विदेशबाट भगवान् फर्काउने सूत्र ‘सम्पदा कूटनीति’
![विदेशबाट भगवान् फर्काउने सूत्र ‘सम्पदा कूटनीति’](https://www.himalkhabar.com/uploads/posts/800X600/heritage-con-(3)-1716818327.jpg)
चोरी भएर विदेश पुगेका कलाकृति फर्काउन नेपालले ‘सम्पदा कूटनीति’ थाल्नुपर्ने विज्ञहरूको निष्कर्ष छ।
पाटनढोकास्थित यलमाया केन्द्रमा सम्पन्न दुईदिने सम्पदा पुन:स्थापना सम्मेलनले ललितपुर घोषणापत्र जारी गर्दै ‘सम्पदा कूटनीति’ मा जोड दिएको हो। घोषणापत्रले विश्वभर रहेका संग्रहालय, निजी संकलक र क्युरेटरलाई आफ्ना संकलनमा भएका कलाकृतिको समीक्षा गर्न र नेपालबाट लुटिएर विदेशमा छरिएका कला सम्पदा फिर्ता गर्न आग्रह गरेको छ।
यस्तै, कला सम्पदाको पुन:स्थापनालाई प्रभावकारी बनाउन पुरातत्त्व विभागलाई सशक्त बनाउनुपर्ने, यस क्षेत्रमा कार्यरत जनशक्ति बढाउन विभागलाई दिइने बजेटमा बढोत्तरी गरी सम्पदा दस्तावेजीकरण, अनुसन्धान, अनुगमन कार्यलाई गतिशील बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।
घोषणापत्रमा सम्पदा संरक्षणका लागि ‘सम्पदा प्रहरी’ को व्यवस्था गर्न पनि अपील गरिएको छ। सम्मेलनले समकालीन चुनौतीलाई सम्बोधन गर्न ‘प्राचीन सम्पदा संरक्षण ऐन, २०१३’ परिमार्जन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ।
विश्व समुदायका लागि उदाहरण
सम्मेलनमा विभिन्न सत्रमा सहभागी विज्ञ तथा सरोकारवालाले सम्पदा पुन:स्थापनामा नेपाल विश्व समुदायका लागि उदाहरण बन्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को)का नेपाल प्रतिनिधि माइकल क्रोफ्टले नेपालमा प्राचीनता र आधुनिकताको जिउँदोजाग्दो उदाहरण पाइने उल्लेख गर्दै सम्पदा पुन:स्थापनाको गतिलाई तीव्रता दिनुपर्ने बताए।
![heritage con (10).jpg](https://www.himalkhabar.com/uploads/editor/heritage/heritage conference/heritage con (10).jpg)
युनेस्कोको सूचीमा नेपाल ‘अति कम विकसित राष्ट्र’ नभई सम्पदा र सांस्कृतिक सम्पन्नतायुक्त मुलुक भएको जिकिर गर्दै क्रोफ्टले सम्पदा पुन:स्थापना पनि नेपालको नमूना काम हुने विश्वास व्यक्त गरे। “पाटनको पट्कोमा लक्ष्मी-नारायणको मूर्ति पुन:स्थापना हुँदा जुन जनसहभागिता र हार्दिकता समुदायमा देखियो, त्यो विशेष थियो,” उनले भने, “नेपालले विश्व समुदायलाई सम्पदा पुन:स्थापनाको उदाहरण पेश गर्न सक्छ।”
त्यस्तै, नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलोसिटी भोल्कले ‘सम्पदा कूटनीति’ माथि धारणा राख्दै नेपालले सम्पदा पुन:स्थापनाका लागि विश्वव्यापी सञ्जाल बनाउन सकेकोमा प्रशंसा गरिन्। पुरातत्त्व विभागले आफ्ना तर्फबाट गरेका काम तारीफयोग्य रहेको बताउँदै राजदूत भोल्कले अस्ट्रेलियामा भएका नेपालका सम्पदा फर्काउन सहयोग गर्ने प्रतिबद्धता जनाइन्। नेपालले आधिकारिक अभिलेख प्रस्तुत गरेमा सम्पदा फिर्ती प्रक्रिया सहज हुने धारणा राखिन्।
