क्यालगरीमा नेपथ्यको ‘लामपाते सुरती’
![क्यालगरीमा नेपथ्यको ‘लामपाते सुरती’](https://www.himalkhabar.com/uploads/posts/800X600/Nepathya-Amrit-Gurung-performing-at-the-Palace-Theatre-in-Calgary-1696404924.jpg)
साङ्गीतिक भ्रमणमा क्यानडा पुगेको लोक-रक ब्यान्ड नेपथ्यले त्यहाँको पहिलो कन्सर्ट क्यालगरी शहरमा गरेको छ।
आइतबार साँझ क्यालगरीको प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न शहरबाट जम्मा भएका दर्शकको उपस्थितिबीच नेपथ्य गुन्जिएको थियो। कार्यक्रमको शुरूआत ‘सा कर्णाली’ को म्यूजिक भिडिओको प्रदर्शनबाट गरिएको थियो। नेपथ्य टोलीले पहिलो प्रस्तुतिमा ‘कोशीको पानी यो जिन्दगानी’ सुनायो। त्यसपछि ब्यान्डका चर्चित गीतहरू ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्नँ म त लामपाते सुरती’ प्रस्तुत गरियो।
कन्सर्ट हेर्न आएका दर्शकको भीडमा परिचित गायिका मीना निरौला पनि थिइन्। छोटो समयमै नेपाली सिनेमा जगत्लाई ‘ठमेल बजार’ र ‘काले दाइ’ जस्ता गीतहरू दिएकी मीना पछिल्लो समय क्यानडामै बसोबास गर्दै आएकी छन्। उनले नेपथ्यको साङ्गीतिक जमघटले आफूलाई तीज र दशैं जस्ता चाडबाडमा माइती नै आएको जस्तो लागिरहेको अनुभूति सुनाइन्। भनिन्, “मञ्चमा बसेर गाउने बानी त थियो, आज चाहिं दर्शकदीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर भासियो।”
![](https://www.himalkhabar.com/uploads/editor/2023-10-04/073600455Nepathya performing to packed house at the Palace Theatre in Calgary. Photo-Dipit Raz-nepalaya.jpg)
नेपथ्यका मुख्य गायक अमृत गुरुङले त्यसपछि ‘चरी मर्यो’, ‘जोमसोमै बजारमा’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’ जस्ता गीत सुनाए।
गायक अमृतले नेपालमा सडकमा आश्रितहरूको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवर्द्धनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले ‘मानवताको लागि सङ्गीत’ अभियान चलाएको जानकारी दिंदै क्यानडाको कन्सर्ट पनि त्यही शृङ्खलाको एउटा कडी भएको बताए।
कन्सर्टको अन्त्यतिर नेपथ्यका सार्वकालिक हिट गीत ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झन्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसुर्जे’ सुनाइएको थियो।
स्थानीय आयोजक टोलीका जगदीश कँडेलले नेपथ्यलाई क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै गर्व लागेको बताए। “यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामी पनि उत्साहित छौं,” उनले भने।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
क्यालगरीको कन्सर्टपछि अब ब्यान्डले अक्टोबर ४ मा भ्यानकुभर शहरको ‘भोग थिएटर’ र अक्टोबर ८ टोरन्टोको ‘म्यासी हल’ मा कन्सर्ट गर्नेछ। यी कन्सर्टमा क्यानडामा रहेका विद्यार्थीलाई विशेष छूटको व्यवस्था गरिएको जनाइएको छ। अनलाइनबाट टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइटबाट पनि उपलब्ध गराउने व्यवस्था मिलाएको छ।