सुदूरपश्चिममा खगराज भट्ट माओवादी संसदीय दलको नेता चयन

सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।
माओवादी संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेतामा चयनमा गरेको हो। आइतबार बसेको बैठकले भट्टलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको माओवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले बताए।
संसदीय दलको नेता चयन गर्न शनिबार पनि माओवादी बैठक बसेको थियो। सहमति हुन नसकेपछि बैठक निष्कर्ष विना नै टुंगिएको थियो।
माओवादी संसदीय दलको नेताका लागि भट्टसँगै ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामीले दाबी गरेका थिए। रावल र धामीले भट्टलाई समर्थन गरेपछि नेता चयन गर्न सहमति जुटेको हो।
डडेल्धुरा ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। प्रदेश सभामा माओवादीका ११ सदस्य छन्।