समानुपातिक उम्मेदवार छान्न यस्ता छन् कांग्रेसका चार मापदण्ड
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न चार वटा मापदण्ड तोकेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले मापदण्ड तय गरेको हो। सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले समानुपातिक उम्मेदवार छनोटका लागि आधार र मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांंग्रेसको पहिलो मापदण्डमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने भएको छ।
त्यस्तै, दोस्रोमा २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन्। कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यसअघि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था रहेको कांग्रेले जनाएको छ।
त्यसैका आधारमा यसअघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन नपाउने कांग्रेसले निर्णय गरेको छ। तर, प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउनेछन्।
तेस्रोमा, उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने भएको छ।
चौथोमा, कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुवैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार तोकिने भएको छ। उम्मेदवार छनोट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिने कांग्रेसको निर्णयमा उल्लेख छ।
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समय तोकेको छ।