कमेडियन अपूर्व क्षितिज सिंह रिहा हुँदै
हास्यव्यङ्ग्यका नाममा नेवार समुदायमाथि मानमर्दन हुने सामग्री पस्किएको आरोप लागेर प्रहरी हिरासत पुगेका कलाकार अपूर्व क्षितिज सिंहलाई माफी दिन निवेदक पक्ष राजी भएको छ।
जाहेरी दिने पक्ष र आरोपित पक्षबीच प्रहरी परिसर काठमाडौंमा भएको छलफलमा यस्तो सहमति बनेको हो। “हाम्रो उद्देश्य उहाँलाई क्रूर सजाय दिनुपर्छ भन्ने होइन। आठ दिन हिरासतमा बसिसकेको र गल्ती महसूस गरेकाले उहाँलाई माफी दिने भएका हौं,” जाहेरीकर्तामध्येका एक यादवलाल कायस्थले हिमालखबरसँग भने।
च्यानल ‘कमेडी क्याफे’ मा ‘नेवारको परम्परा’ नामक व्यङ्ग्यात्मक भिडिओमा नेवार समुदायको भाषा, संस्कृतिलाई खराब चित्रण गरेको भन्दै कलाकार सिंहमाथि उजुरी परेपछि १२ भदौमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो।
सिंहले आफूबाट गल्ती भएको भन्दै ती सामग्री यूट्युबबाट हटाएर सार्वजनिक रूपमा माफी मागे पनि प्रहरीले छलफलमा बोलाएर जाहेरी परेकै दिन उनलाई पक्राउ गरेको थियो। हिरासतमै बस्ने तहको अपराध नगरेको भन्दै प्रहरीको कदमप्रति प्रश्न उठाउन थालेपछि प्रहरीले दुवै पक्षलाई छलफल गराएको थियो। अभिव्यक्ति स्वतन्त्रता नै खुम्च्याउन खोजेको सामाजिक सञ्जालमा रिलिज अपूर्व ह्यासट्यागमा अभियानै चलेको थियो। “यो संवेदनशील विषय भएकाले आपसी छलफलबाटै टुङ्गियोस् भन्ने हाम्रो चाहना हो,” काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले भने।
अब जाहेरी दिने पक्षले कलाकार सिंहलाई माफी दिने नयाँ निवेदन दिएपछि सिंह कानूनी प्रक्रिया पुर्याएर छुट्नेछन्। यस्तो निवेदनको खेस्रा तयार भइरहेको कायस्थले जानकारी दिए। आइन्दा यस्ता विषय फेरि नदाहोरियोस् भनेर समेत आफूहरू कानूनी प्रक्रियामा गएको उनको भनाइ छ।
“जथाभावी कमेडी गर्दाखेरी आठ दिन हिरासतमा बस्नुपरको नजीर बसेको छ,” उनले भने, “अब कलाकारहरू यस विषयमा थप संवेदनशील बन्नेछन् भन्ने हाम्रो अपेक्षा छ।”
कमेडियन सिंहलाई आजै हिरासतमुक्त गर्ने तयारी छ। सिर्जना मार्फत गरिएको व्यङ्ग्यकै भरमा प्रहरीले सिंहलाई पक्राउ गरेपछि यसले कलाकार र श्रोता दुवैलाई सबक सिकाएको हास्य कलाकार मनोज गजुरेल बताउँछन्। “कलाकार पक्राउ परेकाले हामीलाई चित्त दुख्नु स्वाभाविक हो,” उनले भने, “तर कलाकार, कमेडियनहरूले पनि के व्यङ्ग्य हो र के होइन भनेर सोच्नुपर्ने वेला आएको छ। समाज र कलाकारबीच आपसी संवादको जरुरी देखियो, विषयवस्तु पस्किँदा।”
यसअघि शनिबार गायक योगेश्वर अमात्यले पनि उनलाई रिहा गर्न पहल गर्न नेवा समुदायलाई आग्रह गरेका थिए। उनले भनेका थिए, “अपूर्वलाई तुरुन्त छाड्न लगाऊ।”