काठमाडौं महानगर विरुद्ध किन आन्दोलनमा उत्रिए फुटपाथ व्यापारी?
काठमाडौं महानगरपालिका विरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन्।
जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगर कार्यालय घेराउ गरेको छ। बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायी भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका हुन्।
महानगरले फुटपाथ र साना व्यवसायीलाई सूचनाविना निर्मम ढंगले लखेटेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताइन्। “सडकपेटी तथा गल्लीमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा गर्ने, श्रमिकलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको छ,” अध्यक्ष गुरुङले हिमालखबरसँग भनिन्, “विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकलाई बेरोजगार बनाउने काम गरेकाले महानगरविरुद्ध आन्दोलन गर्न बाध्य भएका छौं।”
महानगरले विकल्प दिनुपर्ने व्यवसायीहरूको भनाइ छ। चाडपर्वको मुखमा विकल्प नदिएर लखेट्ने काम भएको साना व्यवसायीको गुनासो छ। “चाडपर्वको मुख्यमा महानगरले लखेट्ने काम गरेको छ,” अध्यक्ष गुरुङले भनिन्, “हामीलाई महानगरले विकल्प दिनुपर्छ। बिहान बेलुकीको समयमा भए पनि सामान बेच्न दिनुपर्छ।”
महागनरले एक महीनाको अवधिमा ३९ वटा स्थानका अवैध संरचना हटाएको छ। १९ ठाउँका बेसमेन्ट तथा २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचना, ओभरल्यापिङ र सेडव्याक हटाएको महानगरले जनाएको छ।
नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको जनाइएको छ। महानगरले गत साउन १ गते ३५ दिने सार्वजनिक सूचना जारी गरि भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन शुरू गरेको हो।
पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनामा पार्किङ नै प्रयोग गर्नुपर्ने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। महानगरको यो अभियान सधैँ रहने उनको भनाइ छ।
महानगरले बेसमेन्ट तथा जमीन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये काठमाडौं–१ दरबारमार्गका नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। काठमाडौं-१४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेस्ट गेस्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख पाण्डेले बताए।
वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी ब्यांंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन्। त्यस्तै, वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ।
वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ। यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ। वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ।
त्यस्तै, वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ। वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ।
त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ। वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ। वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको महानगरले जनाएको छ।
वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ। वडा नं २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ।
वडा नं ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ। भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका पनि खाली गराइएको छ।