फूलकाे याम : तरकारी छोडेर फूल खेती
राम्रो आम्दानी र समयमै बिक्री हुने भएपछि दाङका किसान तरकारी छोडेर फूल खेतीतिर आकर्षित छन्।
तिहार नजिकिएसँगै दाङको घोराही उपमहानगरपालिका-१७, गुलरियाका राजेश चौधरी उत्साहित छन्। उनी तिहारमा रमाउनका लागि उत्साहित बनेका होइन, फूल बिक्री गर्न। “कारोबार हुने वेला नै यही हो,” चौधरी भन्छन्, “सबै सयपत्री बिक्री भयो भने त राम्रै नाफा हुन्छ।”
दशकअघि उनी व्यावसायिक तरकारी खेती गर्थे। तरकारीबाट सोचे जस्तो आम्दानी नभएपछि फूल खेतीतिर लागेको उनी सुनाउँछन्। “फूल खेतीमा तरकारीको जस्तो मिहिनेत गर्नु पर्दैन,” चौधरी भन्छन्, “थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि यतै लागें।”
एक वर्षदेखि फूल खेती गरिरहेका उनी सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताउँछन्। उनको १० कट्ठा जमीनमा सयपत्री ढकमक्क फुलेको छ। प्रतिकिलो ३०० रुपैयाँका दरले फूल बेचिरहेका छन्।
राजेश चौधरी।
उनी फूलको माला पनि बनाउँछन्। एउटा माला सय रुपैयाँमा बिक्री हुन्छ। तौलेर भन्दा मालामा केही फाइदा हुने उनी सुनाउँछन्।
घोराही-१४, झिंगौराका लोकेन्द्र मगरले त डेढ बिघा जमीनमा फूल खेती गरेका छन्। जग्गा भाडामा लिएर व्यावसायिक फूल खेती गरिरहेका मगर यसबाट मनग्य आम्दानी हुने गरेको बताउँछन्। “एक दशकदेखि फूल खेती गर्दै आएको छु,” उनी भन्छन्, “चाडबाडलाई मात्र केन्द्रित नभएर बाह्रै महीना फूल फुलाउँछु।”
मगर सात वर्ष विदेश बसे। विदेशमा दैनिक १४-१५ घन्टा खटिंदा पनि भने जस्तो कमाइ नभएको उनी सुनाउँछन्। वैदेशिक रोजगारीबाट फर्केपछि के गर्ने भन्ने अलमलमा थिए। फूल खेतीमा राम्रो आम्दानी हुने देखेपछि यतै लागेको उनी बताउँछन्। “सोचे जस्तै भयो, फूल खेतीबाट विदेशभन्दा राम्रो आम्दानी भएको छ,” उनी भन्छन्।
लोकेन्द्र मगर।
लामो समयदेखि फूल खेतीमा रमाइरहेका उनी दशैंतिहार कारोबारको याम भएको सुनाउँछन्। समय अनुसार फूलको मूल्य घटबढ हुने भए पनि घाटा नलाग्ने उनको भनाइ छ। “तिहारका लागि सबैतिरबाट धेरै माग आइसकेको छ,” मगर भन्छन्, “तौलेर बेच्ने त भयो नै, अहिले फूल टिपेर माला उन्ने पनि तयारी छ।”
उनी पनि फूलको माला सय रुपैयाँमा बेच्छन्। त्यस्तै, फूल प्रतिकिलोग्राम ३०० रुपैयाँमा बिक्री गर्छन्। लगभग सबै फूल किसानले उस्ताउस्तै मूल्य तय गरेका छन्।
पछिल्लो समय स्थानीय फूलको प्रयोगले व्यवसाय राम्रो हुँदै पनि गएको छ। व्यापारीले पनि भारतबाट आयात नगरेर स्थानीय फूल नै किन्न थालेको उनी सुनाउँछन्। “कुनै वेला फूलको अभाव थियो, अन्य जिल्लाबाट फूल मगाउने गरेको सुनिन्थ्यो,” मगर भन्छन्, “अहिले स्थानीय उत्पादनले नै धानेको छ।”
फूलका माला उन्दै।
यसले प्लास्टिकजन्य मालाको प्रयोगमा कमी ल्याउने उनको विश्वास छ। सबैले अर्गानिक फूल रोज्दा बजारमा पनि माग बढेको उनको भनाइ छ। “बिस्तारै बजारमा प्लास्टिकजन्य माला विस्थापित भएको सुनेको छु,” उनी भन्छन्।
फूल बेचेर वार्षिक नौ लाख रुपैयाँ बचत हुने गरेको मगर सुनाउँछन्। जग्गाको भाडा मात्रै वर्षको डेढ लाख रुपैयाँ तिर्छन्। दाङबाट नेपालगन्ज, बुटवल, काठमाडौं लगायत शहरमा फूल निर्यात गरिरहेको उनी बताउँछन्। यो तिहारमा पनि विभिन्न शहरमा फूल पठाउने तयारी गरिरहेका छन्। “पोहोरको तिहारमा १० लाखको फूल बेचेको थिएँ, यो तिहारमा १८ लाखसम्म कारोबार हुने आशा छ,” उनी भन्छन्।
लामो समयदेखि फूल खेती गर्दै आएका अर्का कृषक हुन्, इन्द्रा बुढा। घोराही-१३, डुम्मरगाउँकी बुढाले व्यावसायिक फूल खेती गरिरहेकी छन्। घर छेउछाउकै १० कट्ठा जमीनमा खेती गरिरहेकी उनी भन्छिन्, “थोरै मिहिनेतमा राम्रो आम्दानी हुन्छ। फेरि फूल फुलेपछि घरबारी पनि राम्रो देखिन्छ।”
इन्द्रा बुढा।
थोरै जमीनमा राम्रो आम्दानी भइरहेको उनी बताउँछिन्। गत वर्ष फूल बेचेर सात लाख कमाएकी थिइन्। वर्षको ३० हजार त जग्गाको भाडा मात्रै तिर्छिन्। “वर्षभरिको हिसाब गर्दा पाँच लाख खर्च भयो, सात लाख १३ हजार आम्दानी,” बुढा भन्छिन्।
यस वर्ष पनि तिहार नजिकिएसँगै फूल बेच्ने चटारो शुरू भएको छ। महीना दिनअघि नै अर्डर आइसकेको छ। “काठमाडौं, पोखरा, नेपालगन्ज लगायतका शहरबाट अर्डर आएको छ,” उनी भन्छिन्, “घरको चारैतिर सयपत्री ढकमक्क फुलेको छ, पोहोर सालभन्दा आम्दानी बढ्छ कि भन्ने आशा छ।”
.jpg)
जिल्लाका अन्य ठाउँमा पनि किसान तरकारी छोडेर फूल खेती गर्न थालेको कृषि सेवा केन्द्र, दाङले जनाएको छ। घोराही, तुलसीपुर उपमहानगरले पनि फूल खेतीलाई प्रोत्साहित गरिरहेका छन्। अन्य स्थानीय सरकारले पनि सहयोग गर्न थालेपछि कृषकको रोजाइ फूल खेती हुन थालेको फूल कृषक मगर बताउँछन्।
दशैंदेखि नै फूल किसानको चटारो शुरू भएको हो। तिहार नजिकिंदै जाँदा भने स्थानीय व्यापारी पनि फूल किन्न गाउँमा पुगिरहेका छन्। कतिपय व्यापारी फूल किन्न गाउँमै पुग्छन् भने कतिपय ठाउँमा कृषकले नै पठाउने गरेका छन्।