धनगढीमा भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनी
![धनगढीमा भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनी](https://www.himalkhabar.com/uploads/posts/800X600/dhangadhi_1662800858.jpg)
कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालयमा भ्रष्टाचार विरोधी कार्टुनको प्रदर्शनी गरिएको छ।
कार्टुनिस्ट क्लब अफ नेपालले ‘निसाना’ शीर्षकमा आयोजना गरेको प्रदर्शनीको सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला जोशी बडालले उद्घाटन गरेकी हुन्। प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख जोशीले कलाले समाजलाई सही बाटोमा डोर्याउन मद्दत गर्ने बताइन्।
उनले भनिन्, “कार्टुनमा हाम्रो समाजमा मौलाएको खराब मनोवृत्ति र आचरणलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। समाजलाई गतिशील, सभ्य र समृद्ध बनाउन राजनीतिक दल र नेतृत्व सदाचारमा प्रतिबद्ध हुन जरुरी छ।”
प्रदर्शनीमा नेपालका ३६ जना कार्टुनिस्टले तयार पारेका भ्रष्टाचार विरुद्ध सन्देश दिने ५० वटा कार्टुन राखिएको क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिए। उनले समाजमा व्याप्त विकृति–विसंगति विरुद्ध रङ, रेखा र शब्दमार्फत अभियानको थालनी गर्दै प्रदर्शन गरिएको बताए।
गत वैशाख ४ गते काठमाडौंबाट शुरू भएको प्रदर्शनीको धनगढीमा समापन गरिएको हो।