भद्रकालीस्थित राणाकालीन सत्तललाई परम्परागत शैलीमै जीर्णोद्धार गर्न माग
श्री लुँमधि अजिमा (भद्रकाली) परिसरमा रहेको सत्तल राणाकालमा जे-जस्तो शैलीमा थियो, त्यही शैलीमा जीर्णोद्धार गर्न नागरिक अगुवाले माग गरेका छन्।
गुठी संस्थानको स्वामित्वमा रहेको राणाकालीन सत्तललाई विदेशी शैलीको भनी नयाँ भवन बनाउने प्रस्तावको नागरिक अगुवाले विज्ञप्ति मार्फत विरोध जनाएका छन्। ‘काठमाडौं महनगरले एउटा कालखण्डमा निर्माण गरेको इतिहासलाई प्रतिविम्बित गर्ने सम्पदालाई मासेर बाहिरबाट दाचि अप्पा टालेर, ज्याकेटिङ गरी सम्पदा जस्तो देखिने मिथक भवनहरू निर्माण गर्न लागेको कुराको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
इतिहासको एउटा कालखण्डमा बनेको भवनले त्यति वेलाका सामग्री, सीप, प्रविधि, शैलीको प्रतिनिधित्व गर्ने हुँदा सो समयको स्मारक भत्काएर अन्य शैली र प्रविधिको प्रयोग गरी निर्माण गर्नु इतिहासप्रति अन्याय गरेको ठहरिने र भावी पुस्ताका लागि पनि न्यायसंगत नहुने उनीहरूले जनाएका छन्।
इतिहास र सम्पदाको प्रतिनिधित्व गर्ने संस्थाले गैरकानूनी र अनैतिक कार्य नगर्न र नगराउन गुठी संस्थान, काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागलाई आग्रह गरेको छ।
प्रा.डा. भरत शर्मा, प्रा.डा. सुदर्शनराज तिवारी, कनकमणि दीक्षित, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, आलोकसिद्धि तुलाधर, रोशन मिश्र, अधिवक्ता रूपा बस्नेत, सुनिता राजकर्णिकार, सरस्वतीरश्मि शाक्य, अधिवक्ता श्रद्धासुमन गुरुवाचार्य, अधिवक्ता सञ्जय अधिकारी, सौरभ थापा श्रेष्ठ, अधिवक्ता निर्मला भट्ट र अधिवक्ता उर्वशी घिमिरेले विज्ञप्ति जारी गरेका हुन्।