स्वदेश फर्किए चिनियाँ नेता चान्शु
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
चान्शुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा सभामुख अग्निप्रसाद सापकोटाले बिदाई गरेका छन्। सभामुख सापकोटाको निमन्त्रणामा अध्यक्ष चान्शु चार दिने भ्रमणमा सोमबार आएका थिए।
भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। यसैगरी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा‚ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना‚ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्टमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।
सोमबार सभामुख सापकोटा र अध्यक्ष चान्शुले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए।
भ्रमणका क्रममा चान्शु नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो। अध्यक्ष चान्शु नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो।