अछाम पहिरो: १७ जनाको मृत्यु, ६ सम्पर्कविहीन
गएराति अछाममा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै ६ जना हराइरहेका छन्।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार, जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परी शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना हराइरहेका छन्।
अहिलेसम्म पहिरोमा पुरिएका ११ जनाको उद्धार गरिएको छ। उनीहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको उनले बताए।
अहिलेसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र कमलबजार-८ मा पाँच जनाको शव भेटिएको रिजालले जानकारी दिए। कमलबजार-८ मा अझै तीन जना हराइरहेका छन्।
त्यस्तै, ढकारी गाउँपालिका-६ मा पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। पहिरोमा पुरिएर एक जना हराइरहेको रिजालले बताए।
अछाममा पहिरो गएको स्थानमा नेपाल प्रहरीको टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले बताए। “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ। यकिन विवरण आइसकेको छैन। मृतकको संख्या बढ्न सक्छ,” उनले भने।
पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ। अछाममा सञ्चार सेवा समेत अवरुद्ध छ।
लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।
कञ्चनपुरको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरू, लालझाडी गाउँपालिका-३, शुक्लाफाँटा नगरपालिका-१२, बेलौरी नगरपालिका-५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ। (रासस)