![heritage con (7).jpg](https://www.himalkhabar.com/uploads/editor/heritage/heritage conference/heritage con (7).jpg)
छलफलमा सहभागी लेखक एवं पत्रकार चन्द्रकिशोरले सम्पदा संरक्षणको बहस काठमाडौंकेन्द्रित हुने गरेको उल्लेख गर्दै सिम्रौनगढको सम्पदाको बेवास्ता भएको बताए। स्थानीय सरकार र समुदायलाई सम्पदा संरक्षणमा जागरुक बनाउँदा उनीहरूमा अपनत्वको भावना विकास हुने उनको भनाइ थियो।
त्यसैगरी, नेपाल सम्पदा पुन:स्थापन अभियानका संस्थापक सदस्य रोशन मिश्रले आगामी दिनमा काठमाडौं बाहिरका सम्पदा संरक्षणमा पनि ध्यान दिइने बताए। यसका लागि सम्बन्धित क्षेत्रका व्यक्ति र निकाय पनि लाग्नुपर्ने उनको भनाइ थियो।
सम्मेलनले पनि सांस्कृतिक सम्पदाको पुन:स्थापनाका लागि विश्वव्यापी अभियानलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। २०८१ फागुनमा विश्वभरका सरोकारवालालाई काठमाडौंमा भेला गराइने भएको छ।
‘भगवान्लाई नै ताल्चा लगाएर राख्नु विडम्बना’
सम्मेलनको दोस्रो दिनको पहिलो सत्रका सहभागीले सम्पदा चोरी शृंखला रोक्ने प्रमुख उपाय आमजागरण भएको बताएका छन्। ‘सम्पदा चोरी शृंखलाको उजागर : पैरवी, अनुसन्धान र सामाजिक सञ्जाल’ शीर्षकको सत्रमा अभियन्ता गणपतिलाल श्रेष्ठले भगवान्लाई नै ताल्चा लगाउनुपर्ने स्थिति आउनु स्थानीय जागरण नभएको बताएका छन्। सुरक्षा दिने सरकारी निकाय बाहेक स्थानीय नै जिम्मेवार र जागरुक हुनुपर्ने बताउँदै श्रेष्ठले भने, “भगवान्सँग सुरक्षाको प्राथना गर्ने मानिसले आज भगवान्लाई नै ताल्चा लगाएर राख्ने दिन आउनु विडम्बना हो।”
चोरी भएका मूर्ति फर्काउन पनि उस्तै सकस भएको अधिवक्ता सञ्जय अधिकारीले सुनाए। त्यसैले नेपालका हरेक सम्पदाको सूचीकरण हुनुपर्ने अधिकारीको भनाइ थियो। “विडम्बना, उपत्यकाका सम्पदाको पनि सूचीकरण भएका छैन। उपत्यका बाहिरको कहिले हुने हो, त्यो अत्तोपत्तो छैन,” उनले भने।
त्यस्तै, पत्रकार देवेन्द्र भट्टराईले काठमाडौंका चोरी भएका सम्पदाबारे जति चासो राखिन्छ, उपत्यका बाहिरका सम्पदाबारे त्यति चासो नदिइएको टिप्पणी गरे। “डोल्पामा ५० प्रतिशतभन्दा धेरै सम्पदा हराइसकेको सुनिन्छ। तर यसबारे न पत्रकारले लेखेका छन् न त विभाग वा अभियन्ताले चर्चा गरेका छन्,” भट्टराईले भने।
![devendra_1.jpg](https://www.himalkhabar.com/uploads/editor/heritage/heritage conference/devendra_1.jpg)
