढुंगाबाट मधेश नुन लिन झर्दै गरेको राई समुदाय। तस्वीर सौजन्य : विकास सौगात
प्रजातन्त्रपछि बसाइँसराइ
मानव जातिको इतिहास नै बसाइँसराइ हो। पहिले मानिसहरू प्राकृतिक प्रकोप र युद्धहरूका कारण सुरक्षित ठाउँतिर समूहमा बसाइँ सर्थे। कालक्रममा यो जीवनयापनमा सुविधाका लागि गरिने सामूहिक वा एकल स्थानान्तरण प्रक्रिया हुन पुग्यो।
माझकिरातबाट राईहरूको एकल वा सामूहिक बसाइँसराइ २००७ सालको राजनीतिक परिवर्तनपछि हुन थालेको हो। ब्रिटिश या इन्डियन आर्मीको जागीर स्थायी बसोबासका लागि नभई नगद जोहोका लागि हुन्थ्यो। मेचीपारि आसाम-मेघालयदेखि भोटाङ-बर्मासम्मको भुक्तमान पनि धेरैजसो अस्थायी कामकै लागि हुन्थ्यो।
२००७ सालपछि भने अनेक कारणले आन्तरिक बसाइँसराइ चल्यो। तराई-मधेशमा चलेको औलो उन्मूलन अभियानले बसाइँसराइलाई तीव्र बनायो। २००७ सालपछि शक्तिशाली बनेका राजाहरूले नै तराई आवाद गर्ने नीति लिए। वन फाँडेर बस्ती बसाउने, २००७ सालको क्रान्तिका नायकहरूलाई आजीविकाका लागि जमीन बक्सिस दिने नीति कार्यान्वयनमा आएपछि तराई-मधेशमा ठूलठूला झोडाहरू खुले।
२००७-२०१० को अवधिमा तीन पटक मन्त्री बनेका क्रान्तिका एक कमान्डर नारदमुनि थुलुङ राई स्वयम्ले उदयपुरमा झोडा फाँडेर बसाहा बस्ती बसाएका थिए। तराईको फाँटमा विस्तृत खेती गरेर चुरे र महाभारत पर्वतमालामा वन विस्तार गर्नुपर्छ भन्ने उनको मान्यता थियो।
थुलुङले वनमन्त्री रहेका वेला राजा त्रिभुवनलाई बिन्तीपत्र चढाएर बसाहा बस्ती बसाउने हुकुम प्रमांगी लिएको उनका भतिज शशीभूषण किरात बताउँछन्। भोजपुर, छिनामखुका थुलुङले खोलेको झोडामा भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका मानिस झरेर बसे। तिनमा राईको संख्या उल्लेख्य थियो।
भोजपुरबाट सुनसरीको चतरामा भारी लिएर भोजपुर फर्किंदै गरेका किशोर। तस्वीर सौजन्य : चन्द्रकुमार राई ‘हतुवाली’
मधेशमा जग्गा पाएर वा लिएर बसाइँ सर्ने किरात राई राजनीतिकर्मीमा देवानसिं राई, बलबहादुर राई, भूदेव राई आदि पनि पर्छन्। उनीहरूसँगै अरू थुप्रै राईहरू माझकिरातको थातथलो छाडेर मधेश बसाइँ सरेका थिए।
ब्रिटिश र इन्डियन गोर्खा राइफल्समा काम गरेका लाहुरेहरू पुर्ख्यौली थातथलो माझकिरात छाडेर धरान, गाईघाट लगायत शहरसहित मधेश बसाइँ सर्ने दोस्रो समूहका राई हुन्। खास गरेर ब्रिटिश गोर्खाहरू पेन्सन पकाएर ब्रुनाईमा काम गर्न पाउने भएपछि पहाड नगई मधेशमा घरजग्गा किनेर बस्न सक्ने भए।
नेपालीहरूले विकासका आधारभूत सुविधा भएको ठाउँमा बसाइँ सर्न सक्ने अर्को क्षमता २०४६/४७ सालको राजनीतिक परिवर्तनपछि प्राप्त गरे। खुलापनले ल्याएको अनेक अवसरसँगै पासपोर्ट बनाउन पाउने अधिकारले धेरै नेपालीलाई देशविदेशको अवसरमा पुर्यायो।
त्यसरी धनार्जन गर्नेमा किरात राईहरू पनि हुने नै भए। उनीहरू सबै आफ्नो कमाइले भ्याउने ठाउँमा घरजग्गा किनेर मधेशका गाउँ वा शहरमा बसे। अझ सक्नेहरू राजधानीतिरै घरजग्गा जोड्न कस्सिए। गाउँ छाड्ने कुरा आर्थिक सबलता र प्रतिस्पर्धाको विषय बन्यो। यो मामिलामा कुनै माइला राई पछि परेनन्।
अहिले त माझकिरातको पनि गाउँ गाउँमा सडक, बिजुली, इन्टरनेट, पानी लगायतको सुविधा पुग्दै छ। अनि गाउँलेलाई गाउँमा अडिने वातावरण बन्दै छ। बहुचर्चित फिल्म गाउँ आएको बाटो मै पनि इन्डियन आर्मीका एक जना पेन्सनर गाउँमा सडकले ल्याएको अवसर उपयोग गर्न गावै फर्केर खुशीसाथ आफ्नो बुद्धि-पूँजी लगाइरहेका देखिन्छन्।
विकास आउन ढिला भएर बसाइँसराइले प्रश्रय पाउँदा माझकिरातको संस्कार-संस्कृति कमजोर भएको छ। मान्छे पुर्ख्यौली थलोबाट बसाइँ सर्दा ऊ र उसको परिवार मात्रै सर्दैन, पुर्ख्यौली भाषा, संस्कृति, परम्परा, मूल्यमान्यता पनि सँगै जान्छ। नयाँ ठाउँमा नयाँ घुलमिल गर्नुपर्ने हुँदा परम्परागत आस्थाको अभ्यास गौण बनेर हराउँदै जान्छ।
(सम्पादन : आनन्द राई , भाषा : प्रद्युम्न खनाल )
यो पनि पढ्नुहोस् :