गायक योगेश्वर अमात्यले भने- अपूर्वलाई तुरुन्त छोड्न लगाऊ
व्यङ्ग्य गरेका कारण हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तुरुन्त छोड्न लगाउन गायक योगेश्वर अमात्यले आग्रह गरेका छन्।
हास्यव्यङ्ग्यका नाममा नेवार समुदायको मानमर्दन हुने सामग्री पस्किएको आरोपमा सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। उनी एक सातादेखि प्रहरी हिरासतमा छन्।
उनले गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमै माफी मागेर उक्त सामग्री समेत यूट्युबबाट हटाइसकेका छन्। प्रहरीसँगको सोधपुछमा पनि उनले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। तर, प्रहरीले भने संवेदनशील विषय भएको भन्दै छोडेको छैन।
उनलाई रिहा गर्न माग भइरहेको वेला गायक अमात्य पनि बोलेका हुन्। उनले सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्नो भनाइ राख्दै कमेडियन सिंहलाई छोड्न लगाउन नेवा संघ संगठनलाई आग्रह गरेका छन्।
उनले सानोतिनो विषयमा नअल्झिन नेवा समुदायलाई आग्रह गरेका छन्। “हाम्रो नेवाः संघ संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन, सानोतिनोमा अल्झेर के के नै गर्या जस्तो,” गायक अमात्यले भनेका छन्, “अपूर्वलाई तुरुन्त छोड्न लगाऊ।”