विपक्षीको विरोधले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध
विपक्षी दलले विरोध जनाएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएपछि बिहीबार प्रदेश सभाको बैठक बोलाइएको थियो। बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदले उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख भीमबहादुर भण्डारीले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई बोल्न समय दिएका थिए। प्रदेश सभा बैठकमा बोल्दै चौधरीले मुख्यमन्त्री सोडारीको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक भएको जिकिर गरे।
“नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता म घनश्याम चौधरी हुँ। मैले सरकारलाई समर्थन गरेको छैन,” उनले भने, “नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीको हस्ताक्षरमा प्रदेश प्रमुखले सरकारलाई समर्थन रहेको उल्लेख गर्दै मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। यो असंवैधानिक छ।”
उनले यो सरकार असंवैधानिक भएको जिकिर गर्दै विश्वासको मत लिन नपाउने बताए। सरकारलाई विश्वासको मत लिन नदिने उनको भनाइ थियो।
त्यसपछि सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रस्ताव पेश गर्न समय दिएका थिए। तर कांग्रेस र नाउपाका सांसदले ‘बेल’ घेराउ गरेका थिए। त्यसपछि सभामुख भण्डारीले ३० मिनेटका लागि प्रदेश सभाको बैठक स्थगन गरेका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ। कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन्।
नाउपामा आन्तरिक विवाद छ। अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा दुई र संरक्षक रेशम चौधरी पक्षमा पाँच सांसद छन्। संसदीय दलका नेता घनश्याम चौधरी रेशम पक्षका हुन्। एमाले, माओवादी, एकीकृत समाजवादी र नाउपाका श्रेष्ठ पक्षका सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।