सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता शुरू
चितवनमा सात जना मिटरब्याजी विरुद्ध मुद्दा दर्ता प्रक्रिया शुरू भएको छ।
जिल्ला प्रशासन कार्यालयले उनीहरू विरुद्ध मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा फाइल पठाएको छ। आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि मुद्दा दर्ता प्रक्रिया थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
दुवै पक्षबीच सहमति हुन नसकेपछि मुद्दा दर्ता प्रक्रिया थाल्न सात जनाको फाइल प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बताए। उनका अनुसार, परेका निवेदनमध्ये अहिले अन्य पाँच वटाका विषयमा छलफल चलिरहेको छ।
उजुरीका पक्ष र विपक्षीको बयान लिने काम जारी रहेको र अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानूनी प्रक्रिया शुरू गरिएको बताए। “अनुसन्धान शुरू गरिएको छ। कुन कानून आकर्षण हुन्छ? सरकारी वकीलसँग परामर्शमा छौं,” अधिकारीले भने।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेका छन्। अन्य मिटरब्याजीसँग छलफल चलिरहेको जनाइएको छ।