१९७४ एडीको टूर लिस्ट : पहिलो कन्सर्ट खर्साङमा
सांगीतिक समूह १९७४ एडीले आफ्नो नयाँ ‘मिनी टूर लिस्ट’ सार्वजनिक गरेको छ।
तीन जना ब्यान्ड सदस्यहरू नेपाल बाहिर बस्ने भएकाले वर्षमा केही समय मात्र साथमा प्रस्तुति दिने गरेको ब्यान्डले नयाँ टूरको शुरूआती कन्सर्ट नोभेम्बर १९ मा दार्जिलिङको खर्साङमा हुने ‘द पाइन ट्री फेस्टिभल’ मा हेडलाइनरका रूपमा प्रस्तुत भएर गर्न लागेको हो।
ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह टूरकै लागि भनेर अमेरिकाबाट नेपाल आइसकेका छन्। नेपालमा रहेका बेसिस्ट निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठ सहित सबै जनाले सँगै अभ्यास गरिसकेका छन्।
खर्साङको टूर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधावी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने तयारी रहेको ब्यान्डका सदस्य श्रेष्ठले बताए।
१९७४ एडीका ‘सम्झी बस्छु’, ’मुटुभरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिंड्दाहिंड्दै’, ‘गुँरास फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत चर्चित छन्।