टोरन्टोमा नेपथ्यको क्यानडा यात्राको मैजारो
![टोरन्टोमा नेपथ्यको क्यानडा यात्राको मैजारो](https://www.himalkhabar.com/uploads/posts/800X600/06-Nepathya-performing-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1696937801.jpg)
टोरन्टोको मेस्सी हल गुन्जायमान बनाउँदै लोक-रक ब्यान्ड नेपथ्यले क्यानडा यात्रा टुङ्ग्याएको छ। क्यानडामा पहिलो पटक पुगेको ब्यान्डले क्यालगरी, भ्यानकुभर हुँदै तेस्रो तथा अन्तिम कन्सर्ट टोरन्टोमा गरेको हो।
स्थानीय समय अनुसार बेलुकीको ७ बजे तीनतले मेस्सी हलमा दर्शकको खचाखच उपस्थितिमाझ शुरूमा ‘सा कर्णाली’ म्यूजिक भिडिओ देखाइएको थियो। दर्शकदीर्घामा शुरूदेखि नै देखिएको उल्लास र उत्साह कन्सर्ट अवधिभर जारी रह्यो।
मञ्चमा ब्यान्डको उपस्थितिपछि ‘कोशीको पानी यो जिन्दगानी’ गीत गुन्जियो। ब्यान्डका अगुवा र मुख्य गायक अमृत गुरुङले त्यसपछि पुराना र नयाँ गीतहरू एकपछि अर्को प्रस्तुत गर्दै गए।
![01 Nepathya performing to a packed house at the Massey Hall in Toronto. Photo-Dipit Raz-Nepalaya.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/Nepathya/01 Nepathya performing to a packed house at the Massey Hall in Toronto. Photo-Dipit Raz-Nepalaya.jpg)
अमृतले गीत प्रस्तुत गर्नुका साथै बीचबीचमा दर्शकसँग संवाद पनि गरिरहे। उनले नेपालीहरू जतासुकै फैलिए पनि साझा घर नेपाल नै भएको बताउँदै विदेशमा सिकेको सीप र कमाएको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्ने आह्वान गरे।
मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरू विरुद्ध पनि अमृतले खबरदारी गरे। “हामीबीच जात, धर्म र वर्ग जस्ता कुरा अघि सारेर जोसुकैले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,” उनले भने। उनको भनाइमा सही थाप्दै चर्को ताली बजेको थियो।
गायक अमृतले पछिल्लो समय नेपथ्य ब्यान्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए।
![02 Nepathya performing at the Massey Hall in Toronto. Photo-Dipit Raz-Nepalaya.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/Nepathya/02 Nepathya performing at the Massey Hall in Toronto. Photo-Dipit Raz-Nepalaya.jpg)
टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्न छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक आएका थिए। टेक्सासदेखि तीन घन्टाको हवाई यात्रा र पाँच घन्टाको सडक यात्रा गरेर आउनेहरू पनि थिए।
दर्शकको जोशका बीच ब्यान्डले सार्वकालिक चर्चित गीतहरू प्रस्तुत गरेको थियो। अन्तिम प्रस्तुतिमा ‘रातो र चन्द्रसूर्जे’ गुन्जिरहँदा दर्शकको उल्लास अझ उत्कर्षमा पुगेको थियो।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
कन्सर्ट समापनपछि आयोजक टीमका दीपेन्द्रजंग केसीले यो कन्सर्टबाट क्यानडामा नेपाली सङ्गीतको एउटा इतिहास रचिएको महसूस भएको बताए।
![03 Nepathya band members bow down to the audience as they close their Toronto concert. Photo-Dipit Raz-Nepalaya.jpg](https://www.himalkhabar.com/uploads/editor/Music/Nepathya/03 Nepathya band members bow down to the audience as they close their Toronto concert. Photo-Dipit Raz-Nepalaya.jpg)
क्यानडाको साङ्गीतिक यात्रा सकिएसँगै अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली १२ अक्टोबरमा नेपाल फर्कंदै छ।