अमेरिकी प्राध्यापक एरिन एल. थम्प्सनले हरेक देशको सम्पत्ति उही देशमा फिर्ता हुनुपर्ने बताइन्। “नेपालका भगवान् नेपालमा नै फिर्ता हुनुपर्छ भन्ने भावनाले म पनि सम्पदा फिर्ता अभियानमा जोडिएकी हुँ,” थम्प्सनले भनिन्, “मैले अमेरिकाका संग्रहालयमा नेपाली मूर्ति देखें भने तिनका फोटो, भिडिओ र त्यससँग सम्बन्धित कागजपत्र मिलाउन मद्दत गर्ने गरेकी छु।”
त्यस्तै, ‘पुन:स्थापनाको जीवन्त अनुभव : समुदायमा फिर्ती’ शीर्षकको छलफलमा बोल्दै राष्ट्रिय संग्रहालय, छाउनीका प्रमुख जयराम श्रेष्ठले सम्पदा फिर्ता भएपछि पुन:स्थापना गर्नुपर्ने, अन्यथा अमूर्त सम्पदा मासिने बताए। अहिलेसम्म संग्रहालयबाट ६ वटा सम्पदा मात्र पुन:स्थापना भएको र अझै पनि ११० वटा सम्पदा संग्रहालयमै रहेको श्रेष्ठले बताए। “यति धेरै दुःख गरेर फिर्ता भएका मूर्ति हेर्न स्थानीयलाई बोलाउँदा पनि आउनुहुन्न,” उनले भने, “समुदाय स्तरबाटै पुन:स्थापनामा पहल नभएकाले घर फर्किएका देउता पनि कोठामा सीमित रहनुपरेको छ।”
सुरक्षा जोखिमका कारण स्वदेश फर्किएका सम्पदाको पुन:स्थापना नभएको नेपाल सम्पदा पुन:स्थापना अभियानका संस्थापक सदस्य रोहित रञ्जितकारले बताए। यो समस्या समाधान गर्न स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिन संग्रहालय वा पुरातत्त्व विभागले सघाउनुपर्ने रञ्जितकारको भनाइ थियो। “घरमा रहेको सामानको त सुरक्षाको जिम्मा लिन सकिंदैन, यसरी खुला स्थानमा रहेको सम्पदाको सुरक्षा कसरी लिन सकिन्छ?” उनको प्रश्न थियो।
छलफलमा सहभागी नेपाल सम्पदा पुन:स्थापना अभियानका संस्थापक सदस्य दिलेन्द्र श्रेष्ठले मूर्ति पुन:स्थापनापछिको सुरक्षा स्थानीयका लागि चुनौती रहेको बताए। “हामीले मूर्ति भेटिएपछि जुन सक्कल मूर्ति हो, त्यही नै पुन:स्थापना गर्नुपर्छ,” उनले भने, “किनभने पुरानो मूर्तिले इतिहास बोल्छ।”
सम्मेलनको पहिलो दिन आइतबार पनि विभिन्न सत्रमा छलफल भएका थिए। आइतबारको पहिलो सत्रमा संस्कृति संरक्षणकर्मी रविन्द्र पुरी, आलोकसिद्धि तुलाधर र संगीता थापाले चोरी भएका कलाकृतिको व्यवस्थापनबारे चर्चा गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा नेपाल सरकारका सचिव भरतमणि सुवेदी, न्युयोर्कस्थित कूटनीतिक नियोगका पूर्व अधिकारी विष्णु गौतम, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्ति फिर्ती प्रक्रिया र सम्पदा संरक्षणमा सरकार र समुदायका तर्फबाट के के पहल हुन सक्छ भन्ने विषयमा चर्चा गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल सम्पदा पुनःस्थापन अभियानकी अध्यक्ष ऋद्धिबाबा प्रधानले अमूर्त सम्पदाको संरक्षण गर्न मूर्त सम्पदाको संरक्षण अपरिहार्य भएको बताएकी थिइन्। पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानांगले चोरी भएका सम्पदा फिर्ता ल्याउने मन भए पनि धन नभएको बताएकी थिइन्।